नेभिगेशन
प्रदेश
सदस्यता विवाद उग्रः पत्रकार महासंघ पर्सामा तालाबन्दी

कानुनी उपचारमा जाने शाखाको चेतावनी

वीरगंज (पर्सा) । नेपाल पत्रकार महासंघ पर्सा शाखामा सदस्यता शुद्धीकरणको विषयलाई लिएर विवाद चर्किएको छ । एकातर्फ शाखा नेतृत्वले कार्यालयमा गरिएको तालाबन्दीलाई संस्थामाथिको आक्रमण भन्दै कानुनी उपचारको चेतावनी दिएको छ भने अर्कोतर्फ ‘सदस्यता शुद्धीकरण संघर्ष समिति’ले आफ्ना माग बेवास्ता गरिएकाले बाध्य भएर अनिश्चितकालीन तालाबन्दीमा उत्रिनुपरेको दाबी गरेको छ ।
शाखाका सचिव विजय कुमार महतोद्वारा जारी विज्ञप्तिमा सार्वजनिक बिदाको दिन कार्यालय बन्द रहेको बेला केही व्यक्तिहरूले तालाबन्दी गरी सामाजिक सञ्जालमार्फत त्यसको प्रदर्शन गर्नु अत्यन्त आपत्तिजनक र संस्थाको गरिमामाथिको प्रत्यक्ष प्रहार भएको उल्लेख गरिएको छ । शाखाले महासंघ कुनै व्यक्ति वा समूहको निजी संस्था नभई सम्पूर्ण सञ्चारकर्मीहरूको साझा थलो भएको स्मरण गराउँदै यस्ता गतिविधिले पर्सेली पत्रकारिताको एकता, विश्वास र प्रतिष्ठामाथि गम्भीर असर परेको जनाएको छ ।
शाखाले सदस्यता शुद्धीकरणको विषयमा आफूहरू सकारात्मक र प्रतिबद्ध रहेको स्पष्ट पार्दै प्रक्रिया विधि, विधान र संस्थागत निर्णयअनुसार मात्रै अघि बढ्ने बताएको छ । विज्ञप्तिअनुसार तत्कालीन अध्यक्ष अनुप तिवारीलाई २०८३ जेठ ७ गते औपचारिक पत्र पठाएर निर्णय पुस्तिका, सदस्यता अभिलेख तथा आर्थिक हरहिसाब तीन दिनभित्र बुझाउन आग्रह गरिएको थियो । तर आवश्यक कागजात बुझाउनुको सट्टा उनकै नेतृत्वमा शाखा कार्यालयमा तालाबन्दी गरिएको आरोप वर्तमान नेतृत्वको छ ।
वर्तमान कार्यसमितिले निवर्तमान नेतृत्वकै पालामा कायम गरिएको सदस्यताबाट नेतृत्व परिवर्तन भइसकेको अवस्थामा पनि आर्थिक विवरण, निर्णय पुस्तिका र अन्य अभिलेख हस्तान्तरण नगरिनु गम्भीर विषय भएको जनाएको छ । साधारणसभा नजिकिँदै गर्दा त्यसलाई प्रभावित बनाउने उद्देश्यले नियोजित गतिविधि भइरहेको आशंका शाखाले व्यक्त गरेको छ ।
शाखाका अनुसार पदस्थापनकै दिनदेखि निर्णय पुस्तिका नबुझाइनु, पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिनु, पहिलो बैठकले ३० दिनभित्र हरहिसाब बुझाउने निर्णय गरेपनि कार्यान्वयन नगर्नु तथा साधारणसभाको मिति तय गर्न बोलाइएका बैठकहरूमा पटक–पटक अवरोध सिर्जना गरिनुले संस्थालाई अन्योल र असहज अवस्थामा धकेल्ने प्रयास भइरहेको देखिएको छ ।
महासंघ पर्सा शाखाले सम्पूर्ण आर्थिक तथा प्रशासनिक कागजात तत्काल बुझाउन, सदस्यता शुद्धीकरण प्रक्रियामा सहयोग गर्न र लगाइएको ताला तत्काल खोल्न आग्रह गरेको छ । शाखाले संवाद र सहकार्यका माध्यमबाट समस्या समाधान गर्न आफूहरू तयार रहेको जनाउँदै संस्थाको गरिमा र पत्रकारहरूको अधिकारमाथि निरन्तर हस्तक्षेप भए कानुनी बाटो अपनाइने स्पष्ट चेतावनी दिएको छ ।
यता सदस्यता शुद्धीकरण संघर्ष समितिले भने आफ्ना मागप्रति जिल्ला शाखाले कुनै चासो नदेखाएपछि आन्दोलनलाई थप सशक्त बनाउँदै शुक्रबारदेखि अनिश्चितकालीन तालाबन्दी सुरु गरिएको जनाएको छ । समितिका अनुसार सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग राख्दै गत मंगलबार र बुधबार कार्यालय अगाडि एक–एक घण्टा धर्ना दिइएको थियो । तर त्यसको कुनै सुनुवाइ नभएपछि आन्दोलनको स्वरूप परिवर्तन गर्दै तालाबन्दी गर्न बाध्य हुनुपरेको दाबी गरिएको छ ।
संघर्ष समितिका संयोजक अनुप तिवारीले विगतमा झैँ निष्पक्ष छानबिन गरी अयोग्य र विधानविपरीत सदस्यता लिएका व्यक्तिहरूलाई हटाउनुपर्ने माग रहेको बताए । उनले योग्य र सक्रिय पत्रकारहरूलाई तत्काल सदस्यता उपलब्ध गराउनुपर्ने तथा सदस्यता छानबिनका लागि आवश्यक प्रक्रिया अघि नबढाइएकाले आन्दोलन तीव्र बनाउनुपरेको स्पष्ट पारे ।
तालाबन्दी कार्यक्रममा संघर्ष समितिका सह–संयोजक शेखर छतकुली, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष राजेन्द्र सिंह, प्रेस मञ्च का बिरेन्द्र साह लगायतको सहभागिता रहेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्