नेभिगेशन
दृष्टिकोण

पुरुषभन्दा महिलाहरू किन बढी बाँच्छन् ?

तपाईं महिला हुनुहुन्छ भने सम्भवतः तपाईंका दाजुभाइ वा पुरुष साथीहरूको तुलनामा बढी समय बाँच्न सक्नुहुन्छ । विश्वव्यापी औसत हेर्दा महिलाहरू पुरुषभन्दा करिब पाँच वर्ष बढी बाँच्ने गर्छन् ।
महिलाहरू किन लामो समयसम्म बाँच्छन् भन्ने स्पष्ट कारण वैज्ञानिकहरूले अझै पूर्ण रूपमा पत्ता लगाइसकेका छैनन् । तर, उनीहरुसँग केही महŒवपूर्ण तर्कहरू छन्, जसले यसको कारण बुझ्न सकिन्छ ।
यीमध्ये मुख्य कारण महिला र पुरुषको जैविक संरचनामा रहेको भिन्नता हो । तर, त्यसबाहेक उनीहरूको जीवनशैली, खानपानदेखि लिएर जीवनसाथीको छनोटसम्मका विभिन्न पक्षहरूले पनि आयुमा प्रभाव पार्छन् ।
वैज्ञानिकहरूको भनाइमा, यी तर्कहरूले किन केही प्रजातिका चराहरूमा भालेको आयु पोथीभन्दा लामो हुन्छ भन्ने कुरा पनि बुझ्न मद्दत गर्छ ।
जीवनशैलीको प्रभाव
बेलायतको अक्सफोर्ड इन्स्टिच्युट अफ पपुलेसन एजिङकी निर्देशक प्रोफेसर सारा हार्पर भन्छिन्, ‘लगभग हरेक देशमा महिलाहरू पुरुषका तुलनामा लामो समयसम्म बाँच्छन् ।’
तर उनी भन्छिन्, यो अवस्था देशअनुसार फरक–फरक पनि हुन्छ । उदाहरणका लागि, रुस, युक्रेन र भियतनाममा महिलाहरू पुरुषभन्दा करिब १० वर्ष वा त्यसभन्दा बढी बाँच्छन् । तर, नाइजेरियाजस्ता देशमा यो अन्तर निकै कम छ । यी निष्कर्ष ‘आवर वल्र्ड इन डेटा’मा प्रकाशित एक अध्ययनबाट आएका हुन् ।
वैज्ञानिकहरूका अनुसार यसको एउटा प्रमुख कारण सामाजिक र व्यवहारगत पक्ष हो । प्रोफेसर हार्परका अनुसार रुसमा पुरुषहरूको धूमपान र अत्यधिक मदिरापान यसको मुख्य कारण हो । संसारभर पुरुषहरू प्रायः त्यस्ता बानीतर्फ आकर्षित हुन्छन् जसले आयु घटाउँछ । उनीहरूको खानपान कम स्वस्थ हुन्छ र बिरामी हुँदा चिकित्सककहाँ जाने सम्भावना पनि कम हुन्छ । हार्पर भन्छिन्, ‘विवाहित पुरुषहरूलाई यसमा केही फाइदा हुन्छ, किनभने उनीहरूका पत्नीहरू स्वास्थ्यप्रति बढी सजग हुन्छन् र आवश्यक पर्दा अस्पताल लैजान पहल गर्छन् ।’ धेरै समाजमा पुरुषहरूले बढी जोखिमपूर्ण काम पनि गर्छन् । सामाजिक रूपमा ‘पुरुषत्व’लाई जोखिम उठाउने व्यवहारसँग जोडेर हेर्ने चलन छ ।
उनका अनुसार, ‘पुरुषहरूमा सडक दुर्घटना, हिंसा, हत्या र आत्महत्याबाट हुने मृत्युको दर बढी हुन्छ ।’
त्यसो त समयसँगै अवस्था केही बदलिएको पनि छ । हार्परका अनुसार बेलायतमा सन् १९६० र ७० को दशकमा धूमपानविरुद्धका अभियानपछि पुरुषहरूको असामयिक मृत्युमा कमी आएको थियो ।
