नेभिगेशन
शिक्षा

एसईईमा सुध्रियो उत्तीर्ण दर

४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत उत्तीर्ण, पास हुने दर पोहोरभन्दा ४.१७ प्रतिशतले वृद्धि

काठमाडौं । एसईईको उत्तीर्ण दरमा सुधार आएको छ । यस वर्ष कुल ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत उत्तीर्ण अर्थात् ग्रेडेड भएका छन् । गत वर्ष ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए, जसको तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशत ४.१७ ले वृद्धि भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार साँझ सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन गर्दै बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार 
सबैभन्दा उच्च जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३९२ छ । 
त्यसैगरी ३.२० देखि ३.६० सम्मको जीपीए ८० हजार ३७२ जनाले प्राप्त गरेका छन् भने ९४ हजार २२२ विद्यार्थीले २.८० देखि ३.२० सम्मको जीपीए ल्याएका छन् । अन्य श्रेणीतर्फ २.४० देखि २.८० जीपीए ल्याउने ५५ हजार ९७७ जना, २.०० देखि २.४० जीपीए ल्याउने ५ हजार १९० जना र १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना छ ।
यस पटकको नतिजामा नन ग्रेडेड (अवर्गीकृत) हुने विद्यार्थीको संख्यामा उल्लेख्य कमी आएको छ । बोर्डका अनुसार यस वर्ष १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड भएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा २१ हजारले कम हो । अघिल्लो वर्ष १ लाख ६७ हजारभन्दा बढी विद्यार्थी नन ग्रेडेड भएका थिए ।
परीक्षा सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने सरकारी लक्ष्यका कारण बोर्डले छिटो काम गरिरहेको थियो । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको उत्तरपुस्तिका यसपटक परीक्षा केन्द्रमा नै जाँच  गरिएको थियो । शिक्षामन्त्रीले नतिजा छिटो निकाल्न उत्तरपुस्तिका परीक्षण गर्ने शैली बदल्ने निर्णय गरेसँगै बोर्डले सुरक्षाको कारण बाहेक अन्य सबै ठाउँमा केन्द्रमै कापी परीक्षण गराएको थियो ।
नयाँ सरकारको कार्ययोजना र मन्त्रीको निर्णय कार्यान्वयन गर्न बोर्डका कर्मचारीले रातारात काम गरेर नतिजा तयार पारेका हुन् । कापी परीक्षणको शैलीमा गरिएको यो परिवर्तनले नतिजा प्रकाशनमा लाग्ने समयलाई उल्लेख्य रूपमा घटाएको बोर्डले जनाएको छ । शैक्षिक गुणस्तर सुधारका लागि सरकारले अपनाएको नयाँ रणनीतिले नतिजामा सकारात्मक प्रभाव पारेको देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्