नेभिगेशन
शिक्षा

एसईई मौका परीक्षा शुक्रबारदेखि

भक्तपुर । एसईई अनुत्तीर्णका लागि मौका परीक्षा आगामी शुक्रबारदेखि नै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ननग्रेडेड भएकाहरुका लागि असार १ देखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने जनाएको हो । 
बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार एसईईमा यसपटक  ननग्रेडेड भएका १ लाख ४६ हजार ५०७ जना विद्यार्थीले मौका परीक्षा दिन पाउँछन् । परीक्षा असार १ देखि ९ गतेसम्म हुने उनले बताए । 
यस वर्ष जाँच दिन ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फाराम भरेका थिए । सहभागी भने ४ लाख ३० हजार ६६७ जना भए । सोमबार घोषित नतिजाअनुसार २ लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भए भने   १ लाख ४६ हजार ५०७ ननग्रेडेड भएको तथ्यांक छ । ग्रेडवृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । बोर्डले एसईईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गरेको छ । 
नतिजामा चित्त नबुझेमा पुनर्योेगका लागि जेठ १ देखि ७ गतेसम्मको समय निर्धारण गरेको जानकारी अधिकारीले दिए । गत चैत १९–२९ मा सञ्चालित परीक्षाको नतिजा बोर्डले २९ दिनमा सार्वजनिक गरेको थियो ।     सोमबार सार्वजनिक नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यो नतिजा गत वर्षभन्दा उत्तीर्ण दर ४.१७ प्रतिशतले वृद्धि भएको देखिएको छ ।  यसवर्ष प्रदेश अनुसार कोशीमा ५० हजार ८९०, मधेसमा ४४ हजार ५९२, बागमतीमा ७७ हजार ११३, गण्डकीमा २६ हजार ५५०, लुम्बिनी ४४ हजार २५६, कर्णाली १९ हजार ९५ र सुदूरपश्चिममा २१ हजार ६६४ ग्रेडेड भएका छन् ।
परीक्षामा मधेस प्रदेशका ३१ हजार ७२५, कोशीमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४, गण्डकीमा ९ हजार ९४३, लुम्बिनीमा २७ हजार ८९३, कर्णालीमा १३ हजार २४१ र सुदूरपश्चिममा २० हजार ६३५ विद्यार्थी ननग्रेडेड भएका छन् । 
यसवर्ष कक्षा ११ को भर्ना प्रक्रिया बोर्डले छिट्टै सुरु गर्ने बोर्डका परीक्षा नियन्त्रक अधिकारीले बताए । यसका लागि बोर्डले शिक्षा मन्त्रालयले सरोकारवाला पक्षसँग छलफल गरेर भर्ना र पठनपाठनको मिति निर्धारण गर्ने जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्