नेभिगेशन
राजनीति

'नबुझी बोलेको भए चिन्ताजनक, बुझेर बोलेको भए खतरनाक'

बुटवल । कांग्रेस सभापति गगनकुमार थापाले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षा जस्तो अत्यन्तै संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको  लुम्बिनी प्रदेशस्तरीय दुईदिने परामर्श कार्यशाला कार्यक्रमको सोमबार बुटवलमा उद्घाटन गर्दै सभापति थापाले प्रधानमन्त्रीको पछिल्लो स्टेटमेन्टले सिंगो नेपालीको शिर निहुराएको र जनताको आत्मसम्मानमा गहिरो चोट पु¥याएको बताए । 
संसद् बैठकमा आइतबार अचानक उपस्थित भएर प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरुसँग प्रश्नोत्तर गरेका थिए । त्यस क्रममा उनी सीमा अतिक्रमणको संवेदनशील विषयमा आफ्नै अभिव्यक्तिले विवादित भएका थिए । सभापति थापाले प्रधानमन्त्रीले धेरै नबुझी यो विषय बोलेको भए चिन्ताजनक र बुझेर बोलेको भए खतरनाक हुने बताए । ‘प्रधानमन्त्रीजीलाई मैले यति मात्र भन्छु – संसदमा जानुस् र उभिनुस् । मैले नजानेर गल्ती बोलेँ भनेर माफी माग्नुस्, सकियो । तर माफी माग्दिनँ, मैले जे बोलेँ, मसँग संख्या छ भन्नुभयो भने तपाईं प्रधानमन्त्री हो भगवान होइन । तपाईंमाथि प्रश्न हुन्छ । तपाईं संविधान र कानुन तथा हाम्रो राष्ट्रभन्दा माथि तपाईं हुनुहुन्न,’ उनले भने । 
थापाले सीमा विवाद जस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान, तथ्य र प्रमाणहरू रहेको बताउँदै प्रधानमन्त्रीको हलुका अभिव्यक्तिले ती ऐतिहासिक प्रमाणहरूलाई कमजोर बनाउनुको साथै  छिमेकी मुलुकसँग कूटनीतिक माध्यमबाट समस्या हल गर्न सकिने सम्भावनालाई समेत क्षीण पारेको बताए । प्रधानमन्त्रीको भनाइ सिंगो मुलुकका लागि एउटा राष्ट्रिय लज्जाको विषय भएको थापाको भनाइ थियो । 
सभापति थापाले नेपाल–भारत सिमाना र दसगजा क्षेत्रमा नेपाली नागरिकले भोगिरहेको पीडा तथा सीमा अतिक्रमण (इन्क्रोचमेन्ट) को विषयलाई प्रधानमन्त्रीले सामान्य राजनीतिक सुझबुझ पनि नराखी तुलना गरेको पनि बताए । 
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै स्पष्टीकरण दिनुपर्ने अवस्था आउनु आफैंमा लज्जास्पद भएको उनको भनाइ थियो । थापाले प्रधानमन्त्रीलाई तत्काल संसद्को रोस्टममा उभिएर नेपाली नागरिकसामु आफ्नो गल्ती स्वीकार गर्दै क्षमायाचना गर्न माग गरे । 
हालै संसद्मा सत्तापक्षले पेलेर नियमावली पास गराएको घटनालाई संसद्को इतिहासकै एउटा कालो दिनको रूपमा चित्रण गर्दै उनले अमुक पात्रका लागि संसद्को शक्ति दुरुपयोग गरिएको र यो विषय अब सम्मानित अदालतको क्षेत्र बन्ने उल्लेख गरे । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या ऐतिहासिक र संरचनागत भएको भन्दै उनले मानवीय संवेदना र लोककल्याणकारी भावना विपरीत एकाबिहानै सडक खाली गर भनी आदेश दिने हुकुम शैलीको समेत विरोध गरे । 
यस्तै, कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता र सीमा सुरक्षा जस्तो अत्यन्तै संवेदनशील विषयमा प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाए । प्रधानमन्त्रीको भनाइ एउटा वडाध्यक्ष वा नगर प्रमुखले व्यक्त गर्ने परिपक्वता भन्दा पनि तल्लो स्तरको भएको उनले बताए । प्रधानमन्त्री पदको दायित्व मर्यादित, संयमित र कूटनीतिक रूपमा अपरिपक्क भएको भन्दै आलोचना गरे । उपसभापति शर्माले नेपाल–भारत र नेपाल–चीन सीमा क्षेत्रमा रहेका समस्याहरूलाई राष्ट्रिय सहमति र उच्चस्तरीय कूटनीतिक संवादको माध्यमबाट हल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा महामन्त्री गुरु घिमिरे, सहमहमन्त्री योगेन्द्र चौधरी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डे, रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँण, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका उपप्रमुख मधु आचार्यको मन्तव्य रहेको कार्यक्रमको अध्यक्षता नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष भवन श्रेष्ठले गरेका थिए ।  कार्यक्रममा कांग्रेसका लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा प्रदेश सरकारका मन्त्री, सांसदहरुको उपस्थिति छ । कार्यक्रम मंगलबारसम्म चल्ने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्