काठमाडौं, २२ भदौ - सिन्धुपाल्चोकस्थित १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीले प्रवर्द्धन गरेको यस आयोजना अन्तर्गत विद्युतगृहमा जडान गरिएका तीन युनिटमध्ये दुईवटाको सफल परीक्षणपछि उत्पादन भएको बिजुली प्रसारण लाइनमा प्रवाह गरिएको हो । यो आयोजनाको प्रत्येक युनिटको क्षमता ३४ मेगावाटको छ ।
नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले अहिले आयोजनालाई राष्ट्रिय प्रसारण प्रणालीमा सिन्क्रोनाइज गरेर दैनिक परीक्षण गरिरहेको मध्य भोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल शिवाकोटीले बताए । आइतबारसम्म आयोजनाको पहिलो र दोस्रो युनिट पूर्ण क्षमतामा चलाएर परीक्षण गरिएको हो ।
‘आयोजनाका ३ वटै युनिट प्रसारण प्रणालीमा सिन्क्रोनाइज भइसकेका छन्,’ सीईओ शिवाकोटीले भने, ‘अहिलेसम्म २ वटा युनिटको ६८ मेगावाट विद्युत् उत्पादन गरेर हेरिसकेका छौं । अब तेस्रो युनिट पनि जोडेर मंगलबारदेखि आयोजना पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भइरहेको छ ।’
आयोजनाका ३ वटै युनिटबाट पूर्ण क्षमतामा उत्पादन भएपछि बुधबारबाट थप १५ दिनको परीक्षण उत्पादन हुने छ । आयोजनाको परीक्षण उत्पादन गर्दाको समयमा मात्रै विद्युत् प्रसारण प्रणालीमा गएको छ । ३ वटै युनिट सञ्चालनमा आएपछि भने नियमितरूपमा विद्युत् प्रसारण प्रणालीमा दिने सीईओ शिवाकोटीले जानकारी दिए ।
निर्माण थालेको १२ वर्षपछि बल्ल यो आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । भोटेकोशी गाउँपालिका वडा नम्बर ५ स्थित चाकुमा आयोजनाको बाँध र बाह्रबिसे नगरपालिकाको जम्बुमा विद्युत्गृह निर्माण गरिएको छ ।
यो आयोजनाको सुरुङ ७.५ किलोमिटर लामो छ । २०७१ साउनमा आएको जुरे पहिरो, महाभूकम्प, नेपाल–भारत सीमामा भएको अवरोध, भोटेकोशी नदीमा आएको बाढी, कोभिड–१९ प्रकोप, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनले गर्दा यो आयोजनाको निर्माण सम्पन्न हुन १२ वर्ष लागेको हो ।
आयोजना पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । यो आयोजना ब्याज सहित प्रतिमेगावाट २२ करोड रुपैयाँ अनुमानित लागतमा सम्पन्न भएको शिवाकोटीले बताए । आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ थियो ।
आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक २२ अर्ब ४४ करोड रुपैयाँ पुग्ने देखिएको छ । आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।
कम्पनीको जारी पूँजीको ५१ प्रतिशत संस्थापक शेयरधनीहरूमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिमिटेडको १, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रालिको १ र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको १ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
कुल शेयर पुाजीको ४९ प्रतिशत साधारण शेयर छ । जसमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५, ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीको १० र सर्वसाधारणको १५ प्रतिशत छ । कम्पनीले साधारण शेयर निश्कासन गरी रकम संकलन गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताको संख्या १० लाख ७५ हजार छ ।
आयोजनाबाट वार्षिकरूपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः ८.४० रुपैयाँ र ४.८० रुपैयाँमा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ ।