नेभिगेशन
विश्व

चीनको व्यापार युरोप–एसियामा बढ्यो, अमेरिकामा घट्यो

एजेन्सी – चीनको अगस्ट महिनाको निर्यातमा ४.४ प्रतिशतको वार्षिक वृद्धि भएको छ । यो वृद्धि आर्थिक विश्लेषकहरूको ५.५ प्रतिशतको पूर्वानुमानभन्दा कम रह्यो । अमेरिकातर्फको निर्यातमा तीव्र गिरावट आएको भए पनि युरोप र दक्षिणपूर्वी एसियाली मुलुकहरूतर्फको निर्यातमा उल्लेखनीय सुधार देखिएको छ ।

अमेरिकातर्फको निर्यात अघिल्लो महिनाको तुलनामा ११.८ प्रतिशतले घटेको छ भने गत वर्षको सोही अवधिको तुलनामा यो कमी ३३.१ प्रतिशत पुगेको छ । व्यापार तनाव र उच्च करको प्रभाव अझै कायम रहेको देखिन्छ । यसको विपरीत, युरोपेली संघतर्फको निर्यात १०.४ प्रतिशतले र दक्षिणपूर्वी एसियातर्फको निर्यात २२.५ प्रतिशतले बढेको छ ।

विश्लेषकहरूका अनुसार, चिनियाँ व्यवसायीहरू अन्य बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउने रणनीतिमा अघि बढिरहेका छन्, जसमा क्षेत्रीय आपूर्ति शृंखलाको पुनर्संरचना र व्यापार मार्गको विविधीकरण पनि समावेश छन् ।

पिनपोइन्ट एसेट म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री झीवेई झाङका अनुसार, ‘करको डरले अघिल्ला महिनाहरूमा व्यवसायीहरूले चाँडै सामान पठाउने (फ्रन्टलोडिङ) प्रवृत्ति देखाएका थिए, तर त्यो अहिले घट्दै गएको छ । चिनियाँ निर्यातकर्ताहरूले अहिले दक्षिणपूर्वी एसिया र युरोपजस्ता नयाँ बजारतर्फ ध्यान केन्द्रित गरिरहेका छन् ।’

तर आयात पक्षमा पनि कमजोरी देखिएको छ । अगस्ट महिनामा चीनको आयात १.३ प्रतिशतले मात्रै बढ्यो । यो ब्लूमबर्गको ३.४ प्रतिशतको अनुमानभन्दा धेरै कम हो । यसले चीनभित्रको उपभोग र औद्योगिक मागमा कमजोरी देखिएको संकेत गर्छ ।

चीनले चालु आर्थिक वर्षमा ५ प्रतिशतको वृद्धि लक्ष्य लिएको भए पनि घरेलु मागमा कमजोरी, घरजग्गा क्षेत्रमा ऋणसम्बन्धी समस्याहरू, र युवा बेरोजगारीजस्ता चुनौतीहरूले लक्ष्य प्राप्तिमा अवरोध पुर्‍याइरहेका छन् ।

अर्थशास्त्री यूए सुका अनुसार, ‘करबाट जोगिन आपूर्ति शृंखला विविधीकरण हुँदै गएको छ, जसले व्यापार मार्ग परिवर्तनको स्पष्ट संकेत दिन्छ ।’ उनले भने, ‘अमेरिकाको उच्च करबाट जोगिन केही चिनियाँ सामानहरू अन्य देशहरू हुँदै ट्रान्सशिपमेन्टमार्फत पुनर्निर्यात भइरहेका छन् ।’

अगस्टमा केही कारखानाहरूको उत्पादनमा सानो वृद्धि देखिए पनि निरन्तर पाँचौं महिनासम्म उत्पादनमा समग्र संकुचन कायम छ । यसले चीनको निर्यातमुखी अर्थतन्त्रमाथि अन्तर्राष्ट्रिय व्यापार तनावको गहिरो असर परेको संकेत गर्दछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्