काठमाडौं, २२ भदौ - शेयरबजारमा घट्दोक्रमले आइतबार पनि निरन्तरता पाएको छ । कारोबार मापक नेप्से सरिसूचक ११.५२ अंकले घटेर २,७०८.२५ प्रतिशत घटेको छ । नेप्सेसँगै कारोबार रकममा पनि कमी आएकोछ । चार अर्ब ४० करोड २७ लाख ६७ हजार रुपैयाँ बराबरको एक करोड ११ लाख २४ हजार ८४५ कित्ता शेयर किनबेच भएको छ ।
कारोबार भएका २५२ कम्पनीमध्ये १७३ वटाको शेयरमूल्य घटेको छ भने ७९ वटाको बढेको छ । १९ वाणिज्य बैंकमध्ये १७ बैंकमा गिरावट आउँदा दुई वटाको बढेको छ । कारोबार भएका १५ विकास बैंकमध्ये ७ वटाको मूल्य बढेको छ भने ८ वटा घटेका छन् ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक ०.४९ प्रतिशत घटेर ४६७.५१ विन्दुमा झरेको छ । यसैगरी साधारण शेयर तर्फको फ्लोट सूचक ०.४१ प्रतिशत घटेर १८५.४४ र सेन्सिटिभ फ्लोट ०.४१ प्रतिशत घटेर १६०.१७ विन्दुमा कायम भएको छ ।
सूचीकृत १३ समूहमध्ये तीन वटा बढेका छन भने १० वटा घटेका छन् । फाइनान्स कम्पनी ०.१० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.०४ र म्युचुअल फण्ड ०.४३ प्रतिशत बढेका छन् । सबैभन्दा धेरै जलविद्युत् समूह ०.६८ प्रतिशत घटेको छ ।
त्यसपछि वाणिज्य बैंकहरूको कारोबार मापन गर्ने बैंकिङ समूह ०.६५ प्रतिशत, लगानी ०.५२, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.४०, अन्य ०.३२, व्यापार ०.२४, लघुवित्त र निर्जीवन बीमा ०.१८ र विकास बैंक समूह ०.०८ प्रतिशत घटेका छन् ।
हिमस्टार ऊर्जा कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशत बढेको छ । सर्वाधिक मूल्य बढ्ने पाँच कम्पनीमा हिमस्टारसँगै युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, समृद्धि फाइनान्स कम्पनी र पिपल्स पावर छन् ।
पञ्चकन्या माई हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.६२ प्रतिशत घटेको छ । सबैभन्दा धेरै मूल्य घट्ने पाँच कम्पनीमा पञ्चकन्यासँगै विकास हाइड्रोपावर, ओरियन्टल होटल्स, माथिल्लो मैलुङ खोला जलविद्युत र सयपत्री हाइड्रोपावर छन् ।
युनियन आइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै २९ करोड ९९ लाख रुपैयाँको भएको छ । त्यसपछि नेपाल रिइन्स्योरेन्सको २७ करोड ४६ लाख रुपैयाँ, एभरेष्ट बैंकको २२ करोड १५ लाख, हिमालयन डिस्टिलरीको १६ करोड ५ लाख र युनिभर्सल पावरको १३ करोड १ लाख रुपैयाँको शेयर कारोबार भई सर्वाधिक कारोबार हुने पाँच कम्पनीमा छन् ।
यसदिन लगानीकर्ताले १९ अर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् । गत शुक्रबार ४५ खर्ब ४६ अर्ब रहेको बजार पुँजीकरण आइतबार ४५ खर्ब २७ अर्ब रुपैयाँमा झरेको छ । यस्तै साधारण शेयरतर्फको बजार पुँजीकरण पनि एक दिनमा ६ अर्ब रुपैयाँ घटेर १५ खर्ब ३४ अर्ब रुपैयाँ कायम भएको छ ।
पछिल्लो समय अर्थतन्त्रका सूचकहरू सबै ठिक छन, बैंकको ब्याजदर पनि घटेको छ, निक्षेप प्रसस्त बढेको छ तर लगानीकर्तामा आत्मविश्वास बढ्न सकेको छैन । यहीकारण बजारमा दबाब परिरहेको विश्लेषकहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति तर्जुमा गरेपछि डेढ महिना अघि तीन हजार विन्दुभन्दा माथि पुगेको नेप्से अहिले घटेर २७०० को लाइनमा झरेको छ । छोटो समयमा कमाएका लगानीकर्ताले नाफा सुरक्षित गर्न लाग्दा बजारमा बिक्रीचाप बढी परेको छ । शेयरको बिक्री बढ्दा मूल्य पनि घट्ने गर्छ । अहिले बजारमा यस्तै प्रवृति देखिएको छ ।