नेभिगेशन
विश्व

इरान युद्धले युक्रेनलाई उल्टै बलियो बनायो !

रूससँग युद्धविराम नजिकिने सम्भावना बढ्यो

दोहा, (अल जजिरा) । इरानसँगको युद्धले अप्रत्याशित रूपमा युक्रेनलाई बलियो बनाएको छ । यसले रूससँगको सम्भावित युद्धविराम नजिकिएको हो कि भन्ने संकेत पनि दिएको छ ।
मार्च महिनामा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की साउदी अरेबियामा गम्भीर मुद्रामा लिलाक कार्पेटमा हिँड्दा त्यो इरानविरुद्ध अमेरिका–इजरायल युद्धसँग जोडिएको एउटा अनपेक्षित क्षण थियो । उनले सामाजिक सञ्जाल एक्समा आफ्नो भ्रमण ‘सुरक्षा मजबुत बनाउन’ भएको बताएका थिए ।
रूससँगको युद्धको भार बोकेका जेलेन्स्कीले यो अवसरलाई उपयोग गर्दै खाडी क्षेत्रको भ्रमण गरिरहेका छन् । उनले युद्धमै सिकेको ड्रोन युद्धसम्बन्धी अनुभवलाई अन्तर्राष्ट्रिय रूपमा प्रस्तुत गर्दै युक्रेनको सैन्य क्षमतालाई बजारमा उतार्न खोजिरहेका छन् ।
युक्रेनका अनुसार उसले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कतारसँग ड्रोन प्रविधि र अनुभव साझेदारी गर्ने सम्झौता गरिसकेको छ । हालै इरानी मिसाइल र ड्रोन आक्रमण झेलेका यी देशहरूसँगको सम्बन्ध मजबुत बनाउँदै युक्रेनले आर्थिक लाभ र सम्भावित रक्षा सम्झौताबाट फाइदा लिन चाहेको छ । जेलेन्स्कीले यी देशहरूलाई आफूलाई सुरक्षित बनाउन सहयोग गर्न चाहेको र यस्ता साझेदारी अन्य देशहरूसँग पनि विस्तार गरिने बताएका छन् ।
सुरुमा इरान युद्धको असर युक्रेनका लागि नकारात्मक देखिएको थियो । यसले रूस–युक्रेन शान्ति प्रयासबाट डोनाल्ड ट्रम्पको ध्यान हटाउन सक्थ्यो र रूसलाई तेल बिक्रीबाट बढी आम्दानी गर्न सहयोग पु¥याएको थियो । इरानसँग जोडिएको हर्मुज जलडमरु मार्गबाट मध्यपूर्वी तेल विश्व बजारमा पुग्न कठिन हुँदा रूसले बढी मूल्यमा तेल बेच्न सकेको छ । साथै, बढ्दो ऊर्जा मूल्यका कारण ट्रम्प प्रशासनले केही देशहरूलाई रूसी तेल किन्न छूट दिएको छ । यसले रूसको युद्ध कोषलाई थप बलियो बनाएको छ ।
तर युक्रेनले फेरि एकपटक परिस्थितिलाई आफ्नो पक्षमा मोड्ने प्रयास गरेको छ । उसले इरान युद्धको प्रभावलाई उपयोग गर्दै सम्भावित शान्ति वार्ताअघि आफूलाई बलियो बनाउने रणनीति अपनाएको छ ।
ट्रम्पले हालै आफूले भ्लादिमिर पुटिनसँग ‘धेरै राम्रो’ कुराकानी गरेको र युक्रेन विषयमा ’छिट्टै समाधान’ सम्भव भएको बताएका छन् । तर यसअघि पनि यस्ता अभिव्यक्ति आए पनि कुनै ठोस परिणाम देखिएको छैन ।
यसबीच जेलेन्स्कीले युक्रेनलाई सुदृढ बनाउन ध्यान दिएका छन् । उनले साउदी अरेबियाले पनि इरानबाट यस्तै प्रकारका मिसाइल र ड्रोन आक्रमण झेलेको बताएका छन् । ठीक यस्तै आक्रमण रूसले युक्रेनमाथि गर्दै आएको छ ।
रूसले प्रयोग गर्ने इरानी डिजाइनको सस्तो र लामो दूरीको शाहेद–१३६ ड्रोन युक्रेनका लागि प्रमुख चुनौती हो । तर जेलेन्स्कीका अनुसार यस्तो ड्रोनलाई करिब १० हजार डलरको मात्र लागतमा निष्क्रिय बनाउन सकिन्छ । जुन परम्परागत हवाई रक्षा मिसाइलभन्दा निकै सस्तो हो ।
यही कारणले नेटो देशहरू युक्रेनको ड्रोन प्रविधितर्फ आकर्षित भएका छन् । युक्रेनले नर्वेसँग ८.६ अर्ब डलरको रक्षा सम्झौता र जर्मनीसँग ४.७ अर्ब डलर बराबरको सहयोग सम्झौता गरेको छ । यसमा विभिन्न प्रकारका ड्रोन, मिसाइल र आधुनिक रक्षा प्रणालीहरू छन् ।
