नेभिगेशन
विश्व

सङ्गीतमा चरमपन्थीको पहुँच

लन्डन, (एजेन्सी) । सङ्गीत स्ट्रिमिङ प्लेटफर्महरू चरमपन्थी विचारधारा र घृणाजन्य सामग्री फैलाउने माध्यमका रूपमा प्रयोग भइरहेको एक अनुसन्धानले देखाएको छ । अध्ययनअनुसार हमास समर्थकहरूले विभिन्न स्ट्रिमिङ सेवामार्फत इजरायलविरोधी तथा हिंसात्मक गतिविधिको समर्थन गर्ने गीतहरू लाखौँ श्रोतासम्म पु¥याइरहेका छन् ।
फाउन्डेशन फर द डिफेन्स अफ डेमोक्रेसिज् (एफडीडी)ले सार्वजनिक गरेको प्रतिवेदनमा सामग्री हटाउने प्रयास भए पनि हमास तथा अन्य चरमपन्थी समूहहरूको समर्थन गर्ने सामग्री अझै विभिन्न प्लेटफर्ममा उपलब्ध रहेको उल्लेख छ ।
अनुसन्धानमा समावेश एउटा गीतले जोर्डनका नागरिकलाई हमासको पक्षमा युद्धमा सहभागी हुन आह्वान गरेको छ । ६ लाखभन्दा बढी पटक सुनिएको यो गीतजस्तै अन्य गीतहरूले पनि लाखौँ श्रोता पाएको छ ।
प्रतिवेदनअनुसार केही गीतमा ‘इजरायलको मृत्यु होस्’ र ‘अमेरिकाको मृत्यु होस्’जस्ता नाराहरू प्रयोग गरिएको छ । यस्ता सामग्रीका टिप्पणी खण्डमा पनि चरमपन्थी गतिविधिको समर्थन गर्ने अभिव्यक्तिहरू भेटिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । ‘टाइम टु स्टप द म्युजिक’ शीर्षकको प्रतिवेदनले साउन्डक्लाउडमा रहेका ५५० भन्दा बढी गीतहरू कम्पनीकै नियम उल्लंघन गर्ने प्रकृतिका रहेको दाबी गरेको छ । विस्तृत रूपमा अध्ययन गरिएका ३० वटा गीतमध्ये सबैले कुनै न कुनै रूपमा हिंसात्मक गतिविधिको महिमामण्डन गरेको प्रतिवेदनमा उल्लेख छ ।
अनुसन्धानकर्ताहरूले स्पोटीफाई, एप्पल म्युजिक, युट्युब म्युजिक, अमेजन म्युजिक, टाइडल र डीजर लगायत अन्य प्लेटफर्महरूमा पनि हमाससँग सम्बन्धित सामग्री फेला परेको द टेलिग्राफ अखबारले जनाएको छ ।
प्रतिवेदनमा केही प्लेलिस्ट (गीतको समूह) र गीतहरूको आवरण चित्रमा हमासका झण्डा, हतियार तथा अक्टोबर ७, २०२३ मा इजरायलमाथि भएको हमलासँग सम्बन्धित प्रतीकहरू प्रयोग गरिएको उल्लेख छ ।
ड्यानी स्टोनले डिजिटल प्लेटफर्महरूले चरमपन्थी सामग्री नियन्त्रण गर्न पर्याप्त प्रयास नगरेको आरोप लगाए । यस्ता सामग्री हटाउन र प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न थप कडा मापदण्ड आवश्यक रहेको उनको भनाइ छ ।
प्रतिवेदन सार्वजनिक भएपछि साउन्ड क्लाउडले अनुसन्धानकर्ताहरूले औँल्याएका सबै आपत्तिजनक सामग्री हटाइएको जनाएको छ । यस्तै, स्पोटिफाईले पनि विवादित केही गीत र प्लेलिस्ट हटाइएको पुष्टि गरेको छ ।
विशेषज्ञहरूका अनुसार सामाजिक सञ्जालपछि अब सङ्गीत स्ट्रिमिङ प्लेटफर्महरू पनि चरमपन्थी प्रचारका नयाँ माध्यम बन्दै गएको संकेत यो अनुसन्धानले दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्