नेभिगेशन
प्रदेश

वीरगञ्जमा पनि चर्कियो आन्दोलन

वीरगञ्ज, २३ भदौ - नेपाल सरकारले २६ वटा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि सुरु भएको जेनजी पुस्ताको आन्दोलन वीरगञ्जमा पनि चर्किएको छ । सोमबार साँझ सयौं युवा सरकारविरुद्ध सडकमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै कर्फ्यु आदेशसमेत जारी गरेको छ । 

वीरगञ्जको मुख्य चोकमा युवा प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको पुतला दहन गर्नुका साथै ट्राफिक प्रहरीको आइल्यान्डमा आगजनी गरे । प्रदर्शन उग्र बनेपछि केहीबेर प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले ३ र सशस्त्र प्रहरीले २ राउण्ड अश्रुग्यास प्रहार गरेको पर्साका एसपी गौतम मिश्रले जानकारी दिए । 

झडपमा परी तीन जना सुर क्षाकर्मी र एक जना प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शन चर्किएपछि पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्जका चार स्थानमा सोमबार राति ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

कर्फ्यु अवधिमा केवल सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, दमकल, एम्बुलेन्स, फोहोर र दूध बोक्ने सवारी साधन तथा पूर्व निर्धारित परीक्षा दिने विद्यार्थीहरूलाई मात्र आवतजावत अनुमति दिइने प्रशासनले जनाएको छ ।

प्रदर्शनमा सहभागी एक युवाले भने, ‘हामी सरकारको अभिव्यक्ति नियन्त्रणको प्रयास र चरम भ्रष्टाचारविरुद्ध उभिएका हौं । सञ्जाल बन्द गरेर हाम्रो आवाज थुन्न
खोजिँदैछ, तर हामी चुप लाग्दैनौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्