एस्ट्रोजनः महिलाको सुरक्षा कवच
प्रोफेसर हार्पर भन्छिन्, जीवनशैलीमा सुधार भए पनि महिला र पुरुषबीचको आयुको अन्तर पूर्ण रूपमा हट्ने सम्भावना कम छ, किनभने उनीहरूको जैविक संरचनामा नै भिन्नता छ । यिनै भिन्नतामध्ये एउटा महŒवपूर्ण पक्ष हार्मोन हो । स्पेनको भ्यालेन्सिया विश्वविद्यालयकी फिजियोलोजिस्ट प्रोफेसर कन्सुएलो बोरेसका अनुसार महिलाको शरीरमा हुने एस्ट्रोजन हार्मोनले सुरक्षात्मक भूमिका खेल्छ । एस्ट्रोजनले महिलाको शरीरमा धेरै प्रकारले सुरक्षा प्रदान गर्छ । यसले कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्छ, प्रतिरक्षा प्रणाली सन्तुलित राख्छ, मूत्र संक्रमण रोक्न सहयोग गर्छ र मस्तिष्क तथा हड्डीको सुरक्षा पनि गर्छ ।
उता बोरेसका अनुसार, एस्ट्रोजन एण्टिअक्सिडेन्टजस्तै काम गर्छ, जसले शरीरमा बन्ने हानिकारक ‘फ्री रेडिकल’लाई नियन्त्रण गर्छ । उनी मेनोपजको उदाहरण दिँदै भन्छिन्, ‘धेरै अध्ययनहरूले देखाएका छन् कि मेनोपजपछि शरीरमा एस्ट्रोजनको मात्रा घट्दा शरीरका विभिन्न कार्य प्रभावित हुन्छन् ।’ उनले हड्डी कमजोर हुने रोग ‘अस्टियोपोरोसिस’को उदाहरण पनि दिइन् । यो रोग उमेर बढ्दै जाँदा र एस्ट्रोजनको कमीका कारण बढ्न सक्छ । मेनोपजको सुरुआती चरणमा हार्मोन थेरापी दिइएका महिलाहरूमा शारीरिक कार्यक्षमता सुधारिएको पनि अध्ययनहरूले देखाएका छन् ।
पुरुषको आयु घटाउने हार्मोन
पुरुषहरूको मुख्य यौन हार्मोन टेस्टोस्टेरोन हो, जसलाई बढी जोखिमपूर्ण व्यवहारसँग जोडेर हेरिन्छ । प्रोफेसर बोरेसका अनुसार यसले शरीरभित्र केही हानिकारक प्रभाव पनि पार्न सक्छ, यद्यपि यसको स्पष्ट कारण अझै पुष्टि भइसकेको छैन सन् २०१२ मा गरिएको एक अध्ययनमा कोरियाली हिजडाहरूको समूह र सामान्य पुरुषहरूको जीवनकाल तुलना गरिएको थियो । टेस्टोस्टेरोन उत्पादन नहुने हिजडाहरू सामान्य पुरुषभन्दा १४ देखि १९ वर्षसम्म बढी बाँचेको अध्ययनले देखायो  ।
यो अध्ययनको सीमितता पनि छन् र यस्तो अध्ययनलाई पुनः दोहो¥याउन सम्भव नभएको केही वैज्ञानिकको दाबी छ । केही जनावरहरूमा पनि प्रजनन क्षमता समाप्त भएपछि भाले लामो समय बाँचेको देखिएको छ । बोरेसका अनुसार, ‘हार्मोन यो रहस्यको एउटा हिस्सा मात्र हो ।’
प्रतिस्पर्धाले घटाउँछ आयु