युक्रेनले खाडी राष्ट्रहरूबाट पनि सहयोग अपेक्षा गरेको छ । खासगरी हवाई रक्षा प्रणालीका क्षेत्रमा । अहिले अमेरिका मध्यपूर्वमा बढी संलग्न भएकाले युरोपेली देशहरूलाई दिन सकिने सैन्य सामग्री सीमित भएको छ ।
इरान युद्धबाट युक्रेनले सिकेको अर्को महŒवपूर्ण पाठ भनेको शत्रुको ऊर्जा संरचनामाथि आक्रमण गर्नु हो । युक्रेनले आफ्नै उत्पादनका लामो दूरीका ड्रोन प्रयोग गर्दै रूसको तेल र ऊर्जा पूर्वाधारमा आक्रमण गरिरहेको छ । यसका कारण रूसलाई अर्बौँ डलर बराबरको क्षति भएको दाबी गरिएको छ ।
तेल मूल्य बढ्दा केही समय रूसको आम्दानी बढे पनि युक्रेनी ड्रोन आक्रमणपछि त्यो आम्दानीमा गिरावट आएको छ । चौथो हप्तामा मात्र रूसको आम्दानी करिब १ अर्ब डलरले घटेको बताइएको छ ।
यसबीच युरोपेली संघले ९० अर्ब युरो बराबरको ऋण युक्रेनलाई उपलब्ध गराउने निर्णय गरेको छ । यो लामो समयदेखि अड्किएको थियो । हंगेरीमा सरकार परिवर्तन भएपछि यो सम्भव भएको हो ।
यी सबै उपलब्धिपछि जेलेन्स्की आफू अब पहिलेभन्दा बलियो अवस्थामा रहेको ठान्छन् र शान्ति सम्झौताका लागि पहल गर्न सक्ने विश्वास गर्छन् । युक्रेनभित्र भने युद्धको थकान गहिरिँदै गएको छ । नयाँ सैनिक भर्ती गर्न कठिन भइरहेको छ र युद्ध मोर्चामा रहेका सैनिकहरू घर फर्कन चाहन्छन् ।
युद्धविरामका प्रयासहरूबारे कुरा गर्दा, ट्रम्प प्रशासनले पहिले निकै आशावादी दाबी गरेको थियो तर व्यवहारमा त्यो लागू भने भएको छैन । ट्रम्पले राष्ट्रपति बन्नुअघि २४ घण्टाभित्र युद्ध अन्त्य गर्ने बताएका थिए । अहिले त्यो सम्भव देखिएको छैन ।
उनका प्रतिनिधिहरू मध्यपूर्वमा केन्द्रित छन् र किभ भ्रमण स्थगित हुँदै आएको छ । जेलेन्स्कीले यसलाई ‘अनादर’ भनेका छन् । उनका अनुसार वार्ता प्राविधिक स्तरमा भइरहेको भए पनि इरान युद्ध नसकिएसम्म ठोस प्रगति हुने सम्भावना कम छ ।
अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिमा रूसलाई प्रत्यक्ष खतरा नमानिएको विषयले पनि युरोपेली देशहरूलाई चिन्तित बनाएको छ । यसले रूससँग सम्भावित सहकार्यको संकेत दिएको छ ।
अमेरिकाले कडा आर्थिक प्रतिबन्ध नलगाउँदा रूसमाथि दबाब कम भएको छ । साथै, युक्रेनका लागि अमेरिकी सहायता पनि घट्दै गएको छ । अहिले युरोपेली देशहरूले अमेरिकाबाट हतियार किनेर युक्रेनलाई दिइरहेका छन् तर त्यो पनि जोखिममा परेको छ ।
रूसले भने युद्ध रोकिने संकेत दिएको छैन । बरु नागरिक संरचनामाथि आक्रमण बढाएको छ । विश्लेषकहरूका अनुसार रूसको अर्थतन्त्र दबाबमा भए पनि पूर्ण रूपमा ध्वस्त भएको छैन र युद्धकै लागि अनुकूल बनाइएको छ । युक्रेनलाई अझै पनि अमेरिकाले भरपर्दो सुरक्षा ग्यारेन्टी दिनेमा शंका छ । यस्तो ग्यारेन्टी बिना शान्ति सम्झौता सम्भव नहुने ठानिन्छ ।
युरोपेली देशहरूले पनि अझ कडा कदम चाल्न सक्ने भए पनि उनीहरू अझै अमेरिकाको मुख ताकिरहेका छन् । रूसविरुद्ध नयाँ प्रतिबन्ध प्याकेज तयारीमा छ तर एकता अभाव देखिन्छ ।
यसरी हेर्दा इरान युद्धले युक्रेनलाई कमजोर होइन, केही हदसम्म बलियो बनाएको देखिन्छ । तर रूससँगको युद्धविराम अझै धेरै अनिश्चितता छँदैछ । विशेषगरी ठूला शक्तिहरूको राजनीतिक इच्छाशक्तिले अझै पनि यसलाई अनिश्चित बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व