काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय तहमा सञ्चालन गर्दै आएको ‘बुक फ्री फ्राइडे’ (पुस्तकरहित शुक्रबार) कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । तर, सरकारले आइतबारसहित सातामा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेपछि बिद्यालयहरुलाई बालबालिकाको पाठ्यक्रमको कोर्स सक्नै गाह्रो हुने भएको छ । त्यसैले शुक्रबारका लागि महानगरको कार्यक्रमलाई कुन रुपमा अघि बढाउने भन्नेमा अन्योल छ ।
यसका लागि महानगरले विद्यार्थी, अभिभावकसँगै सम्बद्ध सरोकारवालासँग परामर्श गरेको छ । महानगरको शिक्षा विभागले कार्यक्रमको समीक्षा तथा आगामी नीति निर्माणका लागि आयोजना गरेको कार्यशालामा सहभागी प्रधानाध्यापक, शिक्षक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले कार्यक्रम प्रभावकारी रहेको निष्कर्ष राखेका छन् ।
महानगरपालिकाले सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ र कक्षा ९ तथा १० मा ‘शिक्षामा सीप’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । विद्यार्थीहरूको रुचि, विद्यालयको वातावरण, शिक्षक तथा अभिभावकको सुझावका आधारमा विषय र उपसमूह निर्धारण गरी कार्यक्रम सञ्चालन गरिएको महानगरले जनाएको छ । कार्यक्रमबाट प्राप्त उपलब्धिको मूल्यांकन गर्ने, सिकाइलाई संस्थागत स्वरूप दिने तथा आगामी शैक्षिक सत्रका नीति तथा कार्यक्रम तय गर्न आवश्यक सुझाव संकलन गर्ने उद्देश्यले समीक्षा कार्यशाला आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाको स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जनले कार्यान्वयन तहका अनुभवलाई आधार बनाएर व्यावहारिक नीति निर्माण गरिने बताए । उनले विगतका कार्यक्रमका सकारात्मक र कमजोर पक्षको समीक्षा गरेर कार्यान्वयनयोग्य योजना बनाउने तयारी भइरहेको जानकारी दिए । ‘नीति बनाउँदा कार्यान्वयनकर्ताको क्षमता र व्यावहारिक अवस्था बुझ्न आवश्यक हुन्छ,’ उनले भने, ‘त्यसैका आधारमा नीति र कार्यक्रम तय गरियो भने नतिजा प्रभावकारी आउँछ ।’
शिक्षा अधिकारी नमराज ढकालका अनुसार समीक्षा कार्यशालामा वडाहरूलाई दुई समूहमा विभाजन गरेर सिर्जनात्मक सिकाइ र शिक्षामा सीप कार्यक्रमबारे छुट्टाछुट्टै सुझाव संकलन गरिएको छ । विगतका कार्यक्रमले विद्यार्थीमा गहन सोच, रचनात्मकता, सञ्चार क्षमता तथा सहकार्यको अभ्यास विकास गराएको प्रतिक्रिया प्राप्त भएको उनले बताए । प्राप्त सुझावहरुको विश्लेषणपछि आगामी कार्यक्रमको ढाँचा तय गरिने उनले जानकारी दिए ।
कार्यशालामा प्रस्तुतीकरण गर्दै शिक्षा अधिकृत केशव ज्ञवालीले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ र शिक्षा नियमावली २०५९ ले विद्यार्थीलाई व्यावहारिक तथा रोजगारमुखी सीपसँग जोड्नुपर्ने मर्म बोकेको उल्लेख गरे । उनले संघीय, प्रदेश र स्थानीय सरकारसँगै सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरेर महानगरले सञ्चालन गरेको पुस्तकरहित शुक्रबार कार्यक्रम रोजगारउन्मुख शिक्षाको प्रभावकारी अभ्यास भएको बताए । शनिबार र आइतबार विद्यालय बिदा दिने नेपाल सरकारको पछिल्लो निर्णयपछि कार्यक्रम सञ्चालनको ढाँचा पुनरावलोकन गर्नुपर्ने अवस्था आएको पनि उनले उल्लेख गरे ।
गत शैक्षिक सत्रमा सिर्जनात्मक सिकाइअन्तर्गत २३ वटा विषयमा ७०५ उपसमूह गठन गरी गतिविधि सञ्चालन गरिएको थियो । वरिष्ठ विद्यालय निरीक्षक विनिता महतका अनुसार वातावरण र बालबालिका (वाबा) उपसमूहमा सबैभन्दा धेरै विद्यार्थीको सहभागिता देखिएको थियो । त्यसपछि स्टीम (विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित) तथा नृत्य विषयमा विद्यार्थीको आकर्षण बढी थियो । वाबाअन्तर्गत ८२, स्टीममा ७४ र नृत्यमा ६७ उपसमूह गठन भएका थिए । धाः बाजा वादनमा भने कुनै पनि उपसमूह गठन हुन सकेन । डम्फु, हस्तकला, बाँसुरी र कथावाचनजस्ता विषयमा न्यून सहभागिता देखिएको थियो ।
सिर्जनात्मक सिकाइका विषयहरूमा स्काउट, व्यक्तित्व विकास, योग तथा ध्यान, विपद् व्यवस्थापन, म्युरल आर्ट, कोडिङ, संस्कृति र सम्पदा, चलचित्रमार्फत सिकाइ, गायन, मादल, धिमे, नाट्यलगायत समावेश थिए । यस्तै ‘शिक्षामा सीप’ कार्यक्रम अन्तर्गत ब्युटिसियन एण्ड हेयर स्टाइल, कुलिनरी आट्र्स, मोबाइल तथा इलेक्ट्रोनिक्स, फेसन डिजाइन, हाउस वायरिङ, प्लम्बिङ, कार्पेन्ट्री, कृषि तथा सहरी खेतीजस्ता १० विषय समेटिएका थिए ।
महतका अनुसार शिक्षामा सीपतर्फ ब्युटिसियन एण्ड हेयर स्टाइलमा सबैभन्दा बढी उपसमूह गठन भएका थिए भने कुलिनरी आट्र्समा ४१ र मोबाइल तथा इलेक्ट्रोनिक्समा २७ उपसमूह गठन भएका थिए । इन्डिजिनस तथा कन्टेम्पोररी मेसिनरी–डिजास्टर रेडीनेस विषयमा भने कुनै पनि उपसमूह गठन हुन सकेन । कृषि तथा सहरी खेती, कार्पेन्ट्री र प्लम्बिङ विषयमा न्यून सहभागिता देखिएको थियो ।
यी कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले गत वर्ष ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सिर्जनात्मक सिकाइका लागि ३ करोड, शिक्षामा सीप कार्यक्रमका लागि १ करोड ५० लाख, संगीत प्रशिक्षणका लागि सांस्कृतिक संस्थानसँग सहकार्य गर्न ५० लाख तथा म्युरल आर्ट र स्केचिङ–स्कल्प्चर प्रशिक्षणका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्न १ करोड रुपैयाँ छुट्याइएको थियो । महानगरले आगामी वर्ष पनि विद्यार्थीको रुचि र प्राप्त नतिजाका आधारमा कार्यक्रमलाई परिमार्जनसहित निरन्तरता दिने संकेत गरेको छ ।