नेभिगेशन
विश्व

सनस्क्रिन थोरै मात्र सुरक्षित र प्रभावकारी

न्यूयोर्क, (सीएनएन)  । गर्मी बढ्दै जाँदा सनस्क्रिनको प्रयोग बढाउने समय आएको छ  । तर पसलमा पाइने अधिकांश सनस्क्रिन सुरक्षित र प्रभावकारी दुवै नहुने एक नयाँ प्रतिवेदनले देखाएको छ ।
गैरनाफामूलक स्वास्थ्य तथा वातावरणीय संस्था इन्भाइरोन्मेन्टल वर्किङ ग्रुपले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार २,७८४ वटा सनस्क्रिन उत्पादनमध्ये केवल ५५० वटा (अर्थात् करिब २० प्रतिशत) मात्र सुरक्षित र प्रभावकारी देखिएका छन् ।
२०औं संस्करणको ‘२०२६ गाइड टु सनस्क्रिन्स’ मे १९ मा सार्वजनिक गरिएको हो । यसमा बालबालिकाका लागि उत्तम सनस्क्रिन, कम मूल्यमा राम्रो सुरक्षा दिने उत्पादन तथा खेलकुद वा समुद्री किनारमा प्रयोग गर्न मिल्ने सनस्क्रिनको सूची समावेश गरिएको छ ।
यसका साथै दैनिक प्रयोगका लागि सूर्य सुरक्षा तŒव भएको मोइस्चराइजर र सूर्य सुरक्षा तŒवयुक्त उत्कृष्ट ओठ मल्हमको सूची पनि समावेश गरिएको छ ।
इन्भाइरोन्मेन्टल वर्किङ ग्रुपले सिफारिस गरेका सनस्क्रिनले दुवै प्रकारका पराबैंगनी किरणबाट सुरक्षा दिनुपर्छ । यी किरणले डिएनए क्षति पु¥याउनुका साथै छालालाई छिटो बुढ्यौलीतर्फ लैजान्छन् । सासमार्फत शरीरमा पुग्ने जोखिमका कारण स्प्रे र पाउडर प्रकारका सनस्क्रिन सूचीमा राखिएका छैनन् । उत्पादक कम्पनीहरूले ५० भन्दा माथिको सूर्य सुरक्षा तŒव दाबी गर्न वा ‘पूर्ण रूपमा पानी नछिर्ने’जस्ता संघीय रूपमा प्रतिबन्धित विज्ञापन दाबी गर्न पाउँदैनन् ।
धेरै उपभोक्ता १०० भन्दा माथिको सूर्य सुरक्षा तŒव भएका महँगा उत्पादनतर्फ आकर्षित हुन्छन्, जसले ९९ प्रतिशत पराबैंगनी किरण रोक्ने दाबी गर्छन् । तर प्रतिवेदनअनुसार ५० भन्दा माथिको सूर्य सुरक्षा तŒव भएको सस्तो सनस्क्रिनले पनि ९८ प्रतिशत किरण रोक्न सक्छ ।
कतिपय उत्पादनमा सूर्य सुरक्षा तŒवको दाबी बढाइचढाइ गरिएको हुन सक्छ । वैज्ञानिकहरूको अध्ययनले औसतमा सनस्क्रिनले लेबलमा दाबी गरिएको सुरक्षाको केवल चौथाइ र अर्को प्रकारको किरणविरुद्ध ५९ प्रतिशत सुरक्षा मात्र प्रदान गरेको देखाएको छ ।
नयाँ गाइडमा सिफारिस गरिएका सनस्क्रिनमा भिटामिन ए को एक रूप प्रयोग गरिएको छैन । साथै क्यान्सर, छाला जलन, एलर्जी, प्रजनन समस्या, बाल विकासमा असर वा स्नायु प्रणालीमा हानि पु¥याउन सक्ने रसायनहरू पनि टारिएका छन् ।
सिफारिस गरिएका ५५० उत्पादनमध्ये ४९७ वटा मुख्यतः खनिजमा आधारित छन् । यस्ता सनस्क्रिन छालामाथि तह बनाएर घामका किरण परावर्तित गर्छन् र शरीरभित्र सोसिँदैनन् । त्यसैले छाला जलन वा विषाक्तताको जोखिम कम हुन्छ ।
अमेरिकी खाद्य तथा औषधि प्रशासनले जिंक अक्साइड र टाइटेनियम डाइअक्साइड नामका दुई खनिजलाई सनस्क्रिनमा प्रयोग गर्न अनुमति दिएको छ । पहिले यस्ता सनस्क्रिनले छालामा सेतो तह छोड्थे, तर अहिले नयाँ प्रविधि र रङ मिलाइएका विकल्पका कारण त्यो समस्या धेरै घटेको विज्ञहरू बताउँछन् ।
रासायनिक सनस्क्रिन भने छालाभित्र सोसिने गरी बनाइन्छ । यसले पराबैंगनी किरणलाई ऊर्जा स्वरूप सोसेर तापका रूपमा बाहिर निकाल्छ ।
दशकौंसम्म यी रसायन सुरक्षित मानिन्थे । तर सन् २०१९ मा अमेरिकी वैज्ञानिकहरूले सर्वाधिक प्रयोग हुने ६ वटा रसायन एक दिनमै असुरक्षित स्तरमा मानव रक्तप्रवाहमा प्रवेश गर्न सक्ने पत्ता लगाए ।
यी रसायन सनस्क्रिन प्रयोग बन्द गरेपछि पनि दिनौंसम्म रगतमा रहन्छन् । विशेषगरी दुई प्रकारका रसायन दुई साताभन्दा बढी समयसम्म सुरक्षित सीमाभन्दा माथि भेटिएका थिए ।
युरोपेली संघले केही रसायनलाई हार्मोन प्रणालीमा असर पार्ने सम्भावित तŒवका रूपमा नियमन गरिरहेको छ । यस्ता रसायनले विकास, प्रजनन, स्नायु तथा प्रतिरक्षा प्रणालीमा असर पु¥याउन सक्छन् ।
पर्यावरणीय असरका कारण केही रसायनलाई हवाई, फ्लोरिडाको की वेस्ट, अमेरिकी भर्जिन टापु, थाइल्यान्डलगायत क्षेत्रमा प्रतिबन्ध लगाइएको छ । अध्ययनहरूले यसले प्रवाल चट्टान नष्ट हुनुका साथै समुद्री जीवमा आनुवंशिक क्षति पु¥याउने देखाएका छन् ।
पछिल्ला १९ वर्षमा यस्ता रसायन प्रयोग गर्ने उत्पादन ७० प्रतिशतबाट घटेर ५ प्रतिशतमा झरेको प्रतिवेदनले देखाएको छ । यद्यपि, रासायनिक आधारमा बनेका केवल ५३ वटा सनस्क्रिन मात्र कम जोखिमयुक्त ठहरिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्