नेभिगेशन
विश्व

मध्यपूर्व द्वन्द्वले किसानमाथि दबाब, खाद्य मूल्य अझै महँगिने

ब्रसेल्स । ब्रसेल्सले मलको आपूर्ति भण्डारण गर्ने र युरोपेली उत्पादन बढाउने सम्भावनाबारे अध्ययन गर्ने भएको छ । मध्यपूर्वमा चर्किएको युद्धले किसानमाथि दबाब बढाएको र युरोपमा खाद्य मूल्य थप बढ्ने जोखिम सिर्जना गरेको भन्दै यस्तो कदम चाल्न लागिएको हो ।
युरोपेली आयोगले ‘महŒवपूर्ण मल’का लागि तयारीका विकल्पहरूको मूल्याङ्कन गरिने जनाएको छ । यसअन्तर्गत सदस्य राष्ट्रहरूलाई मौसमी वा न्यूनतम भण्डार राख्न बाध्य पार्ने, साथै मल र त्यसका कच्चा पदार्थको संयुक्त खरिद प्रणाली लागू गर्ने विषय पनि समावेश हुन सक्छ ।
यो कदम बालीका लागि आवश्यक पोषकतŒवको उच्च मूल्य नियन्त्रण गर्न र आपूर्ति सुरक्षित गर्न आयोगले सार्वजनिक गरेको प्याकेजअन्तर्गतका विभिन्न उपायहरूमध्ये एक हो ।
योजना सार्वजनिक गर्दै कृषि आयुक्त क्रिस्टोफ ह्यान्सेनले भने, ‘खाद्य सुरक्षा मल सुरक्षाबाट सुरु हुन्छ । युरोपले आफ्नो कृषि टिकाइराख्न आवश्यक पोषकतŒवका लागि अरूमाथिको निर्भरता घटाउँदै थप उत्पादन गर्नुपर्छ ।’
द्वन्द्व सुरु हुनुअघि विश्वव्यापी रूपमा कारोबार हुने मलको करिब एकतिहाइ भाग होर्मुज जलडमरूमध्य हुँदै ओसारपसार हुने गथ्र्यो । त्यसैले इरानविरुद्धको अमेरिकी–इजरायली युद्धका कारण आपूर्ति शृंखला अवरुद्ध हुने जोखिम बढेको छ ।
नाइट्रोजनमा आधारित मलको मूल्य गत महिना सन् २०२४ को औसतभन्दा करिब ७० प्रतिशत बढी पुगेको थियो । मल उत्पादन लागतको करिब ८० प्रतिशत हिस्सा ग्यासले ओगट्ने भएकाले ग्यासको मूल्यवृद्धिले यसको असर अझ बढाएको छ ।
युरोपेली अधिकारीहरू तत्काल खाद्य मूल्यमा ठूलो असर पर्नेबारे चिन्तित छैनन् । तर किसानहरूले इरान युद्धअघि किनेको मलको भण्डार वर्षको अन्त्यसम्म सकिन सक्ने चेतावनी दिएका छन् ।
मलको मूल्य विशेषगरी अन्नबाली किसान र खाद्य उत्पादन क्षेत्रमा महत्त्वपूर्ण हुन्छ । उच्च मूल्यले खाद्य उत्पादक र उपभोक्तामाथि थप दबाब सिर्जना गर्न सक्छ । साथै सार्वजनिक वित्त र राजनीतिक नेतृत्वका लागि पनि जटिल चुनौती खडा हुन सक्छ ।
कोभिड महामारी, युक्रेन युद्ध र मध्यपूर्व तनावका कारण विश्व व्यापार प्रणालीको कमजोरी उजागर भएपछि सरकारहरूले खाद्य तथा कृषि सामग्रीको आपूर्ति शृंखलालाई राष्ट्रिय सुरक्षासँग जोडेर हेर्न थालेका छन् । त्यसकै परिणामस्वरूप रणनीतिक भण्डारणतर्फ झुकाव बढेको हो ।
उत्तरी युरोपका केही देशहरूले पहिले नै कृषि आपतकालीन भण्डार प्रणाली कायम गरिसकेका छन् । फिनल्यान्डको दीर्घकालीन आपूर्ति सुरक्षा प्रणालीमा अन्न र इन्धनसँगै मलको भण्डार पनि समावेश छ । स्विडेनले पनि यस वर्ष नेटोमा सामेल भएपछि ‘समग्र रक्षा’ रणनीतिअन्तर्गत मल, बीउ र अन्न भण्डारण गर्ने योजना घोषणा गरेको थियो ।
ब्रसेल्सले साझा कृषि नीति संशोधन गरी कृषि अनुदान प्राप्त गर्ने किसानलाई मलको अतिरिक्त लागत पूर्ति गर्न अग्रिम भुक्तानी उपलब्ध गराउने व्यवस्था पनि गर्नेछ ।
आयोगले युरोपमै उत्पादन हुने जैविक तथा कम कार्बन उत्सर्जन गर्ने मलका लागि ‘अग्रणी बजार’ निर्माण गर्न पनि चाहेको छ । यसअन्तर्गत मिश्रित मल उत्पादनमा कम कार्बन मल अनिवार्य प्रयोग गराउनेजस्ता उपाय समावेश हुन सक्छन् ।
विचाराधीन अन्य प्राविधिक उपायहरूमा बायोग्यास उत्पादनबाट निस्कने पोषकतŒवयुक्त फोहोर पदार्थ ‘डाइजेस्टेट’ प्रयोग गर्न दिने योजना पनि छ । हाल यसको उच्च नाइट्रोजन मात्रा भएका कारण प्रयोग सीमित गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्