नेभिगेशन
प्रदेश

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

मनाङ । विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने जडीबुटी’का रूपमा लिइन्थ्यो । वैशाख–असार पहिलो सातासम्म हजारौं मानिस उच्च हिमाली क्षेत्रमा पुग्ने र केही हप्ता खर्कमा पुगेर यार्सागुम्बा संकलन गरी वर्षभरि घर खर्च चलाउने माध्यमको रूपमा पहिचान गरिएको थियो । तर, पछिल्ला वर्षका तथ्यांकले यार्सागुम्बाबाट हुने आम्दानी लगातार घट्दो क्रममा हुँदा हजारौं हिमाली नागरिकको आयआर्जन र जीविकोपार्जनमा प्रत्यक्ष असर पर्न थालेको छ ।
विकट क्षेत्र मनाङ औषधीय कच्चापदार्थको उत्पादनको केन्द्र हो । औषधीय जडिबुटी उत्पादनमा आत्मनिर्भर मानिन्छ । आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको औषधीय जडिबुटी केही वर्षयता घट्दो क्रममा छ । मुख्य आयस्रोतमा प्रभाव पर्दा यहाँका स्थानीयमा चिन्तामा छन् । पहिले प्रशस्त पाइने हिमाली क्षेत्रमा अहिले यार्सागुम्बा दुर्लभ बन्दै गएको स्थानीयवासी बताउँछन् । तापक्रम बढ्दै जाँदा हिमाली भूभागको चिसोपन घटेको छ, जसले यार्सागुम्बाको वृद्धि र विकासमा प्रत्यक्ष असर पु¥याएको छ । करिब पाँच वर्षको तथ्यांकका आधारमा वार्षिक रुपमा यार्सागुम्बा उत्पादन तथा संकलन कार्य घटेको पाइएको अन्नपूर्ण संरक्षण क्षेत्र एकाई (एक्याप) कार्यालय मनाङले जनाएको छ ।
विगतको तुलनामा यार्सागुम्बाको उत्पादन घटेको एक्यापको तथ्यांकले प्रष्ट पारेको छ । एक्यापका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा ४० दशमलव पाँच किलोग्राम संकलन गरिएको छ भने यार्सागुम्बा बिक्रीबाट १२ लाख १५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यार्सा संकलनकले मूल्य अभिवृद्धि कर एक लाख ५७ हजार ९५० रुपैयाँ तिरेका छन् । पालिकालाई १० प्रतिशतका दरले छ लाख सात हजार रुपैयाँ पालिकालाई दस्तुर बुझाउनुपर्ने प्रावधान छ भने १० प्रतिशतकै दरले चार लाख पाँच हजार रुपैयाँ संरक्षण क्षेत्र व्यवस्थापन समिति (सीएएमए) लाई दस्तुर बुझाउने गरिएको छ ।     
यस आवबाट दोहोरो भ्याट तिर्नुपर्ने बाध्यतालाई ध्यान दिदै भ्याट बुझाउनुपर्ने प्रावधान हटाइएको एक्यापका प्रमुख ढकबहादुर भुजेलले जनाए । आव २०८१÷८२ मा ५१ दशमलव ८६३ किलोग्राम यार्सा बिक्रीबाट १५ लाख ९८ हजार रुपैयाँ आम्दानी भएको छ । पालिकालाई पाँच लाख २४ हजार र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई पाँच लाख १९ हजार रुपैयाँ तिरेको छ । आव २०८२÷८३ फागुनसम्ममा ४७ दशमलव आठ किलो यार्सा बिक्रीबाट १४ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । पालिका र संरक्षण क्षेत्र व्यवस्थापन समितिलाई चार लाख ७८ हजार रुपैयाँ दस्तुर बुझाइएको छ ।
