नेभिगेशन
नेपाल

भैरहवा, बुटवल र इटहरीमा निषेधाज्ञा जारी

सुनसरी, २३ भदौ - जिल्ला प्रशासन कार्यालय सुनसरीले आज अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि इटहरी उपमहानगरपालिकामा निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेको छ ।  

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरिएको  सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । 

उत्तरतर्फ इटहरीस्थित नेपाली सेनाको ब्यारेकदेखि पारुहाङ चोकसम्म, पूर्वमा मिलन चोकदेखि जुट विकाससम्म, दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,  यातायात व्यवस्था कार्यालय, साथी पेट्रोलपम्प र पुष्पलाल चोक हुँदै बसपार्क क्षेत्रसम्म र पश्चिमतर्फ कलङ्की मोडदेखि जनताबस्तीसम्मका क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट गरेको छ । 

कर्फ्यु जारी गरिएका क्षेत्रमा कुनै पनि किसिमका सभा, जुलुस, भेला, बैठक, प्रदर्शन, घेराउ गर्न नपाइने कानुनी व्यवस्था छ । इटहरी उपमहानगरपालिकामा भ्रष्टाचार भएको भन्दै नाराबाजीसहित प्रदर्शनमा उत्रिएका जेन–जी पुस्ता र प्रहरीबीच यसअघि झडप भएको थियो । 

प्रदर्शनले उग्ररुप लिन थालेपछि स्थिति नियन्त्रण लिनका लागि प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।
 
झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका छ जना र प्रदर्शनकारीतर्फ केही व्यक्ति घाइते भएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए । भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै बिहान ११ः०० बजेदेखि यहाँ सुरु भएको प्रदर्शन अनियन्त्रित भएपछि बाध्य भई केही संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

रुपन्देहीको भैरहवा र बुटवलमा पनि निषेधाज्ञा जारी

यसैगरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि भैरहवा र बुटवलमा निषेधाज्ञा आदेश जारी गरेको छ । आज अपराह्न ४ः०० बजेदेखि रातिको १०ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि भैरहवाको पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्धचोक र दक्षिणमा मेउडिहवासम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा उल्लेख छ । 

यसैगरी बुटवलमा पूर्वतर्फ पेट्रोलपम्प धागो कारखाना, पश्चिममा बेलबास चोक, उत्तरमा चिडिया खोला र दक्षिणमा मङ्गलापुर तथा बुटवल भैरहवा सडकको दाँयाबाँया १०० मिटरसम्म निषेधाज्ञा लगाइएको आदेशमा उल्लेख छ । 

उल्लेखित निषेधाज्ञा लगाइएको क्षेत्रमा कुनै पनि प्रकारको आवातजावत, भेला, जुलुस प्रदर्शन, बैठक, घेराउ गर्न प्रतिबन्ध लगाइएको छ ।

- रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्