नेभिगेशन
अर्थतन्त्र

सातामा नेप्से २.२० प्रतिशत घट्यो

काठमाडौं, २१ भदौ - धितोपत्र बजारमा गतसाता पाँच कारोबार दिनमध्ये एक दिन नेप्से परिसूचक सामान्य बढ्यो भने चार दिन घट्यो । समग्रमा नेप्से ६१.२३ अंक (२.२० प्रतिशत) घटेर २७१९.७७ विन्दुमा झरेको छ । अघिल्लो साता नेप्से २७८१ विन्दुमा बन्द भएको थियो । 

सातामा कारोबार मापन गर्ने अन्य सूचकहरू पनि ओरालो लागेका थिए । सेन्सिटिभ परिसूचक ७.८५ अंकले घट्यो । साधारण शेयरको कारोबार मापन गर्ने फ्लोट सूचक ४.०१ अंक र सेन्सिटिभ फ्लोट सूचक २.५६ अंकले घटेको छ ।

कारोबार रकममा पनि गिरावट

अघिल्लो साताको तुलनामा कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो सातामा दैनिक औसत ६ अर्ब ४५ करोडको कारोबार भएकामा गतसाता ५ अर्ब १० करोडको मात्रै कारोबार भयो । साताको पहिलो कारोबार दिन आइतबार सबैभन्दा धेरै ६ अर्ब ६ कारोडको कारोबार भएको थियो । त्यस्तै मंगलबार सबैभन्दा कम ४ अर्ब ४३ करोडको शेयर किनबेच भयो ।

लगानीकर्ताले गुमाए १ खर्ब

नेप्सेको कुल बजार मूल्य पनि घटेको छ । नेप्सेमा गिरावट आउँदा धेरैजसो कम्पनीको शेयरमूल्य घटेको छ । लगानीकर्ताको सम्पत्ति एक सातामा एक खर्ब एक अर्ब रुपैयाँ गुमेको छ । अघिल्लो साताको अन्तिममा ४६ खर्ब ४७ अर्ब रुपैयाँ रहेको बजार पुँजीकरण गतसाताको अन्त्यमा ४५ खर्ब ४६ अर्बमा झरेको छ । 

साधारण शेयरतर्फको बजार पुँजीकरण पनि एक सातामा ३१ अर्ब घटेर १५ खर्ब ४१ अर्ब रुपैयाँमा झरेको छ ।

सबै उपसमूह राताम्य

सूचीकृत १३ वटै उपसमूहमा गिरावट भयो । प्रतिशतको हिसाबले जलविद्युत् उपसमूह सबैभन्दा बढी प्रभावित भयो, जसको परिसूचक ३.२८ प्रतिशत अर्थात ११६.९५ अंक घटेर ३४४३.२६ विन्दुमा झरेको छ । अंकको आधारमा सबैभन्दा ठूलो गिरावट जीवन बीमा उपसमूहमा देखियो । यो समूह २९३.१२ अंकले घटेर १२,७६८.४४ विन्दुमा झरेको छ । म्युचुअल फण्ड उपसमूह सबैभन्दा कम अर्थात् ०.१५ प्रतिशत घटेको छ । 

नयाँ शेयर सूचीकृत

सातामा २ करोड २२ लाख ९३ हजार ७४ कित्ता शेयर नेप्सेमा सूचीकृत भए । तीमध्ये दोर्दी खोला जलविद्युत् कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद शेयर, हिमालयन बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ र ‘७.२५% एसबीएल डिबेञ्चर २०९१’ को २५ लाख इकाइ ऋणपत्र सूचीकृत भएको हो ।

सर्वाधिक मूल्य बढ्ने र घट्ने कम्पनी

सातामा नबिल ब्यालेन्स्ड फण्ड–२ को इकाइ मूल्य सबैभन्दा बढी २०.६५ प्रतिशत बढेर ८ रुपैयाँ ९६ पैसाबाट १० रुपैयाँ ८१ पैसामा पुगेको छ । पिपल्स पावरको शेयर मूल्य १७.७९ प्रतिशत घटेर सबैभन्दा बढी ह्रास भएको छ । यस्तै, नेपाल रिपब्लिक मिडियाको झण्डै १४.५ प्रतिशत र छ्याङ्दी हाइड्रोपावरको करिब १४ प्रतिशत मूल्य घटेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्