कैलाली, २० भदौ - निर्माण कम्पनीले सडक निर्माणमा ढिलासुस्ती गरेपछि कैलालीको गोदावरी नगरपालिकाका जनप्रतिनिधि सडकमा उत्रिएका छन् । प्रदेश सरकारले गौरवको योजनामा राखेको सडक ६ वर्षदेखि अलपत्र अवस्थामा छ । सडक निर्माण हुन नसकेपछि स्थानीय सँगै जनप्रतिनिधि नै आन्दोलनमा उत्रिएका हुन् ।
जनप्रतिनिधिले सडकमै वडा कार्यालय सञ्चालन सँगै नाराबाजी गरेर सडक अलपत्र पार्ने ठेकेदार र बेवास्ता गर्ने प्रदेश सरकार प्रति आक्रोश पोखेका छन् । चौकीडाँडा–फल्टुडे सडक निर्माणमा एडभेन्चर–थेगिम–सनलाइट जेभी र तेडी निर्माण सेवाले चरम लापरवाही गरिरहेको भन्दै उनीहरूलाई दबाब दिन जनप्रतिनिधि नै सडकमा उत्रिएका हुन् ।
निर्माण कम्पनीलाई दबाब दिनका लागि गोदावरी नगरपालिका वडा नम्बर ३, १०, ११ र १२ का कार्यालयले निर्माणाधीन सडकबाटै वडाको सेवा प्रदान गरेका छन् । ठेकेदारलाई दबाब दिनका लागि दुई दिनदेखि सडकबाट सेवा प्रदान गरिएको वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाहीले बताए ।
वडा कार्यालयबाट हुने मृत्युदर्ता, जन्मदर्ता, नागरिकता सिफारिसलगायतका सबै कार्य सडकबाटै भइरहेको छ । निर्माण कम्पनीले सुनुवाइ नगरे अत्तरिया चौकमा सडक बन्द गरेर आन्दोलन गर्ने तयारी समेत भएको छ ।
चार वटै वडा कार्यालयले गतवर्ष पनि निर्माण कम्पनीको ध्यानाकर्षण गराएका थिए । पटक पटक ध्यानाकर्षण गराउँदा पनि नटेरेपछि सडकमा उत्रिनुपरेको वडा नम्बर १२ का वडा अध्यक्ष भीमबहादुर खड्काले बताए । उनले छ वर्षसम्म सडक नबन्दा जनजीवन प्रभावित भएको बताए ।
वैकल्पिक राजमार्गको रुपमा हेरिएको यो बाटो निर्माण सम्पन्न भएपछि अत्तरियादेखि फल्टुडेसम्मको दूरी २२ किलोमिटर छोट्टिने छ । यो बाटोसँग गोदावरीका चार वटै वडा र चुरे गाउँपालिकाका चार वटा वडा जोडिएका छन् ।
चौकीडाँडा–फल्टुडे जोड्ने यो सडकको सेतोपुलदेखि वडा नम्बर १० को कार्यालयसम्मको खण्डमा २.२ किलोमिटर सडक निर्माणको ठेक्का एडभेन्चर–थेगिम– सनलाइट जेभीले पाएको छ । २०७७ भदौ ७ गते सडक निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । २०७८ माघ १७ गतेसम्म ठेक्का समयावधि थियो । तर ६ वर्ष वितिसक्दा पनि काम शून्य जस्तै छ ।
वडा नम्बर १० को कार्यालयदेखि बान्द्रेसालसम्म तीन किलोमिटर सडक निर्माणको लागि २०७९ चैत १८ मा तेडी निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको थियो । १८ महिनामा निर्माण कार्य सकिनुपर्ने यो खण्डको आधा पनि काम भएको छैन् ।
स्थानीय जनप्रतिनीधिले अलपत्र पार्ने ठेकेदारसँगै प्रदेश सरकारले गम्भीर लापरबाही गरेको बताएका छन् । ६ वर्ष सम्म अढाइ किलोमिटर सडक कालोपत्रे गर्न नसक्ने प्रदेश सरकारको काम नै नभएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।
वडा नम्बर ३ का अध्यक्ष तेजराज अवस्थीले कम्पनीका कारण ४ वडाका जनताले दुःख खेप्नुपरिरहेको बताउदै तत्काल ठेकेदारले काम सुरु नगरे आइतबार देखि अत्तरिया चोकका चारै सडकमा टेबल राखेर वडाको सेवा दिने बताए ।
ठेकेदारले नै नेताहरूलाई चलाएको र जसले गर्दा काम नगर्ने ठेकेदारले संरक्षण पाइरहेको स्थानीयहरूको आरोप छ । स्थानीय रमेश ताम्राकारले काम नगर्ने ठेकेदारको पटक पटक म्याद थपिँदै जाने हो भने अब जनता चुप लागेर नबस्ने बताए । उनले ठेकेदारले काम नगरे आफूहरू जस्तोसुकै कदम लिन तयार भएको बताए ।
स्थानीय जनप्रतिनीधिहरूले ठेकेदारको चरम लापरबाहीको कारण आफूहरू सडकमा आउन बाध्य भएको बताउदै पटक पटक सिडिओ कार्यालयमा पुगेर ताकेता गर्दा पनि काम नभएको बताए ।