नेभिगेशन
विश्व

क्याम्पस परिसरमा युक्रेनी आक्रमण, छ जनाको मृत्यु, कैयौँ घाइते

मस्को। रुसको कब्जामा रहेको लुगान्स्कको एक क्याम्पसको छात्रावासमा शुक्रबार बिहान युक्रेनी ड्रोनद्वारा आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको रूसी अधिकारीहरूले बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार दिउँसोसम्म छ जनाको मृत्यु भएको र र अन्य १५ जना हराइरहेको बताएका छन् ।
पुटिनले आफ्नो रक्षा मन्त्रालयलाई विस्तृत विवरण नदिई प्रतिक्रियाका लागि आदेश दिएको बताइएको छ।
लुगान्स्क क्षेत्र पूर्वी युक्रेनमा छ तर लगभग पूर्ण रूपमा रूसले कब्जा गरेको छ । रूसले लुगान्स्कलाई आफ्नो भएको दाबी गर्छ।
यस क्षेत्रका रूसले नियुक्त गरेको गभर्नरले जारी गरेका तस्वीरहरूमा स्टारोबिल्स्क शहरको एक कलेजको झ्याल फुटेको देखाइएको छ र ती मध्ये एकमा आगोको ज्वाला देखिएको छ।
समाचार तयार गर्दासम्म युक्रेनबाट कुनै प्रतिक्रिया आइसकेको छैन।
मस्कोका गभर्नर लियोनिद पासेच्निकले रुसको म्याक्स मेसेन्जरमा जारी पोस्टमा भनेका छन्, “शत्रुको ड्रोनद्वारा ‘स्टारोबेल्स्क प्रोफेसनल कलेज’को शैक्षिक भवन र छात्रावासमा आक्रमण भएको छ ।”

उनले भने, “आक्रमणको समयमा छात्राबासमा १४ देखि १८ वर्ष उमेर समूहका ८६ जना बालबालिका थिए ।
स्टारोबिल्स्क पूर्वी युक्रेनको सीमाबाट करिब ६५ किलोमिटर टाढा रूसी क्षेत्रमा रहेको छ ।
रूसले युक्रेनविरूद्ध पूर्ण मात्रामा आक्रमण सुरु गरेको केही समयपछि रूसी सेनाले सन् २०२२ मा स्टारोबिल्स्क शहर कब्जा गरेको थियो ।
दुर्घटनाग्रस्त कलेजको बारेमा तत्काल जानकारी पुष्टि गर्ने एएफपीको प्रयास तत्काल सफल हुन सकेन ।
–कुनै उदारता नराखिने चेतावनी–
राष्ट्रपति पुटिनले विद्यार्थीहरु सुतिरहेका बेला आक्रमण भएको बताएका छन् ।
उनले टेलिभिजनमार्फत गरेको टिप्पणीमा भने, “भग्नावशेषबाट छ जनाको मृत शरीर बाहिर निकालिएको छ वेपत्ताहरूको खोजी कार्य जारी रहेको छ । घटनामा कम्तीमा ३९ जना घाइते भएको र १५ जना बेपत्ता रहेको अहिलेसम्म थाहा भएको छ।”
“छात्रावास नजिकै कुनै सैन्य सुविधाहरू, विशेष सेवा वा सम्बन्धित अन्य सेवाहरू छैनन्,” उनले थपे ।
रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जिम्मेवार व्यक्तिहरूले ‘कडा सजायको सामना गर्नुपर्ने र ‘त्यहाँ कुनै उदारता नहुने’ बताएको छ ।
रुसी अनुसन्धान समितिले युक्रेनी सेनाले भवनमा धेरै ड्रोन प्रहार गरेको आरोप लगाएको छ।
आक्रमणका कारण पाँचतले भवन भत्किएर दुई तलामात्र बाँकी रहेकोे बताइएको छ ।
नागरिकलाई निशाना बनाएको अस्वीकार गर्ने युक्रेनले आफ्नै जनतामाथि रुसी आक्रमणको बदलामा रुसको नियन्त्रणमा रहेको क्षेत्रमा नियमित रूपमा ड्रोन प्रहार गर्ने गरेको छ ।
युक्रेनमा संयुक्त राष्ट्रसङ्घ मानव अधिकार अनुगमन नियोगले सन् २०२२ देखि ६० हजारभन्दा बढी नागरिकको हताहत भएको तथ्याङ्क सङ्कलन गरिएको र यसमध्ये लगभग ९० प्रतिशत युक्रेनी क्षेत्रका नागरिक भएको बताइएको छ। रासस/एएफपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्