नेभिगेशन
दृष्टिकोण

वृद्ध कर्मचारीको नयाँ फसल

होन्डा तामिको बाल्यकालमै आफ्नै परिवारको खेतमा काम गर्न थालेकी थिइन्, जब जापान अमेरिकासँग युद्धमा थियो । अहिले ९३ वर्षकी हुँदा पनि उनी दक्षिण जापानको कुमामोटोस्थित म्याकडोनाल्ड्स शाखामा सफाइ कर्मचारीका रूपमा दिनभरि मेहनत गर्छिन् । उनी भन्छिन्, आफ्नो पेन्सनले जीवन चलाउन पर्याप्त छ; तर काममा जानु उनको रोजाइ हो । ‘मानिसहरू पनि जनावर नै हुन्,’ उनी हाँस्दै भन्छिन्, ‘जति सकिन्छ, हामी चलिरहनैपर्छ ।’  
म्याकडोनाल्ड्स जापानका करिब २ लाख २० हजार कर्मचारीमध्ये उनी सबैभन्दा वरिष्ठ हुन् । तर उनी अपवादभन्दा बढी भविष्यको संकेत हुन् । मानिसहरू लामो समयसम्म बाँच्ने भएकाले उनीहरू स्वस्थ पनि लामो समयसम्म रहन्छन् र काम पनि लामो समयसम्म गर्छन् । जापान र दक्षिण कोरिया दुवै तीव्र गतिमा वृद्ध हुँदै गएका देशहरू यस परिवर्तनको अग्रपंक्तिमा छन् ।  
६५ वर्षभन्दा माथिका करिब ४० प्रतिशत दक्षिण कोरियाली र २५ प्रतिशतभन्दा बढी जापानी अझै काममा सक्रिय छन्, जुन धनी देशहरूको क्लब (ओईसीडी क्लब)भित्र सबैभन्दा उच्च दर हो । तर पुरानो जनसांख्यिकीय संरचनाका लागि बनेका श्रमबजार र सामाजिक प्रणालीहरूले काम गर्न सक्नेहरूलाई उपयोग गर्न र काम गर्न नसक्नेहरूलाई सहयोग गर्न संघर्ष गरिरहेका छन् ।  
जापान र दक्षिण कोरियामा धेरै वृद्धहरू आवश्यकता भएर काम गर्छन् । जापानमा आधाभन्दा बढी वृद्ध कर्मचारीले आयका लागि काम गर्छन् । दक्षिण कोरियामा त झन् ठूलो दबाब छ, किनकि त्यहाँको पेन्सन प्रणाली कोरियाली युद्धपछिको तीव्र विकाससँगै अघि बढ्न सकेन । सार्वजनिक पेन्सनले पूर्व–सेवानिवृत्त आयको केवल तेस्रो हिस्सा मात्र प्रतिस्थापन गर्छ, जसका कारण ६५ वर्षभन्दा माथिका करिब ४० प्रतिशत कोरियालीहरू मध्यम आयको आधाभन्दा कम कमाउँछन् । यो ओईसीडी देशभित्र सबैभन्दा उच्च दर हो ।  
यसै वर्ष कोरियाली राजधानी सियोलका बस चालकहरूले सेवानिवृत्ति उमेर बढाउन माग गर्दै हडताल गरे । ‘पहिले ६५ वर्षलाई धेरै वृद्ध मानिन्थ्यो तर अहिले ६५ वर्षमै मानिसहरू जवान जीवन जस्तै बाँच्छन्,’ बस चालक शिन ग्यो–बेओम भन्छन्, ‘अनुभवी व्यक्तिले बस चलाउनु राम्रो होइन र ?’  
तर पैसा मात्र कारण होइन । धेरैले अन्य कारणले पनि काम गर्न चाहन्छन् । ‘यसमा अनन्त मूल्य छ, जुन पैसाले नाप्न सकिँदैन,’ कोरिया श्रम विकास संस्थानका किम मी–गोन भन्छन् । काममा रहनु स्वास्थ्य समस्या टार्न र एक्लोपनबाट बच्न मद्दत गर्छ ।  
म्याकडोनाल्ड्स जापानको ‘प्रिमियम एज क्रू’ (६० वर्षभन्दा माथिका कर्मचारी) की सदस्य तामिको भन्छिन्, ‘घरमै बसें भने मानसिक र शारीरिक रूपमा म बिग्रिन्छु । परिवारले मलाई काम छोड् भन्छन्, तर मलाई थाहा छ, काम छाडें भने उनीहरूलाई बोझ हुन्छु र अन्ततः वृद्धालयजस्ता कुनै संस्थामा पुग्छु ।’  