आव २०७७÷७८ देखि २०८२÷०८३ (फागुनसम्म) को तथ्यांकअनुसार यार्सागुम्बा संकलन र बिक्रीबाट प्राप्त राजस्वमा उल्लेखनीय गिरावट आएको छ । आव २०७८÷७९ मा सबैभन्दा धेरै १०७.०५२ किलो यार्सागुम्बा संकलन भएकोमा त्यसपछिका वर्षमा यार्सा संकलन मात्रा र आम्दानी दुवै घट्दै गएको देखिन्छ । आव २०८२÷०८३ को फागुनसम्म आइपुग्दा संकलनको मात्रा ४७ दशमलव आठ किलोमा झरेको छ भने राजस्व १४ लाख ८१ हजार रुपैयाँमा सीमित भएको छ । गत पाँच वर्षमा कुल ४०१.९५७ किलो यार्सागुम्बाबाट एक करोड २३ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
हिमाली क्षेत्रका स्थानीयले यार्सागुम्बा संकलनलाई मौसमी आयका रूपमा लिन्छन् । यहाँको प्रमुख मौसमी आम्दानीको स्रोत यार्सागुम्बा हो । विशेष गरी मनाङलगायत डोल्पा, मुगु, मुस्ताङ, रुकुम पूर्व, गोर्खा र म्याग्दीका उच्च भेगका परिवारले यार्सागुम्बा बिक्री गरी जीविकोपार्जनका लागि आयस्रोतका रूपमा प्रयोग गर्दछन् । तर उत्पादन घटेसँगै स्थानीयको आर्थिक अवस्था प्रभावित हुन थालेको छ । 
असामान्य तापक्रम वृद्धि, हिमपातमा कमी, वर्षाको अनियमितता तथा वातावरणीय सन्तुलन बिग्रिनुले यार्सागुम्बा उम्रिने प्राकृतिक चक्र प्रभावित भएको हो । स्थानीय यार्सा संकलकका अनुसार हिमाली क्षेत्रमा हिउँ कम पर्नु, तापक्रम बढ्नु र चरन क्षेत्र सुक्दै जाँदा यार्सागुम्बा उत्पादनमा असर परेको छ । पहिला केही घण्टामै दर्जनौं यार्सा भेटिन्थ्यो भने अहिले दिनभर खोज्दा पनि मुस्किलले तीन÷चार वटा मात्रै भेटिने गरेको स्थानीय राज गुरुङ बताउँछन् । ‘पहिला जस्तो यार्सा खोज्न सजिलो छैन । पहिला प्रसस्त भेटिन्थे । अहिले घण्टौं पछि १÷२ वटा मात्रै पाइन्छ’, उनी भन्छन्, ‘हिउँ नै पर्दैन अनि पानीको कमीले होला नि यस्तो भएको । अर्को वर्ष बढ्ला भन्यो झन् कम पो भेटिन्छ ।’ यार्सागुम्बा उत्पादन घट्नुका कारण विज्ञहरूले जलवायु परिवर्तनलाई मुख्य कारण मानिरहेका छन् । यार्सागुम्बा चिसो र आद्र वातावरणमा उम्रने भएकाले तापक्रम वृद्धिले यसको प्राकृतिक चक्र प्रभावित भएको एक्यापका प्रमुख भुजेलले बताए ।
विशेषज्ञका अनुसार अनियन्त्रित संकलन, अत्यधिक भीड र चरिचरन व्यवस्थापनको अभावले पनि यार्सागुम्बा संकटमा परेका छन् । संकलन क्षेत्र व्यवस्थापन, निश्चित कोटा प्रणाली र वातावरण संरक्षणका कार्यक्रम प्रभावकारी रूपमा लागू नगरे भविष्यमा यार्सागुम्बा दुर्लभ हुनसक्ने चेतावनी दिइसकेका छन् । यस क्षेत्रमा भिरमा गएर यार्सागुम्बा संकलन गर्न संकलनकर्ता भेटिन मुस्किल भएको स्थानीय बताउँछन् ।
मनाङमा यार्सागुम्बा संकलनका लागि स्थानीयका कमी भएसँगै डोल्पा, गोर्खा, धादिङलगायतका क्षेत्रबाट संकलनकर्ता आउने गरेका छन् भने हाल कम हुँदै गएको स्थानीयको भनाइ छ । हिमाली भेगका बासिन्दाका लागि यार्सागुम्बा केबल जडीबुटी होइन, जीवन धान्ने आधार हो । तर, घट्दो उत्पादन र आम्दानीले अब यसको आधार कमजोर बन्दै गएको देखिन्छ । यार्सागुम्बा उत्पादन घट्दा हिमाली समुदायको आर्थिक अवस्था कमजोर बन्दै गएको छ । धेरै परिवारको मुख्य आम्दानीको स्रोत नै प्रभावित भएकाले वैकल्पिक रोजगारीको आवश्यकता बढेको छ । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्