नेभिगेशन
खेलकुद

उत्तर कोरियाली महिला टोली च्याम्पियन्स लिगको फाइनलमा

नाएगोह्याङ महिला एफसीले दुर्लभ दक्षिण कोरिया भ्रमणका क्रममा सुवन एफसी महिलामाथि ऐतिहासिक २–१ को जित निकाल्दै फाइनलमा स्थान बनाएको छ । अब उसले टोकियो भेर्डी बेलेजासँग २३ मेमा प्रतिस्पर्धा गर्नेछ ।
आठ वर्षपछि दक्षिण कोरिया भ्रमण गर्ने उत्तर कोरियाको पहिलो खेल टोलीले नाएगोह्याङ महिला एफसीमार्फत एसियाली महिला च्याम्पियन्स लिगको फाइनल यात्रा तय गरेको हो । टोलीले सुवन एफसी महिलालाई २–१ ले पराजित ग¥यो ।
बुधबार सुवनमा परेको मुसलधारे वर्षाबीच खेलिएको कडा प्रतिस्पर्धात्मक सेमिफाइनलमा नाएगोह्याङले पछि परेको अवस्था उल्टाउँदै दक्षिण कोरियाली प्रतिद्वन्द्वीलाई हरायो । खेल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो र कुनै ठूलो विवाद देखिएन ।
खेल सकिन १० मिनेटभन्दा केही बढी बाँकी रहँदा सुवनकी कप्तान जी सो–युनले पेनाल्टी गुमाइन् ।
अन्तिम सिट्टी बज्नासाथ उत्तर कोरियाली खेलाडीहरू एकअर्कालाई अँगालो हाल्दै भावुक बने भने सुवनका खेलाडी मैदानमै निराश भएर ढले ।
दोस्रो हाफमा बराबरी गोल गर्ने नाएगोह्याङकी चोए कुम ओकले भनिन्, ‘हामीले आफ्नो टोलीको क्षमतामाथि विश्वास गरेका थियौं । यदि हामी सबै एकजुट रह्यौँ भने सेमिफाइनल होस् वा फाइनल, कुनै समस्या हुनेछैन ।’
उत्तर कोरियाली टोली शनिबार हुने फाइनलसम्म दक्षिण कोरियामै बस्नेछ, जहाँ उसले यही रंगशालामा जापानको टोकियो भेर्डी बेलेजासँग खेल्नेछ ।
चोएले भनिन्, ‘हरेक खेलाडीको भूमिका महत्वपूर्ण हुन्छ, तर पहिलो हाफमा हाम्रो खेल राम्रो हुन सकेन । दोस्रो हाफमा प्रवेश गरेपछि हामीले आफ्नो लय समात्यौं र त्यसपछि खेल हाम्रो पक्षमा राम्रोसँग बग्यो ।’
दुर्लभ उत्तर–दक्षिण कोरिया सेमिफाइनलप्रति दर्शकको चासो निकै उच्च थियो । गत साता टिकट बिक्री खुला भएको केही घण्टामै ७ हजार ८७ वटा टिकट बिक्री भएका थिए ।
सियोलको एकीकरण मन्त्रालय समर्थित नागरिक समूहका ठूलो संख्याका दर्शक दुवै टोलीलाई समर्थन गर्न रंगशालामा उपस्थित थिए, यद्यपि उनीहरू प्रायः मौन थिए ।
खेल हेर्न पुगेकी ली नामकी महिलाले एएफपीसँग भनिन्, ‘म दुवै टोलीलाई समर्थन गर्छु, तर यति टाढाबाट यहाँसम्म आएका कारण म अलि बढी उत्तर कोरियालाई समर्थन गरिरहेकी छु ।’
सुवनका समर्थकहरूले ढोल बजाउँदै आफ्नो टोलीको समर्थनमा नाराबाजी गरे ।
२९ वर्षीया सुवन समर्थक क्वेओन युन–योङले भनिन्, ‘प्रतिद्वन्द्वी उत्तर कोरिया होस् वा अन्य कुनै देश, हामी जित निकालेर फाइनल पुग्न चाहन्छौं र हाम्रो महिला फुटबल टोली कति बलियो छ भन्ने देखाउन चाहन्छौं ।’
उत्तर कोरियालीहरूलाई सामान्यतया दक्षिण कोरियामा प्रवेश अनुमति नहुने भएकाले आधिकारिक अवे समर्थक थिएनन् । प्रतियोगिताको समूह चरणमै यी दुई टोलीको भेट भएको थियो, जहाँ नाएगोह्याङले ३–० को जित निकालेको थियो ।
पूर्व चेल्सी मिडफिल्डर जीले सुवनले सेमिफाइनल निकै शारीरिक संघर्षपूर्ण हुने अपेक्षा गरेको र त्यसका लागि आफूहरू तयार रहेको बताइन् । दुवै टोलीले सुरुदेखि नै अवसर सिर्जना गर्दै खेललाई तीव्र र निष्पक्ष बनाए ।
पाँचौँ मिनेटमा नाएगोह्याङको एक गोल अफसाइडका कारण रद्द भयो भने पहिलो हाफको मध्यतिर सुवनकी जापानी स्ट्राइकर हारुही सुजुकीको हेडर पोस्टमा लागेको थियो ।
४९औं मिनेटमा नाएगोह्याङको रक्षा पंक्ति अलमलमा परेपछि अवसर सदुपयोग गर्दै सुजुकीले सुवनलाई अग्रता दिलाइन् । तर त्यसको छ मिनेटपछि चोएले फ्रिकिकबाट हेडर गोल गर्दै उत्तर कोरियाली टोलीलाई बराबरी दिलाइन् ।
त्यसपछि ६७औं मिनेटमा स्ट्राइकर किम क्योङ योङले अव्यवस्थित आक्रमणलाई हेडरमार्फत गोलमा परिणत गर्दै नाएगोह्याङलाई अग्रता दिलाइन् । भिएआर समीक्षापछि सुवनले पेनाल्टी पायो, तर जीको प्रहार गोलकिपर गलत दिशामा हाम्फालेको अवस्थामा पनि पोस्टबाहिर गयो । यसअघि भएको अर्को सेमिफाइनलमा टोकियोले अस्ट्रेलियाको मेलबर्न सिटीलाई ३–१ ले हराएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्