नेभिगेशन
प्रदेश

पाँच वर्षसम्म पनि परिचयपत्र नपाउँदा नागरिक निराश

काभ्रे । सरकारले हुलाकमार्फत राहदानी घरघरै पु¥याइरहेको समाचार आइरहेको बेला काभ्रेमा भने त्यसको विपरीतको खबर आइरहेको छ । राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका सर्वसाधारणले पाँच वर्ष पूरा हुँदासम्म राष्ट्रिय परिचयपत्र पाउन नसकेको दुखेसो पोखेका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पाँच वर्षसम्म पनि राष्ट्रिय परिचयपत्र दिन नसकेपछि जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र खोजी गर्नेको संख्या बढ्दो रहेको छ । काभ्रेपलाञ्चोक जिल्लामा विसं २०७७ असार ७ गतेबाट जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गरिएको थियो । यस्तै फागुन महिनाबाट जिल्लाका १३ वटै स्थानीय तहमा अभियान सञ्चालन गरी राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गरिएको थियो । काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद गुरागाईंले जिल्लामा हालसम्म पनि स्थानीय तहमा अभियान सञ्चालन गरी राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिएका नागरिकको परिचयपत्र प्राप्त हुन नसकेको बताए ।
‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट हालसम्म कार्यालयमा विवरण सङ्कलन गरिएका करिब ५० हजार थान राष्ट्रिय परिचयपत्र प्राप्त भएको छ, स्थानीय तहमा अभियान सञ्चालन गरेर विवरण संकलन गरिएका नागरिकको भने परिचयपत्र आएको छैन,’ सहायक प्रमुख जिल्ला अधिकारी गुरागाईंले भने । उनले कार्यालयमा प्राप्त भएको परिचयपत्रमध्ये करिब २५ हजार परिचयपत्र वितरण भइसकेको बताए । उनले स्थानीय तहमा अभियानमा विवरण संकलन गरिएका नागरिकको परिचयपत्रका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा ताकिता गरिएको बताए ।
जिल्लामा पहिलो चरणमा २०७७ फागुनदेखि २०७८ भदौसम्म र दोस्रो चरणमा २०८२ वैशाखदेखि भदौसम्म अभियान सञ्चालन गरेर राष्ट्रिय परिचयपत्रका लागि स्थानीय तहमा विवरण संकलन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार दुई चरणमा संकलन गरिएको विवरण अन्र्तगत जिल्लामा दुई लाख ३३ हजार ८ सय ७६ नागरिकले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । अभियानमा विवरण संकलन गराएका रोसी गाउँपालिकाका १३ हजार ३ सय १४ जना, खानीखोलाका पाँच हजार ३ सय ३४ जना, महाभारत गाउँपालिकाका आठ हजार ६९ जना, बेथानचोक गाउँपालिकाका १० हजार २ सय ७० जना, भुम्लु गाउँपालिकाका १० हजार ४ सय ५९ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । यस्तै चौरीदेउराली गाउँपालिकाका आठ हजार ३ सय १५ जना, तेमाल गाउँपालिकाका नौ हजार २ सय ६४ जना, नमोबुद्ध नगरपालिकाका १९ हजार २० जना, धुलिखेल नगरपालिकाका १८ हजार ३ सय ५८ जनाले परिचयपत्र पाउनबाट वञ्चित भएका छन् ।
त्यसै गरी जिल्लाको मण्डनदेउपुर नगरपालिकाका १८ हजार ३ सय ३१ जना, पाँचखाल नगरपालिकाका २२ हजार ९ सय ४७ जना, पनौती नगरपालिकाका ३१ हजार ३५ जना र बनेपा नगरपालिकाका ३० हजार १ सय ९२ नागरिकले पाँच वर्ष पूरा हुँदासमेत राष्ट्रिय परिचयपत्र पाउन सकेका छैनन् । यस्तै पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयमा २८ हजार ९ सय ६८ जनाले विवरण संकलन गराएका थिए । 
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक तथा सूचना अधिकारी निराजन श्रेष्ठले प्रशासन कार्यालयमा विवरण संकलन र स्थानीय तहमा सञ्चालन गरिएको अभियानमा अफलाइन विवरण संकलन गरिएको बताए । उनले हाल दैनिक चार हजार थान राष्ट्रिय परिचयपत्र छपाइको काम भइरहेको बताउँदै अहिले स्थानीय तहमा विवरण संकलन गरिएका नागरिकलाई प्राथमिकता दिएर परिचयपत्र छपाइ गर्ने काम भइरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्