नेभिगेशन
अर्थतन्त्र

चार हजार ३३० मेगावाटका विद्युत् आयोजना निर्माणाधीन

काठमाडौं, २१ भदौ - निजी क्षेत्रले प्रवद्र्धन गरेका तथा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत अघि बढेका चार हजार ३३० मेगावाटका विद्युत् आयोजना अहिले निर्माणाधीन छन् । प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरी लगानी व्यवस्थापन गरेका १४२ वटा विद्युत् आयोजना विभिन्न जिल्लामा निर्माण भइरहेका हुन् ।

निर्माणाधीनमध्ये १३७ वटा जलविद्युत् आयोजना छन् । जसको जडित क्षमता तीन हजार ७७० मेगावाट रहेको प्राधिकरणको विद्युत् व्यापार विभागले जनाएको छ । विभागका अनुसार अहिले ५ वटा सौर्य विद्युत् आयोजना निर्माणाधीन छन्, जसको जडित क्षमता ५९ मेगावाट छ ।

विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत ७ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजनाको जडित क्षमता ४७४ मेगावाट छ । जसमध्ये १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको संरचना निर्माणको काम सम्पन्न भई अहिले परीक्षणको चरणमा छ । 

यो आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा औपचारिकरूपमा जोड्न अहिले परीक्षण सञ्चालन गर्ने काम भइरहेको छ । विद्युत् प्राधिकरणको प्राविधिक टोली आयोजनास्थलमा खटिएको छ ।

यस्तै, ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘बी’, १४० मेगावाटको तनहुँ जलाशय, ४० मेगावाटको राहुघाट, ९४.८ मेगावाटको तामाकोशी–५, ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’, १८.२ मेगावाटको माथिल्लो मोदी जलविद्युत् आयोजना विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माणाधीन छन् ।

माथिल्लो त्रिशूली थ्री ‘बी’ मा विविध कारणले लक्ष्यभन्दा ढिलो गरी काम भइरहेको छ । विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत नै बनिरहेको तनहुँ जलाशय आयोजना २०८३ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तामाकोशी–५, माथिल्लो मोदी ‘ए’, माथिल्लो मोदी आयोजना लगानी व्यवस्थापन गरी भर्खरै निर्माणमा गएका छन् ।

यस्तै, निजी क्षेत्रले लगानी गरेका १३० वटा जलविद्युत् आयोजना पनि अहिले निर्माणाधीन रहेको विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरणका अनुसार यी आयोजनाको जडित क्षमता तीन हजार ७७० मेगावाट छ । 

निजी क्षेत्रले निर्माण गरिरहेका मध्ये सबैभन्दा ठूलो २८५ मेगावाटको माथिल्लो तमोर आयोजना निर्माण भइरहेको छ । तमोर सानिमा इनर्जी प्रालिले ५५ अर्ब १५ करोड रुपैयाँ लगानीमा यो आयोजना निर्माण भइरहेको हो । यो आयोजना निजी क्षेत्रले स्वदेशी लगानीमा निर्माण गरिरहेको अहिलेसम्मकै ठूलो आयोजना पनि हो । 

यस्तै, दक्षिण कोरियाको प्रत्यक्ष वैदेशिक लगानीमा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना निर्माण भइरहेको छ । नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको यो आयोजनाको ५६ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । यो आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक एक अर्ब ५३ करोड ३१ लाख युनिट विद्युत् उत्पादन गर्न सकिनेछ । 

यो आयोजना २०८३ साल मंसिरभित्र सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य छ । ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपुँजी (इक्विटी) बाट जुटाइएको छ ।

उत्पादित विद्युत्, विद्युत् प्राधिकरणले निर्माण गरिरहेको त्रिशूली–३ बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ । काठमाडौं लोडसेन्टरबाट नजिक रहेको र विद्युत्को अध्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत् प्रणालीका लागि यो आयोजना अत्यन्त्यै आकर्षक मानिएको छ । आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुनेछ । 

१२० मेगावाटको रसुवा भोटेकोशी, ४४ मेगावाटको अपर आँखु, ४० मेगावाटको तल्लो इसुवा, ४४ मेगावाटकै भोटेकोशी–१, ५७.३ मेगावाटको म्याग्दी खोला, ५० मेगावाटको मेवाखोला, २० मेगावाटको तल्लो बलेफी, २० मेगावाटको माथिल्लो सेती, २२ मेगावाटको सेती खोलालगायत आयोजना अहिले निर्माण भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ ।

४२०३ मेगावाट निर्माणमा जाँदै

प्राधिकरणसँग पीपीए सम्पन्न गरेका चार हजार २०३ मेगावाटका आयोजना कानूनी प्रक्रियाको विभिन्न चरणमा छन् । यी आयोजना वित्तीय व्यवस्थापनको जोहो गरी निर्माणमा जाने तयारमा छन् । 

अहिले निजी क्षेत्रले अनुमति लिएका तथा प्राधिकरणको सहायक कम्पनीमार्फत अघि बढेका १४८ वटा आयोजना निर्माणमा जाने तयारी अवस्थामा छन् । जसमध्ये ४ हजार ४ मेगावाटका जलविद्युत् आयोजना छन् भने १९९ मेगावाटका १३ वटा सौर्य विद्युत् आयोजना छन् ।

२१६ मेगावाटको बझाङ माथिल्लो सेती, १३९ मेगावाटको तल्लो मनाङ, ८६ मेगावाटको लान्द्रुक मोदी, ७० मेगावाटको दूधकोशी–२, ६१ मेगावाटको नारखोला, ४७.३ मेगावाटको सानीभेरी–३, ३८.१ मेगावाटको कालिका कालीगण्डकी, ४६ मेगावाटको भोटेकोशी–५, ३५ मेगावाटको न्यासिम खोला, २३.५ मेगावाटको बलेफी, १०.५ मेगावाटको तल्लो मोदी–२, २१ मेगावाटको न्यादी फिदी आयोजना निर्माणमा जाने तयारी गरिरहेका छन् ।

यस्तै, १८० मेगावाटको कालीगण्डकी गर्ज, ६३ मेगावाटको छुजुङ खोला, ५५.६ मेगावाटको जुमखोला, ५३.५ मेगावाटको माथिल्लो म्याग्दी–१, ४० मेगावाटको माथिल्लो छुजुङ, ४४ मेगावाटको बाकन खोला, ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, २१ मेगावाटको सुतीखोला लगायत आयोजना निर्माणमा जाने तयारीमा छन् ।

अहिले १९९ मेगावाटका सौर्य विद्युत् आयोजना पनि पीपीए सम्पन्न भई निर्माणमा जाने तयारीमा रहेको प्राधिकरणले जनाएको छ । 

यस्तै, ५० मेगावाटको रोल्पा, ८०० मेगावाटको भृकुटी ग्रिड टाइड सौर्य विद्युत् आयोजना, ५ मेगावाटको बैगुनधुरा सौर्यविद्युत् आयोजना, १० मेगावाटको लमही, ५ मेगावाटकै ढल्केबर, १० मेगावाटको कपिलवस्तु (ब्लक–१), कपिलवस्तु फेज–२ सौर्य विद्युत् आयोजना निर्माणमा जाँदैछन् ।

१५ मेगावाटको परासी, ३० मेगावाटको न्यू नेपालगञ्ज, २५ मेगावाटको भुरीगाउँ–१, १५ मेगावाटको सुनवल र १५ मेगावाटको कृष्णपुर सौर्य विद्युत् आयोजना पीपीए सम्पन्न भई लगानी व्यवस्थापन गरेर निर्माणमा जाने तयारी अवस्थामा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्