नेभिगेशन
विश्व

कम भोट पाए पनि मेयरको चुनाव कसरी जित्ने ?

लस एन्जलस, (एजेन्सी) । यतिबेला क्यालिफोर्नियाको एउटा सानो शहरमा स्पेन्सर प्राटको चर्चा निकै ठूलो छ । मेयर बन्न सबैले उनलाई मन पराउनु पर्छ भन्ने छैन भन्ने प्राटलाई थाहा छ  । 
गएको साता बेभर्ली हिल्सस्थित एक अर्बपतिको हवेलीमा आयोजित एउटा कार्यक्रम तथा ‘ह्वाइट पार्टी’मा सहभागी हुँदा रियालिटी टिभीका चर्चित ‘भिलेन’ तथा मेयर पदका आकांक्षी प्राटले आफ्नो सम्भावित विजय यात्राबारे आश्चर्य व्यक्त गरे ।
’५१ प्रतिशत मानिसले मन पराए भने पनि मेयर बन्न सकिने रहेछ भन्ने मैले भर्खरै थाहा पाएँ र यो कुरा निकै अविश्वसनीय छ । मैले सोचेँ‑ ‘त्यति लोकप्रियता त मैले सहजै ल्याइहाल्छु नि !’’ उनले उपस्थित भीडलाई सम्बोधित गर्दै भने ।
४२ वर्षीय प्राट टेलिभिजनको प्रख्यात शृंखला ‘द हिल्स’ नामक रियालिटी शोमार्फत मिलेनियल पुस्तामाझ चर्चित बनेका थिए । उक्त कार्यक्रममा उनले अहिलेकी पत्नी हेइडी मोन्टागका प्रेमीको भूमिका निभाएका थिए । उनले कलाकारहरूबीच विवाद सिर्जना गर्ने गर्थे र प्रशंसकहरूले उनलाई मोन्टाग र उनकी घनिष्ठ साथीबीचको सम्बन्ध बिगार्ने पात्रका रूपमा हेर्थे ।
पछि यो दम्पती आफ्ना दुई छोरासहित प्यासिफिक पालिसेड्समा बस्न थाले । प्राटले ‘प्राट ड्याडी’ नामक ‘हिलिङ क्रिस्टल’ व्यवसाय सुरु गरे । उनले हमिङबर्ड चराहरूलाई आफ्नै हातबाट रस खान सिकाए र ती भिडियोहरू इन्स्टाग्राममा पोस्ट गर्न थाले ।
तर सन् २०२५ भएको कुख्यात आगलागीमा उनीहरूको घर जलेर नष्ट भयो । पालिसेड्स क्षेत्रमा लागेको आगलागीपछि खरानी थामिँदै जाँदा प्राटले विस्थापित हजारौँ मानिसको पीडा र आक्रोशलाई सामाजिक सञ्जालमार्फत व्यक्त गर्न थाले । उनले टिकटक, इन्स्टाग्राम र एक्समा आफ्नो घर, आफ्ना अभिभावकको घर र बाल्यकाल बिताएको छिमेक गुमाउँदाको अनुभूतिका बारेमा बेवाकसँग बोल्न थाले ।
त्यसपछि उनले शहर र राज्यका अधिकारीहरूबाट जवाफदेहिता माग्न थाले । उनी र मोन्टागले सरकारी निकाय तथा विद्युत् कम्पनीहरूलाई सम्पत्ति क्षतिको जिम्मेवार ठहर गर्दै दायर गरिएको मुद्दामा प्रमुख वादीका रूपमा काम गरिरहेका छन् । शहरको स्वामित्वमा रहेको विद्युत् निकायले भने आगलागी सुरु गराएको वा त्यसपछिका क्षतिको जिम्मेवार आफू नभएको बताएको छ ।
प्राटले आफू रिपब्लिकन मतदाता भएको र सन् २०२४ मा डोनाल्ड ट्रम्पलाई मतदान गरेको बताएका छन् । उनले जनवरीमा प्यासिफिक पालिसेड्समा जलेको स्पेनिश शैलीको व्यापारिक भवनअगाडि मेयर पदका लागि आफ्नो अभियान घोषणा गरे ।
उनले त्यहाँ उपस्थित समर्थकहरूलाई भने, ’लस एन्जलस यस्ता मानिसहरूले चलाइरहेका छन् जसमा वास्तवमै नेतृत्व गर्ने साहस छैन, त्यसैले यो शहर धराशायी हुँदै गएको छ ।’
त्यसपछि उनले हालकी मेयर करेन बासमाथि शहरका विभिन्न समस्याबारे प्रहार गर्न थाले । सडकमा बढ्दो बेघरपन र सुस्त बन्दै गएको मनोरञ्जन उद्योग उनका प्रमुख मुद्दा बने । आगलागीपछिको पुनर्निर्माण सुस्त भएको र आगलागी सुरु हुँदा करेन बास देशबाहिर रहेको विषयले जनआक्रोश बढिरहेको बेला प्राटको अभियानले धेरैको ध्यान खिच्यो ।
हालैको एउटा बहसमा प्राटले बासलाई ’अविश्वसनीय झूट बोल्ने व्यक्ति’ भने र बेघर मानिसहरूले ’सुपर मेथ’ प्रयोग गरिरहेको दाबी गरे ।
