नेभिगेशन
नेपाल

भ्रष्टाचारका विषयमा ओली मौन

काठमाडौं (संवाददाता) – जेनजीको प्रदर्शनमा भएको बर्बर दमनका विषयमा प्रधानमन्त्री केपी ओलीले दुःख व्यक्त गरेका छन् । उनले सोमबार बेलुकी जारी गरेको विज्ञप्तिमा सरकारले समाजिक सञ्जाल बन्द गर्न नखोजेको, बरु नियमन गर्न खोजेको पुरानै भनाइ दोहोर्‍याएका छन् । तर, उनले जेनजी पुस्ताले उठाएको भ्रष्टाचार र बेथितिको विषयलाई सम्बोधन गरेका छैनन् ।

‘जेन–जी पुस्ताले आह्वान गरेको आजको प्रदर्शनमा भएको दुःखद् घटनाले मलाई अत्यन्त मर्माहत बनाएको छ । हाम्रा छोराछोरी पुस्ताले आफ्ना माग शान्तिपूर्ण ढंगले राख्नेमा हामी आश्वस्त थियौं । तर विभिन्न स्वार्थ केन्द्रबाट भएको घुसपैठका कारण संवैधानिक संस्थामा तोडफोड र आगजनी भयो र त्यसलाई नियन्त्रण गर्ने क्रममा नागरिकको ज्यान जाने अवस्था उत्पन्न भयो,’ उनले भनेका छन् । 

जेन–जी पुस्ताले उठाएका मागप्रति सरकार नकारात्मक नभएको दाबी उनको छ । ‘तर आयोजक स्वयंले आन्दोलन सफल भएको घोषणा गरेर सहभागीलाई घर फर्कन आह्वान गरेपछि घुसपैठकर्ताले हिंसात्मक गतिविधि गरेका थिए । त्यसपछि सरकार राज्यको सम्पत्ति जोगाउन बाध्य भयो,’ उनले भनेका छन् । 

सामाजिक सञ्जालको विषयमा सरकारले सुरु देखि नै सम्बन्धित कम्पनीलाई नेपालमा दर्ता र सूचीकरण गर्न आग्रह गर्दै आएको उनले उल्लेख गरेका छन् । कतिपयले आदेश पालना गरे पनि केहीले नगरेपछि सर्वोच्च अदालतको निर्देशनअनुसार अस्थायी रुपमा निष्क्रिय गरिएको उनले दोहोर्‍याएका छन् । 

‘सरकार सामाजिक सञ्जाललाई रोक्ने पक्षमा छैन, व्यवस्थित गर्ने पक्षमा छ,’ उनले भनेका छन् । ‘मृतक परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु । सरकारले राहतको व्यवस्था गर्नेछ र घाइतेहरूको निःशुल्क उपचार गर्नेछ । साथै घटनाबारे सत्यतथ्य पत्ता लगाउन १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्