नेभिगेशन
प्रदेश

मेयर सिंह धरौटीमा थुनामुक्त

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह  पर्सा जिल्ला अदालतको आदेशमा ४ लाख १५ हजार रुपैयाँ धरौटीमा थुनामसक्त भएका छन् । पर्साको ठोरीबाट मंगलबार बिहान उनलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको थियो । 
न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । पर्सा जिल्ला अदालतका स्रेस्तेदार प्रभाकरकुमार मल्लिकका अनुसार नगरप्रमुख सिंहविरुद्ध लिखतसम्बन्धी कसुरमा चार लाख रुपैयाँ र झुट्टा विवरण पेस गरी नागरिकता बनाएको आरोपमा १५ हजार रुपैयाँ धरौटी माग गरिएको थियो । मुद्दामा उनीसँगै उनकी कान्छी पत्नी रिता भट्टराई तथा वीरगंज–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायलाई पनि प्रतिवादी बनाइएको छ ।
लियाकत अलीको जाहेरीका आधारमा सरकारवादी रहेको उक्त मुद्दामा नगरप्रमुख सिंहमाथि झुट्टा विवरण पेस गरी नागरिकता बनाइदिएको तथा लिखत किर्ते गरेको आरोप छ ।
प्रहरीका अनुसार लिखत किर्तेसम्बन्धी मुद्दामा अदालतको आदेशअनुसार जेठ ८ मा पक्राउ पुर्जी जारी भएको थियो भने नागरिकता सम्बन्धी कसुरमा अनुसन्धानका लागि जेठ १२ मा पुनः पक्राउ पुर्जी जारी भएको थियो । दोस्रोपटक पक्राउ पुर्जी जारी भएपछि मात्रै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । 
सिंहले एक किशोरीलाई नागरिकता दिलाउने क्रममा नक्कली बाबु बनेर झुटो विवरण पेस गरिएको दाबी मुद्दाको आरोपपत्रमा छ । अदालतमा थुनछेक बहसपछि उनी धरौटी बुझाएर छुटेका हुन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्