नेभिगेशन
अर्थतन्त्र

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन मिति सर्दैछ परपर

काठमाडौं । काठमाडौं उपत्यका आउजाउ गर्दा आफ्नो गाडीले सुरुङमार्ग छिचोल्न पाउने दिन नजिकै आएको सम्झेर सुखी हुनेलाई प्रतीक्षाको घडी लम्बिएको छ । समयमा जनशक्ति व्यवस्थापन नहुँदा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा थप ढिलाइ हुने भएको छ । चोङकिङ युसिन रोड एण्ड ब्रिज्ड डेभलपमेन्ट (युसिन) र एआरटी कन्स्ट्रक्सनको जेभीलाई सेवा प्रदायक छनोट गरी सम्झौता भइसकेको भए पनि आवश्यक जनशक्तिको पदपूर्ति गर्ने काम बाँकी नै छ । त्यसैले सुरुङमार्ग व्यावसायिकरूपमा सञ्चालनमा ल्याउन अझै समय लाग्ने देखिएको हो । यसअघि, सेवा प्रदायक नियुक्तिसँगै वैशाख अन्त्यतिर सुरुङमार्ग परीक्षण गर्ने र जेठदेखि व्यावसायिकरूपमा सञ्चालनान ल्याउने भनिएको थियो । 
सकेसम्म बढी स्वदेशी जनशक्ति परिचालन गर्ने भनिएकाले छनोट प्रक्रिया चलिरहेको छ । त्यसैले असार अन्त्यतिर मात्रै सुरुङमार्ग सञ्चालनमा ल्याउन सकिने सम्भावना रहेको आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले बताए । उनका अनुसार जनशक्ति व्यवस्थापन हुँदैरहेकाले सेवा प्रदायक चिनियाँ कम्पनी युसिनका विज्ञ तथा प्राविधिकहरू पनि नेपाल आएका छैनन् ।
‘सम्भव भएसम्म स्वदेशी एवम् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई नै सुरुङमार्ग सञ्चालनका लागि नियुक्त गर्ने भन्ने हाम्रो प्राथमिकता हो । स्थानीयबाट सम्भव नभएको अवस्थामा मात्रै बाहिरबाट ल्याउने भन्ने हो,’ उपनिर्देशक पन्थीले भने, ‘लोकललाई नै प्राथमिकतामा राखिएको हुँदा छनोट प्रक्रिया लम्बिन गयो । त्यसैले सुरुङमार्ग सञ्चालनमा केही ढिला हुने देखिएको हो ।’ सुरुङमार्ग सञ्चालनका लागि आवेदन मागिएकाबाट सेवा प्रदायक कम्पनीले सिफारिस गरेकाहरूलाई नै छनोट गरिने पनि पन्थीले बताए । 
जनशक्ति नियुक्ती प्रक्रिया पूरा भएपछि उनीहरूलाई प्रशिक्षण दिएपछि मात्रै सुरुङमार्गलाई औपचारिकरूपमा सञ्चालनमा ल्याउन सकिने उनले बताए । पन्थीका अनुसार चिनियाँ सेवा प्रदायक सुनिश्चित भएपछि नै छनोट भएकाहरूलाई प्रशिक्षण दिइनेछ । 
सुरुङमार्ग सञ्चालनका लागि छनोट भएको युसिनसँग गत अप्रिल २९ मा सम्झौता भइसकेको छ । सुरुङमार्गको सेवा प्रदायकका रूपमा काम गर्न वार्षिक १ अर्ब १० करोड ४० लाख ३७ हजार ८०० रुपैयाँ प्रस्ताव गरेको चिनियाँ र नेपाली कम्पनीको ज्वाइन्ट भेन्चर छनोटमा परेको थियो । यो कम्पनीलाई ५ वर्षका लागि नागढुंगा सुरुङमार्ग सञ्चालन तथा मर्मतसम्भारको सेवा प्रदायकका रूपमा छनोट गरिएको हो । 
सुरुङमार्गको सञ्चालन खर्च सरकारले बेहोर्ने छ । सुरुङमार्ग प्रयोग गरेबापत सवारीसाधनले तिरेको शुल्कबाट उठेको टोल रकम दैनिक रूपमा सडक बोर्ड नेपालको खातामा जम्मा गरिनेछ ।
सुरुङमार्गको भौतिक पूर्वाधार निर्माण तथा सानातिना काम पनि मुख्य सिभिल ठेकेदार कम्पनीले सम्पन्न गरिसकेको पन्थीले जानकारी दिए । ‘आयोजना स्थलमा पहिरो रोकथामबाहेकका सबै काम निर्माण कम्पनीले सम्पन्न गरिसकेको छ । अब जनशक्ति व्यवस्थापन गरी उनीहरूलाई प्रशिक्षण दिइसकेपछि बिना अवरोध सुरुङमार्ग सञ्चालन गर्न सकिनेछ,’ उनले भने । 
सुरुङमार्ग सञ्चालनका लागि सवारीसाधन शुल्क तोकिसकिएको छ । जसअनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनी बस, ट्रक र ट्रिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ । बस तथा ट्रकका लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ भने ठूला ट्रक तथा हेभी सवारीका लागि प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यातायात सञ्चालनसम्बन्धी निर्देशिका २०८१ चैत २५ मा जारी गरिएको हो । यो निर्देशिकाअनुसार सुरुङमार्गबाट पैदलयात्री, दुईपांग्रे (मोटरसाइकल), तीनपांग्रे र नन–मोटोराइज्ड सवारीलाई सुरुङमार्ग भएर यात्रा गर्न निषेध गरिएको छ । त्यस्तै, अत्यधिक प्रज्वलनशील पदार्थ (पेट्रोल, डिजेल, ग्यास) र विस्फोटक पदार्थ बोकेका सवारीले पनि सुरुङमार्गमा प्रवेश पाउने छैनन् । 
आयोजनाअन्तर्गत मुख्य र रेस्क्यु गरी दुईवटा सुरुङमार्ग निर्माण गरिएको छ । धादिङको सिस्नेरीबाट सुरु भई काठमाडौंको नागढुंगामा निस्कने मुख्य सुरुङ २.६८८ किलोमिटर लामो छ । यो सुरुङ २०८१ वैशाख ३ मा खनेर सकिएको थियो । २.५५७ किलोमिटर लामो रेस्क्यु सुरुङ २०८० साउन २२ गते खनेर सकिएको थियो । 
सुरुमा १६ अर्ब लागत अनुमान गरिएको सुरुङमार्ग आयोजनामा निर्माण अवधिमा ठेकेदारको क्षतिपूर्ति दाबी, स्थानीय अवरोधलगायत कारणले लागत बढेर करिब २१ अर्ब रुपैयाँ पुगेको छ । अतिरिक्त लागत बराबरको सहुलियतपूर्ण ऋण जापान सरकारले उपलब्ध गराएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्