नेभिगेशन
खेलकुद

कास्कीका सुदीप र एन्जललाई स्वर्ण

गण्डकी प्रदेशस्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ एक सय मिटर दौडमा कास्कीका सुदीप भण्डारी र एन्जल अधिकारीले स्वर्ण पदक जितेका छन् । 
छात्रतर्फ सुदीपले ११.९ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जित्दा, कास्कीका प्रज्वल खड्काले ११.२५ सेकेन्ड समयका साथ रजत पदक जिते । स्याङ्जाका रोहित सिंह कांस्य जिते ।
छात्रातर्फ अधिकारीले १४.४ सेकेण्डमा निर्धारित दूरी पार गरेकी थिइन् । यस विधामा नवलपुरकी आरती विकले १४.२७ सेकेण्ड लगाएर रजत र कास्कीकी शिक्षा खड्गीले १४.७२ सेकेण्ड समय लगाउँदै कांस्य पदक जितेकी छन् ।
पोखरा रंगशालामा आज एथलेटिक्सतर्फका विभिन्न विधा सञ्चालन गरिएको थियो । राष्ट्रपति रनिङ शिल्ड बागलुङमा सञ्चालन भइरहे पनि खराब मौसमका कारण एथलेटिक्स खेल भने पोखरा रंगशालामा सारिएको गण्डकी एथलेटिक्स संघका महासचिव मनबहादुर थापाले बताए । 
‘रनिङ शिल्डका सबै खेल बागलुङमा हुने योजनाअनुसार खेलाडी सबै पुगिसकेका थिए, तर वर्षाका कारण बागलुङको बांगेचौर खेल मैदानमा खेलाउने अवस्था रहेन । त्यसपछि पोखरा फिर्ता भएर यहाँ खेलाइएको हो,’ उनले भने । 
एथलेटिक्सतर्फ नवलपुर चार स्वर्ण र चार रजत पदकसहित शीर्ष स्थानमा छ । यसैगरी गोरखाले चार स्वर्ण र दुई कांस्य, कास्कीले दुई स्वर्ण चार रजत र तीन कांस्य पदक जित्न सफल भयो । यसैगरी तनहुँले दुई स्वर्ण र एक कांस्य, लमजुङले तीन रजत र तीन कांस्य तथा बागलुङले दुई कांस्य जितेको छ । 
प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाका खेलाडीहरूको सहभागिता रहेको छ । प्रतियोगिताबाट एथलेटिक्सतर्फ सबै इभेन्टमा १६औं संस्करणको केन्द्रीय राष्ट्रपति रनिङ शिल्डका लागि खेलाडी छनोट गरिने संघका महासचिव थापाले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्