नेभिगेशन
विश्व

युरोपेली संघद्वारा गुगलमाथि ३ अर्ब डलर जरिवाना

एजेन्सी – युरोपेली संघले विज्ञापन प्रविधिको बजारमा वर्चस्व दुरुपयोग गरेको आरोपमा प्रविधि क्षेत्रको अग्रणी कम्पनी गुगललाई २.९५ अर्ब युरो (झण्डै ३.२ अर्ब अमेरिकी डलर) जरिवाना गरेको छ । यो फैसला युरोपेली आयोगले शुक्रबार सार्वजनिक गरेको हो ।

गुगलले आफ्नै विज्ञापन एक्सचेन्ज प्लेटफर्म (एडएक्स) लाई प्राथमिकता दिँदै प्रतिस्पर्धी कम्पनीहरूको पहुँचलाई अवरुद्ध गरेको, जसका कारण विज्ञापनदाताले महँगो सेवा लिनुपरेको र प्रकाशकहरूलाई न्यून आम्दानीमा सीमित हुनुपरेको आयोगले जनाएको छ । 

आयोगकी उपाध्यक्ष तेरेसा रिबेराले भनिन्, ‘गुगलले प्रतिस्पर्धालाई कमजोर बनाउने किसिमले आफ्नो प्रणालीलाई डिजाइन गरेको छ, जसले बजारको स्वस्थ गतिशीलतालाई नकारात्मक असर गरेको छ ।’ उनले ‘गुगलले ६० दिनभित्र सुधारको योजना प्रस्तुत नगरे आयोगले आफ्नै ‘संरचनात्मक समाधान’ लागू गर्ने’ बताइन् ।

गुगलले आयोगको निर्णयलाई ‘गलत’ र ‘अन्यायपूर्ण’ भन्दै विरोध जनाएको छ । कम्पनीकी नियामक मामिला प्रमुख ली–एन मुलहोल्याण्डले एक विज्ञप्तिमा भनिन्, ‘हामी आयोगको निष्कर्षसँग असहमत छौं । यो जरिवाना हजारौँ युरोपेली व्यवसायलाई असर पार्नेछ र उनीहरूको डिजिटल आम्दानी घटाउनेछ ।’ कम्पनीले उक्त निर्णयविरुद्ध कानूनी अपिल गर्ने तयारी गरिरहेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघको निर्णयप्रति कडा प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘युरोपेली संघले अमेरिकी कम्पनीहरूलाई निसाना बनाइरहेको छ । यो कार्य अनुचित छ ।’ ट्रम्पले अमेरिकी प्रशासनले यसको विरोधमा अनुसन्धान सुरु गर्ने र युरोपेली सामानमाथि नयाँ शुल्क लगाउने चेतावनीसमेत दिएका छन् ।

यो कारबाही युरोपेली आयोगद्वारा गुगलमाथि लगाइएको तेस्रो ठूलो जरिवाना हो । सन् २०१८ मा आयोगले गुगललाई एन्ड्रोइड अपरेटिङ सिस्टममार्फत बजार नियन्त्रण गरेको भन्दै ४.३४ अर्ब युरो जरिवाना गरेको थियो । त्यसअघि पनि विभिन्न प्रतिस्पर्धा विरोधी गतिविधिका लागि गुगललाई बारम्बार चेतावनी दिइँदै आएको थियो । 

युरोपेली आयोगले यदि सुधार नआएमा गुगलले आफ्नो विज्ञापन प्रविधि कारोबारको केही हिस्सा बेच्नुपर्ने अवस्था आउन सक्ने संकेत दिएको छ । बजारमा निष्पक्षता कायम राख्न संरचनात्मक हस्तक्षेप आवश्यक भएको आयोगले बताएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्