वैज्ञानिकहरूले अन्य जीवहरूको अध्ययन गरेर पनि महिला किन बढी बाँच्छन् भन्ने बुझ्ने प्रयास गरिरहेका छन् । जर्मन अनुसन्धानकर्ता जोहाना स्टार्क भन्छन्, ‘महिला बढी बाँच्छन् भन्ने कुरा मानिसमा मात्र होइन । सिंह, भेडा, ह्वेल र मुसामा पनि यस्तै देखिन्छ । तर, चराहरूमा भने उल्टो अवस्था हुन्छ— त्यहाँ भाले बढी बाँच्छन् ।’
उनका अनुसार यसको एउटा कारण क्रोमोसोम हुन सक्छ । स्तनधारी प्राणीमा महिलासँग दुईवटा एक्स क्रोमोसोम हुन्छन् भने पुरुषसँग एउटा एक्स र एउटा वाई हुन्छ । यदि एउटा एक्समा समस्या आयो भने अर्को एक्सले त्यसको पूर्ति गर्न सक्छ । तर पुरुषसँग एउटा मात्रै एक्स हुने भएकाले त्यस्तो समस्या बढी घातक हुन सक्छ । चराहरूमा भने उल्टो संरचना हुन्छ, जहाँ भालेसँग दुईवटा ‘जेड’ क्रोमोसोम हुन्छन् । सन् २०२५ मा प्रकाशित अर्को अध्ययनले जीवनसाथीको संरचनाले पनि आयुमा असर पार्ने देखाएको छ ।
स्टार्कका अनुसार, एउटै जीवनसाथी हुने प्रजातिमा महिला–पुरुषको आयुको अन्तर कम हुन्छ । तर गोरिल्ला र सिंहजस्ता प्रजातिमा, जहाँ भाले धेरै साथीका लागि प्रतिस्पर्धा गर्छन्, त्यहाँ आयुको अन्तर बढी देखिन्छ । प्रजननका लागि भालेहरूले ठूलो शरीर वा सिङ विकास गर्न ऊर्जा खर्च गर्छन्, जसले आयु घटाउन सक्छ । अर्कातर्फ, पोथीका लागि सन्तानको हेरचाह महŒवपूर्ण हुने भएकाले लामो समयसम्म बाँच्नु फाइदाजनक हुन्छ ।
लामो आयु मात्र राम्रो हो त ?
महिलाहरू लामो समय बाँचे पनि उनीहरूको जीवन सधैं सहज हुन्छ भन्ने होइन । उनीहरू कमर दुखाइ, डिप्रेसन र टाउको दुखाइजस्ता दीर्घ समस्याबाट बढी पीडित हुने गर्छन् । प्रोफेसर हार्परका अनुसार, महिलाको प्रतिरक्षा प्रणाली बलियो भए पनि त्यसले सूजनसम्बन्धी रोगको जोखिम बढाउन सक्छ । साथै उनीहरूको मांसपेशी र हड्डी पुरुषको तुलनामा कम बलियो हुन्छ । उनको निष्कर्ष छ, ‘पुरुषहरूको जैविक संरचनाले उनीहरूलाई मृत्युको जोखिमतर्फ बढी संवेदनशील बनाउँछ भने महिलाको संरचनाले उनीहरूलाई दीर्घ अशक्तताको जोखिमतर्फ ।’ तर तीनै विज्ञहरू जोड दिएर भन्छन्— जैविक बनावटले मात्रै सबै कुरा तय गर्दैन ।
प्रोफेसर बोरेसको तर्क छ, ‘जैविक अन्तर पनि वातावरण र व्यवहारबाट प्रभावित हुन्छ । महिला र पुरुष दुवैले आहार, व्यायाम, निद्रा र तनाव व्यवस्थापनमा ध्यान दिनुपर्छ । लामो आयुका लागि होइन, राम्रो जीवनका लागि पनि हामीले बढीभन्दा बढी ध्यान दिनुपर्छ ।’ बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
जनताको आशाको बजेट

जनताको आशाको बजेट

समन्यायिक तलब वृद्धि

समन्यायिक तलब वृद्धि