नेभिगेशन
राजनीति
संसद्मा विपक्षीको प्रश्नै प्रश्न

‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराइयोस्’

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री बालेन शाह प्रश्नैप्रश्नले घेरिएका छन् । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्री शाहले सोमबार संसद्मा देखाएको व्यवहारलाई लिएर प्रश्न मात्र उठाएनन्, उनको स्वास्थ्य परीक्षण गरी सदनलाई जानकारी गराउनै माग गरे । 
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बे, एमालेका रामबहादुर थापा बादल, नेकपाका पुष्पकमल दाहाल प्रचण्ड, राप्रपा दलका नेता ज्ञानेन्द्र शाही र श्रम संस्कृति पार्टीका हर्क साम्पाङ मंगलबार संसद्मा कडा सुनिए । उनीहरुले प्रधानमन्त्रीले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा देखाएको व्यवहारले संसद्मा मर्यादा र गरिमा तोडेको भन्दै असन्तुष्टि व्यक्त गरे ।  
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता प्रचण्डले प्रधानमन्त्री शाहलाई संसदीय मर्यादा पालन गर्न आग्रह गरे । 
‘हिजोको बैठकमा जे गतिविधि देखियो, प्रधानमन्त्रीले निश्चित मर्यादा पालना नगर्ने हो भने संसद्को गरिमा रहन सक्दैन,’ उनले संसदमा भने,‘यसमा हामी सबैको ध्यान जाओस् । हामी सबैको भविष्य जोडिएको छ प्रधानमन्त्रीको कार्यशैलीमा ।’ त्यस्तै, प्रचण्डले सरकारले सकुम्बासी बस्तीमा डोजर चलाएको  विषयमा पनि असन्तुष्टि व्यक्त गरे । अहिलेको सरकारले गरिबमाथि गरेको दमनले पञ्चायती निरंकुशताको झझल्को दिएको भन्दे उनले भने, ‘हिजो निरंकुश राज्यसत्ताले हात्ती लगाएर गरिब, सुकुम्बासीका छाप्रो भत्काउने गर्दथ्यो । बस्तीहरूमा आगो लगाउने गर्दथ्यो । आज लोकतन्त्रमा जनताको घर बस्ती भत्काइएका छन् । लालाबालाहरूको बिचल्ली बनाइएको छ ।’ उनले गरिब र सुकुम्बासी हटाएर देशको मुहार नफेरिने भन्दै सुकुम्वासी हटाउने सरकारको कार्यशैलीमा प्रश्न उठाए । 
त्यस्तै, प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री शाहको स्वास्थ्य परीक्षण गरी सदनलाई जानकारी गराउन माग गरेको छ । संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले यस्तो माग गरेका हुन् ।  
उनले सामाजिक सञ्जालमा लाखौंले लेखेजस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनुभयो भनेर आफूले नभन्ने बताए ।   ‘यस्तो पनि हुन सक्छ, अचानक उहाँको स्वास्थ स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नुभएको होला । उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने, भएको के हो अविलम्ब स्वास्थ परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्,’ उनले भने । 
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री शाह बीचैमा बाहिरिएका थिए । उनका राजनीतिक सल्लाहकार असिम साहले प्रधानमन्त्री स्वास्थ्यमा समस्या भएपछि बाहिरिएको स्टाटस लेखेका थिए । पछि उनले स्टाटस डिलिट गरेका थिए । सोही सन्दर्भ उल्लेख गर्दै कांग्रेसका दलका नेता आङदम्बेले प्रधानमन्त्रीको स्वास्थ्यबारे चासो व्यक्त गरेका हुन् । 
प्रधानमन्त्री अब रास्वपाको मात्र नभई सबैको सम्पत्ति भएको भन्दै आङ्दम्बेले भने, ‘हुनसक्छ, सत्ताको भारी अपेक्षा गरेभन्दा धेरै ठूलो भएर होला, हाम्रा युवा प्रधानमन्त्रीको मन स्थिर र शान्त नदेखिएको ।’ उनले प्रधानमन्त्रीले सोमबार संसद्मा देखाएको व्यवहारलाई ‘अहंकार र मर्यादाहीन’ भन्दै त्यसले जनताको मन कुँडिएको, देशको शिर झुकेको, सदनको गरिमा र इज्जतमा दाग अनुभूति भएको बताए । 
