नेभिगेशन
प्रदेश

अवैध पशु आयात रोक्न कडा अनुगमन

बुटवल । खुला सिमानाका कारण भइरहेको पशुपन्छीको अवैध आयातले स्वदेशी लगानी जोखिममा परेपछि रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षा र प्राविधिक अनुगमनलाई निकै तीव्र पारिएको छ । पशु क्वारेन्टाइन कार्यालय भैरहवा, मासु व्यवसायी संघ र सुरक्षा निकायको संयुक्त टोलीले रुपन्देहीका सीमानाकाका मुख्य विन्दुदेखि लुकिछिपी प्रयोग हुने नाकाहरूसम्म छड्के अनुगमन सुरु गरेका छन् । 
नेपाल–भारत खुला सीमानाकाको फाइदा उठाउँदै हुने अवैध चोरी–पैठारी र पशुजन्य वस्तुको ओसारपसार नियन्त्रण गर्न रुपन्देहीका सीमा क्षेत्रमा अनुगमनलाई तीव्र पारिएको छ । पशु क्वारेन्टाइन कार्यालय भैरहवा र मासु व्यवसायी संघको संयुक्त पहलमा सीमानाकाका विभिन्न विन्दुहरूमा छड्के अनुगमन तथा निगरानी बढाइएको हो । अनुगमनका क्रममा विशेष गरी भारतबाट अवैध रूपमा भित्रिने कुखुरा, खसीबोका र अन्य पशुजन्य सामग्रीहरूले नेपाली बजार र जनस्वास्थ्यमा पारेको असरबारे सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । खुला सिमानाका कारण विना परीक्षण र विना प्रक्रिया भित्रिने पशुपन्छीले विभिन्न रोगको जोखिम निम्त्याइरहेको पशु क्वारेन्टाइन कार्यालय भैरहवाकी पशु चिकित्सक डा. प्रियंका खनाल बताउँछिन् ।
अनुगमन टोली पुग्दा सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको अवस्था निकै चुनौतीपूर्ण देखिन्छ । ५०–६० जनाको संगठित समूहमा आउने तस्करहरूलाई नियन्त्रण गर्न २–४ जना मात्र सुरक्षाकर्मी हुँदा निकै समस्या पर्ने गरेको छ । घाम, पानी, बतास केही नभनी जवानहरू खटिँदा पनि जनशक्ति कम हुँदा तस्करहरूले मौका छोप्ने गर्छन् । सरकारले सीमामा थप जनशक्ति र आवश्यक सामाग्री समेत व्यवस्था गरिदिए चोरीडकैती र तस्करीलाई शून्यमा झार्न सकिने इलाका प्रहरी कार्यालय मर्चवार बुटवलका प्रहरी नायव निरिक्षक किसनसिंह घर्ती बताउँछन् ।
रुपन्देहीका मर्चवारी क्षेत्रका मुर्दाघाटदेखि भोगटीघाट जस्ता नाकाहरूमा पर्याप्त जनशक्ति नहुँदा भन्सार छली रोक्न हम्मे–हम्मे परेको ससत्र सिमा सुरक्षा बल र नेपाल प्रहरी नै स्वीकार्छन् । यद्यपि, भारतीय प्रहरीसँगको समन्वय र आफ्नै सीमित स्रोतसाधनको प्रयोग गरी सुरक्षाकर्मीहरू काम गरिरहेको बताएका छन् । सुरक्षाकर्मी, पशु क्वारेन्टाइनका कर्मचारी टोली सहित पुगेका व्यवसायीहरुले भारतबाट सस्तोमा लुकिछिपी आउने सामानले नेपाली व्यवसायी मारमा पर्ने गरेको र नेपाली लागनीसहित राजस्वमा समेत असर परेको बताउँछन् । उनीहरुले सिमा नाकामा हुने तस्कारीले नेपाली लगानी सहित नेपालीको स्वास्थ्यमा समेत गम्भीर असर पर्ने गरेको मासु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष विशाल थापा बताउँछन् ।
सीमामा खटिने सुरक्षाकर्मीलाई भौतिक पूर्वाधार र प्रविधिले सम्पन्न नबनाउँदा सम्म र अवैध आयातमा कडा कानुनी करवाही नगर्दा सम्म स्वदेशी बजार परनिर्भरताको जालोबाट उम्किन सक्ने नदेखिएको कुखुरा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष ईश्वरप्रसाद सुवेदी बताउँछन् ।
सीमा क्षेत्रमा देखिएको यो गम्भीर चुनौतीलाई समाधान गर्न राज्यले तत्काल ठोस कदम चाल्नुपर्ने देखिन्छ । ज्यानको बाजी थापेर सीमा रक्षामा खटिएका सुरक्षाकर्मीहरूलाई आवश्यक पूर्वाधार र थप जनशक्ति उपलब्ध गराउनु आजको मुख्य आवश्यकता बनेको छ । अवैध आयातको यो छिद्र पूर्ण रूपमा बन्द नहुँदा सम्म स्वदेशी किसान र व्यवसायीहरूको लगानी सधैं जोखिममा रहिरहनेछ । जनस्वास्थ्यको रक्षा र आत्मनिर्भर अर्थतन्त्रका लागि क्वारेन्टाइन, सुरक्षा निकाय र स्थानीय प्रशासन बीच यस्ता सहकार्यलाई अझै सशक्त, प्रभावकारी र निरन्तर बनाउनुपर्ने देखिन्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्