पूर्वी एसियामा भएका अध्ययनहरूले के देखाउँछ भने काम गर्ने वृद्धहरू कम कमजोर हुन्छन् र डिप्रेशनको लक्षण पनि कम हुन्छ । सियोलनजिक हानामका बासिन्दा ६० वर्षीय रो इक–क्युन भन्छन्, ‘जब म काम गर्छु, मेरी श्रीमतीले मलाई जवान देखिन्छौ र ऊर्जा भरिएकोजस्तै लाग्छौ भन्छिन् ।’  
कम्पनीहरूले पनि वृद्ध श्रमिकलाई उपयोग गर्ने प्रयास गरिरहेका छन् । जापानका ठूला कम्पनीहरूले पछिल्लो चरणको करियर विकल्पबारे परामर्श दिन थालेका छन् । भूमिकाहरू र जिम्मेवारीहरू वृद्ध कर्मचारीअनुसार समायोजन गरिँदैछ ।  
तर धेरैले काम गर्न चाहँदा पनि उच्च अवरोध र अपाच्य विकल्प सामना गर्छन् । जापान र दक्षिण कोरियामा अझै पनि वरिष्ठतामा आधारित तलब र पदोन्नति प्रणाली प्रचलित छ, जसले वृद्ध कर्मचारीलाई पूर्णकालीन रूपमा राख्न कम्पनीलाई महँगो पर्छ । त्यसैले धेरैलाई सेवानिवृत्तिपछि अस्थायी करारमा कम तलब र जिम्मेवारीसहित पुनः नियुक्त गरिन्छ ।  
नयाँ काम खोज्नेहरूले उमेरका कारण भेदभाव सामना गर्छन् । ‘कोरियाली कानुन र सामाजिक मान्यताले उमेरका आधारमा हुने नियुक्ति भेदभावलाई उचित ठान्छ,’ श्रम वकिल क्वोन ओ–हुन भन्छन् ।  
कसैले सानो व्यवसाय सुरु गर्छन्, कसैले सफाइ, हेरचाह वा सुरक्षा जस्ता अस्थायी काम लिन्छन् । ’ठूलो असमानता छ, डेस्क काम गर्नेहरू धेरै छन् भने सामान्य काममा माग बढी छ,’ टोकियोको नीति अध्ययन संस्थानकी किताओ सागिरी भन्छिन् । सरकारहरूले वृद्ध श्रमिकलाई सहयोग गर्न कार्यक्रमहरू ल्याएका छन् । दक्षिण कोरियाले १० लाखभन्दा बढी अल्पकालीन कामलाई वित्तीय सहयोग गर्छ । सियोल ५०प्लस फाउन्डेशनले पहिलो करियरबाट सेवानिवृत्त हुनेहरूलाई दोस्रो करियर योजना बनाउन मद्दत गर्छ । जापानमा १,३०० भन्दा बढी ’सिल्भर ह्युमन रिसोर्स सेन्टर’ छन्, जसले ६० वर्षभन्दा माथिका मानिसलाई कामसँग जोड्छ । नीतिनिर्माताहरू यी प्रवृत्तिलाई प्रोत्साहन गर्न चाहन्छन् । लामो समयसम्म काममा राख्दा युवा जनसंख्या घटेको क्षतिपूर्ति हुन्छ, स्वास्थ्य खर्च पनि घट्छ । जापानले २००६ देखि ६५ वर्षसम्म कामको अवसर दिन प्रोत्साहन गरेको छ; २०२१ मा ७० वर्षसम्म बढाउन आग्रह ग¥यो । दक्षिण कोरियाले २०१३ मा कानुनी सेवानिवृत्ति उमेर ५९ बाट ६० पु-यायो ।  
तर प्रश्न भने अझै बाँकी नै छ । त्यो के भने, वृद्धहरूले कुन प्रकारको काम गर्नुपर्छ ? जापानको वृद्ध श्रमिक रोजगार एजेन्सी ‘कोरेइशा’का प्रमुख मुराजेकी फुमियो भन्छन्, ‘६५ वर्ष नाघेपछि नयाँ नियुक्तिजस्तै सोच्नुहोस्, शून्यबाट सुरु गर्ने मानसिकता राख्नुहोस् ।’ (एजेन्सी)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
भगवानको लीला अपरम्पार

भगवानको लीला अपरम्पार

अमरताको खोजी

अमरताको खोजी

जनताको आशाको बजेट

जनताको आशाको बजेट