संसारको कुनै पनि प्रधानमन्त्री सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा बीचैमा नहिँड्ने भन्दै प्रधानमन्त्री शाहले  ‘गिनिज बुक’मा नाम लेखाउन खोजेको हो भन्दै आङ्दम्बेले कटाक्ष गरे । ‘आफ्नै सरकारको नीति कार्यक्रम संसद्मा पेस भइरहँदा संसारको कुन देशको प्रधानमन्त्री बीचैमा उठेर हिँडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ,’ उनले भने, ‘यस्तो रेकर्ड राख्न लागेकामा म उहाँलाई बधाई दिऊँ कि दुःख व्यक्त गरौं, सभामुख महोदय ?’ उनले सभामुख डोलप्रसाद अर्यालले पनि संसदको गरिमा राख्न नसकेको भन्दै कटाक्षमिश्रित प्रश्न गरे । त्यस्तै, आङ्देम्बेले प्रधानमन्त्रीकै कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न नसकेको पनि बताए । 
राप्रपा संसदीय दलका नेता  ज्ञानेन्द्र शाहीले सरकारले सुकुम्वासी हटाउने नाममा गरेको हर्कत आतंकवादीको जस्तै भएको टिप्पणी गरे । प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सत्ता स्थायी नहुने भन्दै हेक्का राख्न चुनौती पनि दिए । सरकारविरुद्ध आक्रामक सुनिएका शाहीले भने, ‘अव्यवस्थित बस्ती जोगाउनुपर्छ भन्ने होइन, सरकारी जग्गा हडपेकाहरूलाई हटाउनुपर्छ तर सरकार सरकार हो कि आतंकवादी हो ?’  उनले मानवीय संवेदनामा डोजर चलाएर विकास नहुने भन्दै सत्ता र शक्तिको आडमा कसैलाई नजोगाउने हो भने मन्त्रीका घरमा किन डोजर नलाएको भन्दै प्रश्न गरे । 
फेरि कड्किए बादल
अर्को विपक्षी दल एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादल पनि सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भए । रास्वपा वैचारिक विचारधारामा आधारित दल नभएको टिप्पणी गर्दै उनले आकस्मिक रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड भएको बताए । ‘प्रतिनिधिसभा तथा संघीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी ग¥यो । यसको राजनीतिक लक्ष्य राज्यको प्रशासन तन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो । यो लक्ष्य प्राप्त गर्न पनि रास्वपा सफल रह्यो,’ उनले भने । उसो त बादलले संसद्मा पहिलो पटक बोलेको विषय दोहो¥याउँदै रास्वपा, सरकार र जेनजी आन्दोलनमाथि प्रश्न गरेका हुन् । ‘राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ ?,’ उनको भनाइमा सांसदहरूले आपत्ति जनाए । त्यसबीच थापाले भने, ‘असंलग्न नीतिको खिल्ली उडाउँदै सशस्त्र टीओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ ?’
त्यस्तै, उनले जेनजी आन्दोलनमाथि प्रश्न गर्दै रास्वपाको निलो क्रान्तिमा तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम भएको टिप्पणी गरे । 
बादलको यस्तो अभिव्यक्तिपछि रास्वपा सांसद मनिष खनालले आपत्ति जनाएका थिए । उनले रास्वपाको सफलतालाई अराजक जमातको अस्थायी गठजोड, नेपाली सेनालाई समेत विवादमा तानेको भन्दै बादलको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका थिए । 
हर्कले खोजे सरकारको प्रधानमन्त्री
श्रम सस्कृति पार्टीका अध्यक्ष, प्रतिनिधिसभा सदस्य साम्पाङ पनि प्रधानमन्त्री शाहको शैलीसँग सन्तुष्ट देखिएनन् । संसद बैठकमा उनले प्रश्न गर्दै सोधे, ‘यो सरकारको प्रधानमन्त्री छ कि छैन, छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ? सांसदको प्रश्नको उत्तर दिनुपर्छ कि पर्दैन ? सांसदको प्रश्नको उत्तर नदिनु भनेको जनताको प्रश्नको जवाफ नदिनु हो ।’ 
प्रश्नको उत्तर दिन नसक्ने प्रधानमन्त्री असक्षम ठहरिने भन्दै उनले भने, ‘जनता सरकारसँग डराएर बाँच्नु परेको छ । जनताको जीउधनको रक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न नसक्ने अनि यो सरकार कसरी सफल सरकार भन्न सकिन्छ ?’ उनले भारतले सीमा क्षेत्रमा निर्माणको काम गरिरहेको विषयमा पनि सरकारलाई प्रश्न गरे । ‘सीमावर्ती क्षेत्रमा छिमेकी सरकारले गरिरहेको निर्माण कार्य नेपाल सरकारलाई सोधेर गरेको हो वा आफूखुसी गरिरहेको हो ?,’ उनको प्रश्न थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्