नेभिगेशन
नेपाल

‘यो सरकार बिचौलियाको धम्कीबाट बनेको हो’

पोखरा, २१ भदौ - माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिचौलियाको धाकधम्कीबाट बनेको भन्दै गम्भीर आरोप लगाएका छन् । नेपाल उद्योग व्यापार महासंघले लेकसाइडमा शनिबार आयोजना गरेको समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी– व्यवसायीको भूमिका विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो,’ उनले भने, ‘हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो । कांग्रेस– एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नुहुँदैन ।’ दलाल पूँजीवाद र बिचौलियावादको आलोचना गर्दै उनले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारबारे कडा टिप्पणी गरे । 

माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा खटिएको उल्लेख गर्दै उनले भने, ‘हामी मध्यम वर्गकै प्रतिनिधि हौं । ऋण मिनाहा, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो ।’ सहकारी क्षेत्रमा ठगी गर्नेहरूप्रति संकेत गर्दै प्रचण्डले सहकारी क्षेत्रमा लागेका कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएको आरोप लगाए । 

‘हामीले शक्तिशाली प्राधिकरणमार्फत ठगहरूलाई कारबाही गर्न खोज्यौं, तर सरकार ढालियो । त्यसैले त्यो काम अघि बढ्न सकेन ।’ असल नियतले सरकार नबनेको उनले बताए । उनले भने, ‘क्रोनी क्यापिटलिजम र दलाल पूँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन् । हामी त्यसको वैकल्पिक शक्ति हौं ।’

संविधान निर्माणको प्रक्रिया कठिन भए पनि अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा माओवादीको भूमिका निर्णायक रहेको उनले उल्लेख गरे । ‘हामीले सबै उद्देश्य प्राप्त नगरे पनि बाध्यात्मक सम्झौतामार्फत ऐतिहासिक उपलब्धि हासिल गरेका छौ,’ उनले भने । 

संघीय गणतन्त्रको परिकल्पनाअनुसार परिवर्तन ढिला भएको टिप्पणी उनले गरे । अझै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा संरचनात्मक परिवर्तन नआएको स्वीकार गर्दै उनले भने, ‘उही नियम, उही परम्परा चलिरहेको छ । परिवर्तनको लडाइ अझै बाँकी छ ।’ पछिल्लो समयमा माओवादी घटक र इमानदार कम्युनिष्टबीच एकता र सहकार्य बढ्दै गएको उनले बताए । 

‘नपत्याउने गरी जनमत बढिरहेको छ,’ उनले भने, ‘नसोचेका ठाउँमा पनि हामी जितिरहेका छौं । जनताले बुझ्न थालेका छन्, माओवादी केन्द्र नै जनताको पक्षमा काम गर्ने शक्ति हो ।’ समाजवादको दिशामा उद्योगी–व्यवसायीको योगदान अपरिहार्य रहेको पनि उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्