बारा, २३ भदौ - बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ सिमरामा आइतबार बिहान बाघको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा–१ का ५८ वर्षीय छेवांग लामा रहेका छन् ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार लामा बिहान करिब ९ः३० बजे च्याउ टिप्न प्रगतिशील सामुदायिक वनतर्फ गएका थिए । च्याउ टिप्ने क्रममा अचानक बाघ आक्रमणमा परेपछि उनी गम्भीर घाइते भए र घटनास्थलमै उनको मृत्यु भयो । घटनापछि घाँस काट्न गएका अन्य स्थानीयले शव देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतक लामाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको इलाका प्रहरीले जनाएको छ ।
यसअघि पनि बारामा निरन्तर बाघको आक्रमणका घटनाले जनधनको क्षति पु¥याउँदै आएको छ । तीन महिनाभित्र मात्र नरभक्षी बाघले चार जनाको ज्यान लिइसकेको छ । यसरी बारामा बढ्दो बाघ आतंकका कारण स्थानीय त्रासमा छन् ।
गत असार ३ गते जीतपुरसिमरा–२१ का ५५ वर्षीय चन्द्रबहादुर व्लोन दिउँसो ११ बजे बाख्रा चराउन गएका थिए । जीतपुरसिमरा–२२ भित्र पर्ने पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा उनी बाघको आक्रमणमा परे र घटनास्थलमै मृत्यु भयो । त्यसपछि केही समय शान्त रहेको बारामा भदौ ११ गते दिउँसो साढे तीन बजे पुनः बाघले आक्रमण गर्यो ।
घाँस काट्न गएका जीतपुरसिमरा–२२ का ४७ वर्षीय कृष्णकुमार शर्माको शव पर्सा राष्ट्रिय निकुञ्जभित्र भेटियो । त्यसको आठ दिनपछि, भदौ १८ गते राति करिब ७ बजे, पुनः जीतपुरसिमरा–२२ कै रनकुमारी सामुदायिक वन क्षेत्रमा बाघले आक्रमण ग¥यो । सोही वडाका ३८ वर्षीय रमेश कार्की घाँसदाउरा गर्न गएका बेला बाघको आक्रमणमा परे । केही समयपछि उनको कंकाल मात्र भेटिएको थियो । स्थानीयका अनुसार उनी पनि बाघको आक्रमणकै शिकार बनेका थिए ।
यी घटनापछि पुनः भदौ २२ गते आइतबार जीतपुरसिमरा–४ मा रहेको थानिमाई सामुदायिक वन र प्रगतिशील सामुदायिक वनको फायरलाइन क्षेत्रमा च्याउ टिप्न गएका छेवांग लामालाई बाघले आक्रमण गर्यो । घटनास्थलमै उनको ज्यान गयो ।
लगातार आक्रमणका कारण जीतपुरसिमरा क्षेत्रमा स्थानीयवासी अत्यन्तै त्रसित बनेका छन् । गाउँका अधिकांश मानिस दैनिक जीवन निर्वाहका लागि घाँस, दाउरा वा च्याउ लिन जंगल जाने बाध्यतामा हुन्छन । तर नरभक्षी बाघको शृंखलाबद्ध आक्रमणले उनीहरूलाई ठूलो जोखिममा पारेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
पर्सा राष्ट्रिय निकुञ्जले बाघको निगरानी गर्न तीन दिनदेखि दुई हातीसहित कर्मचारी र सुरक्षाकर्मी परिचालन गरेको छ । नरभक्षी बाघले आतंक मच्चाइरहेको स्थान राष्ट्रिय र सामुदायिक वन क्षेत्रभित्र पर्ने भएकाले डिभिजन वन कार्यालय बाराका कर्मचारी पनि सक्रिय छन् ।
यस घटनापछि नरभक्षी बाघ नियन्त्रणका लागि पर्सा राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय बारा, चितवनबाट आएका राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता संरक्षण केन्द्रका प्राविधिक टोली तथा विशेषज्ञ, नेपाल प्रहरी र नेपाली सेनासहितको संयुक्त टोली परिचालन गरिएको छ । डिभिजन वन कार्यालय प्रमुख राजिव झाका अनुसार बाघलाई नियन्त्रणमा लिन हात्ती प्रयोग गरी डार्टमार्फत बेहोस पार्ने योजना बनाइएको छ ।
नरभक्षी बाघ नियन्त्रण नभएसम्मका लागि वन क्षेत्रमा अस्थायी रूपमा प्रवेशमा रोक लगाइएको छ । पूर्वमा निजगढ नगरपालिकाको बकैया खोला, पश्चिममा होटैडादेखि वीरगञ्जको खडक खण्डसम्म, उत्तरमा मकवानपुरको सिमाना र दक्षिणमा कोल्हवी हुँदै बडरहर्वासम्मका वन क्षेत्रमा प्रवेश निषेध गरिएको छ। साथै, बारा भित्रका लोकमार्गमा सवारीसाधन रोक्न निषेध गरिएको छ । मोटरसाइकल एक्लै आवतजावत नगरी बस वा ट्रकसँगै यात्रा गर्न आग्रह गरिएको छ ।
यस्तै, जीतपुरसिमरा–५ का नगर प्रमुख राजन पौडेलले बाघ नियन्त्रणमा आउन नसक्दा स्थानीय सर्वसाधारण त्रासमा परेको बताए । उनका अनुसार यहाँका अधिकांश जनता कृषि पेसामा आबद्ध भएकाले घाँसदाउरा र च्याउ टिप्न जंगल जान बाध्य हुन्छन् । उनले मान्छे खान थालेको बाघलाई तत्काल नियन्त्रणमा लिन संघीय सरकारलाई आग्रह गर्दै हाललाई स्थानीयलाई जंगल नजान अपिल गरे ।
निकुञ्जको बाघ, हात्ती तथा अन्य जंगली जनावरको गतिविधिका कारण निजगढ नगरपालिका र कोल्हबी नगरपालिका पनि प्रत्यक्षरूपमा प्रभावित भएका छन् । निजगढ नगरपालिकाका ११ र १३ नम्बर वडा पूर्ण रूपमा जोखिममा छन, जहाँ बाघ, हात्ती तथा अन्य जंगली जनावरले बस्तीछेउको खेतबारी र सडक क्षेत्रमा प्रवेश गर्ने घटना बढेका छन् ।
काल्हबी नगरपालिकामा पनि जंगली जनावरको क्रियाकलाप बढ्दै गएको छ । स्थानीयका अनुसार बाघ तथा हात्ती खेतबारी, घरछेउको बाटो र नदीछेउमा नियमित रूपमा देखिन थालेका छन् । यसले दैनिक जीवन प्रभावित भएको छ । बालबालिका, महिला र वृद्धवृद्धा साँझ–बिहान घरबाहिर निस्कन डराउने गरेका छन् ।
निकुञ्ज नजिकका बासिन्दाले बाघसँग सहअस्तित्वमा बस्नुपर्ने अवस्था व्यहोर्दै आएका छन् । उनीहरूको भनाइमा बाघ संरक्षण आवश्यक भए पनि स्थानीयको जीवन सुरक्षा सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो ।
बाघ आक्रमणमा परी मृत्यु भएका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र बस्ती नजिक सुरक्षा व्यवस्था कडा गर्नुपर्ने माग स्थानीयले बारम्बार गर्दै आएका छन् । साथै, मानव बस्ती नजिक बाघको गतिविधि बढ्दै गएको भन्दै निकुञ्ज प्रशासन र सम्बन्धित निकायलाई थप सक्रिय बन्न पनि उनीहरूले आग्रह गरेका छन् ।