नेभिगेशन
नेपाल

नागढुंगा सुरुङमार्गबाट दशैंमा बिना शुल्क सवारी आवागमन गर्न दिइने

काठमाडौं, २३ भदौ - सरकारले दशैंका लागि नागढुंगा सुरुङमार्गबाट बिना शुल्क सवारी आवागमन गर्न दिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैं अवधिभर यो सुरुङमार्गमा निःशुल्क सवारी चलाउन दिने तयारी गरेको हो ।

काठमाडौं उपत्यकाबाट बाहिर जान तथा आउन लाग्ने शुल्क नलिई सवारीसाधन चलाउन दिन लागिएको मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिए ।

‘औपचारिकरूपमा शुल्क लिएर सुरुङमार्ग भएर आवत–जावत सुरु गर्न केही समय बाँकी नै छ,’ उनले भने, ‘त्यसअघि दशैंमा बढी सवारी आवागमन हुने समयमा निःशुल्क सेवा दिएर परीक्षण गर्न खोजेका हौं ।’ 

उनले दशैंमा सवारी चाप बढी हुने हुँदा आवत–जावत सहज बनाउन पनि सुरुङमार्गको प्रयोग उपयोगी र सहज हुने पनि बताए । उनले दशैंभर करिब १० दिन सुरुङमार्ग बिना शुल्क सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनका अनुसार नागढुंगा सुरुङमार्ग सञ्चालन गर्ने सम्बन्धमा अहिले मन्त्रालयले ठेकेदार र परामर्शदाता कम्पनीसँग छलफल गरिरहेको छ । उनले यस सम्बन्धमा अबको एक दुई दिनमै टुंगो लाग्ने बताए ।

यो सुरुङमार्ग सन् २०२६ जनवरी १ देखि व्यावसायिकरूपमा शुल्क लिएर सञ्चालन गर्ने मन्त्रालयको योजना छ । सुरुङमार्ग व्यवसायिकरूपमा सञ्चालन गर्न शुल्क समेत तोकिसकिएको छ । सुरुङमार्ग सरकारले निर्माण गरेको भए पनि व्यावसायिक रूपमा सञ्चालन गर्न निजी क्षेत्रलाई दिइनेछ ।

मन्त्रालयले सुरुङमार्ग सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन ठेक्का आह्वान गर्ने  प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । गत साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकले सुरुङमार्ग भएर आवत–जावत गर्ने  सवारी साधनले तिर्नुपर्ने  दस्तुर तोक्नुका साथै सञ्चालन कार्यविधि पास गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्