नेभिगेशन
नेपाल

इस्लाम धर्मावलम्बीहरूले आज बकर ईद मनाउँदै, सार्वजनिक बिदा

काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर ईद अर्थात् इदुल जोहा आज ९बिहीबार० देशभर श्रद्धा, उल्लास र धार्मिक आस्थाका साथ मनाइँदै छ । बिहानैदेखि राजधानी काठमाडौंसहित देशका विभिन्न जिल्लास्थित मस्जिद, इदगाह र मुस्लिम बस्तीमा नमाज अदा गर्ने, एकापसमा शुभकामना साटासाट गर्ने तथा कुर्बानी दिने कार्यक्रम सञ्चालन गर्दै यो पर्व मनाइँदै छ ।
रमजान पर्व सम्पन्न भएको करिब ७० दिनपछि मनाइने इदुल जोहा इस्लाम धर्ममा त्याग, समर्पण, विश्वास र मानव सेवाको प्रतीक मानिन्छ । मुस्लिम समुदायले आज बिहान स्नान गरी नयाँ वा सफा पोसाक लगाएर नजिकको मस्जिद तथा इदगाहमा सामूहिक नमाज अदा गरेर यो पर्व मनाउँदैछन् । नमाजपछि ‘ईद मुबारक’ भन्दै शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ ।
काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत ललितपुर, भक्तपुर, बाँके, कपिलवस्तु, पर्सा, रौतहट, बारा, रुपन्देही, कैलाली, कञ्चनपुर र सुनसरीका मस्जिद तथा इदगाहमा बिहानैदेखि श्रद्धालुको ठूलो भीड लाग्ने गर्दछ ।
मुस्लिम धर्मावलम्बीले तीन दिन यो पर्व मनाउने जनाइएको छ । तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदले जनाएको छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्