हालैको स्वतन्त्र सर्वेक्षणअनुसार बास अग्रस्थानमा छिन् भने प्राट र नगर परिषद् सदस्य नित्य रमन दोस्रो स्थानका लागि प्रतिस्पर्धामा छन् । यही जुन २ मा हुने गैरदलीय प्राथमिक निर्वाचनबाट शीर्ष दुई उम्मेदवारमध्ये कसैले पनि स्पष्ट बहुमत ल्याउन सकेन भने  नोभेम्बरको चुनावमा प्रवेश गर्नेछन् ।
प्राटले युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाबाट राजनीतिक विज्ञानमा डिग्री हासिल गरेका छन् तर उनले अहिलेसम्म कुनै सार्वजनिक पद सम्हालेका छैनन् ।
उनका समर्थकहरू भने प्राटलाई शहरको विफलता खुला रूपमा बोल्ने नयाँ अनुहारका रूपमा हेरिरहेका छन् । उनीहरूको विचारमा सरकार सञ्चालनको अनुभव नहुनु पनि फाइदा हुन सक्छ किनभने अहिलेको प्रणाली नै बिग्रिएको छ ।
एनिमेसन कम्पनी कार्टून स्टुडियोजका प्रमुख एन्डी हेवार्ड भन्छन्, ’शहरी अव्यवस्था निकै खराब भइसकेको छ । प्राट परिवर्तनको संकेत बन्न सक्छन् ।’
शहरका अभिलेखअनुसार प्राटको अभियानलाई लुसियन ग्रेन्ज र उनका छोरा इलियट ग्रेन्ज लगायतले सहयोग गरेका छन् । उनीहरू क्रमशः यूनिभर्सल र एटलान्टिक म्युजिक समूहका प्रमुख कार्यकारी हुन् । मनोरञ्जन क्षेत्रमा लगानीकर्ता तथा डेमोक्रेटिक पार्टीका ठूला दाता हेइम सेबनले पनि सहयोग गरेका छन् ।
ब्रेन्टवुडमा आयोजित अर्को कार्यक्रममा संगीत निर्माता डेभिड फोस्टर र उनकी पत्नी गायिका क्याथरिन म्याकफीले प्राटका लागि ८० को दशकको चर्चित गीत ‘द बेस्ट’ गाएका थिए ।
तर आलोचकहरूका अनुसार प्राट अनुभवहीन छन् र आवास, महँगी तथा रोजगारीजस्ता मुख्य मुद्दाबारे पर्याप्त बुझाइ राख्दैनन् । उनले बेघर मानिसहरूलाई सडकबाट हटाउनुपर्ने, आवश्यक परे अस्थायी मनोचिकित्सकीय नियन्त्रणमा राख्नुपर्ने र शहरले ’लतलाई प्रोत्साहन गर्नु हुँदैन’ भन्ने धारणा सार्वजनिक गरेका छन् ।
विशेषज्ञहरूले उनका केही प्रस्ताव कानूनी र व्यवहारिक रूपमा चुनौतीपूर्ण हुन सक्ने बताएका छन् । प्राटले भने, ’बेघरपनको समस्या वास्तवमा लागूऔषध दुव्र्यसनको समस्या हो र आवास दिएर मात्रै त्यसको समाधान हुँदैन ।’
प्राटले परम्परागत समाचार माध्यमभन्दा पोडकास्ट र सामाजिक सञ्जाललाई बढी प्रयोग गर्दै चर्चित शैलीको अभियान चलाइरहेका छन् । उनको शैलीमा ट्रम्पजस्तै आक्रामक भाषण र सामाजिक सञ्जालमा भाइरल हुने सामग्रीको मिश्रण देखिन्छ ।
उनले एआईद्वारा बनाइएका भाइरल भिडियोहरूलाई पनि व्यापक रूपमा प्रचार गरेका छन् । एउटा ब्याटम्यान शैलीको भिडियोमा करेन बासलाई ‘जोकर’का रूपमा देखाइएको थियो र उनलाई टमाटरले हानिएको दृश्य राखिएको थियो ।
बासले सीएनएनसँग कुरा गर्दै ती भिडियोहरू ’हिंसात्मक दिशातर्फ गएको’ भन्दै चिन्ता व्यक्त गरिन् । एउटा भिडियोमा उनलाई डुबाइँदै गरेको दृश्य समेत देखाइएको थियो ।
बासका प्रवक्ता एलेक्स स्ट्याकले प्राटको अभियानलाई ’एआईबाट बनेको फोहोर सामग्री र कुनै स्पष्ट योजना नभएको अभियान’ भनेर टिप्पणी गरे ।
नगर परिषद् सदस्य रमनले पनि प्राटले वाचा गरेजस्तो परिवर्तन ल्याउन नसक्ने बताइन् । ‘आक्रोश मात्रैले लस एन्जलसलाई ठीक पार्दैन,’ उनले भने ।
हाल लस एन्जलसका मतदातामध्ये १५ प्रतिशतभन्दा कम रिपब्लिकन छन् । शहरले पछिल्लो पटक सन् १९९७ मा रिपब्लिकन मेयर चुनेको थियो । चार वर्षअघि अर्बपति डेभलपर रिक कारूसोले १० करोड डलरभन्दा बढी खर्च गरे पनि करेन बाससँग झन्डै १० प्रतिशत मतान्तरले पराजित भएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्