नेभिगेशन
विश्व

इरान र पाकिस्तानबाट अफगानीहरूको फिर्ती तीव्र

न्यूयोर्क, (एएफपी) । संयुक्त राष्ट्रसङ्घले सन् २०२६ को अन्त्यसम्म करिब ३० लाख अफगानी नागरिक स्वदेश फर्किने अनुमान गरेको छ । फर्किनेहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सन् २०२३ को सेप्टेम्बरयता करिब ५९ लाख अफगानी नागरिक छिमेकी देश इरान र पाकिस्तानबाट अफगानिस्तान फर्किसकेका छन् । यो संख्या अफगानिस्तानको कुल जनसंख्याको करिब १० देखि १२ प्रतिशत मानिन्छ ।

प्रतिवेदनअनुसार सन् २०२६ को पहिलो चार महिनामै करिब ६ लाख अफगानी इरान र पाकिस्तानबाट फर्किएका छन् । आगामी आठ महिनामा इरानबाट १७ लाख र पाकिस्तानबाट ११ लाख नागरिक फर्किने अनुमान गरिएको छ ।

फर्किने अधिकांश नागरिक दक्ष कामदार रहेका छन् । उनीहरू धेरैजसो छिमेकी देशमै जन्मिएका वा लामो समयदेखि आफ्नो समुदायभन्दा टाढा बस्दै आएका कारण आफ्ना मूल समुदायसँग कमजोर सम्बन्ध रहेको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय संयोजक ताजुद्दिन ओयेवालेले फर्किनेहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका भएकाले उनीहरू सबैभन्दा जोखिममा रहेको बताए ।

संयुक्त राष्ट्रसङ्घ र विभिन्न गैरसरकारी संस्थाहरूले इरान र पाकिस्तानसँगका मुख्य सीमा नाकामा तत्काल राहत तथा उद्धार सहयोगका लागि १० करोड डलरभन्दा बढी सहायता आवश्यक रहेको बताएका छन् ।

प्रतिवेदनमा पुनःस्थापनाका लागि करिब ४२ करोड डलर आवश्यक पर्ने उल्लेख गरिएको छ । साथै, मानवीय सहायता रकममा ठूलो गिरावट आएको भन्दै सन् २०२४ मा १ अर्ब ६२ करोड डलर रहेको सहायता सन् २०२५ मा घटेर ९१ करोड डलरमा पुगेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्