नेभिगेशन
विश्व

संयुक्त राष्ट्रसङ्घ सुधारमा भारतको जोड

न्यू योर्क, (एएनआई) । भारतले संयुक्त राष्ट्रसङ्घको विकास प्रणालीमा हुने कुनै पनि सुधार प्रक्रियाले सदस्य राष्ट्रहरूको विकास प्राथमिकता, राष्ट्रिय स्वामित्व, पारदर्शिता र जवाफदेहितालाई केन्द्रमा राख्नुपर्ने स्पष्ट धारणा अघि सारेको छ । संयुक्त राष्ट्रसङ्घको विकास संरचनामाथि पुनर्विचार भइरहेका बेला भारतले विकास प्रयासको नेतृत्व सम्बन्धित देशहरूकै हातमा रहनुपर्नेमा जोड दिएको हो ।
    संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद् (इकोसोक) मा सोमबार स्थानीय समयअनुसार भएको छलफलमा भारतले संयुक्त राष्ट्रसङ्घको विकास स्तम्भको मूल प्राथमिकता जोगाउनुका साथै विश्वव्यापी विकास अभियानको केन्द्रमा राष्ट्रिय स्वामित्व सुनिश्चित गरिनुपर्ने आवश्यकता उठाएको थियो ।
    संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि पर्वथानेनी हरिशले सामाजिक सञ्जाल एक्समार्फत आफूले संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना जे मोहम्मदसँग संवादमा भाग लिएको जानकारी दिनुभयो । अमिना संयुक्त राष्ट्रसङ्घ दिगो विकास समूहकी अध्यक्ष पनि हुन् ।
    हरिशका अनुसार भारतले संयुक्त राष्ट्रसङ्घको विकास स्तम्भलाई कमजोर हुन नदिई त्यसको प्राथमिकता सुरक्षित राख्नुपर्ने विषयमा जोड दिएको थियो । साथै, विकाससँग सम्बन्धित सबै प्रयासहरू सम्बन्धित राष्ट्रहरूको आवश्यकता, प्राथमिकता र स्वामित्वमा आधारित हुनुपर्ने धारणा भारतले दोहो¥याएको उहाँले बताउनुभयो ।
    भारतले संयुक्त राष्ट्रसङ्घको आवासीय संयोजक प्रणालीमा भइरहेको सुधारसम्बन्धी बहस विकासशील देशहरूको आवश्यकता र राष्ट्रिय विकास एजेन्डालाई थप प्रभावकारी समर्थन गर्ने दिशामा केन्द्रित रहनुपर्नेमा पनि बल दिएको छ ।
‘आवासीय संयोजक प्रणालीको कुनै पनि पुनःसमायोजनले विकास स्तम्भअन्तर्गत रहेका देशहरूलाई उपलब्ध कार्यक्रमगत सहयोगलाई अझ मजबुत बनाउनु पर्छ,’ हरिशले भने ।
    संयुक्त राष्ट्रसङ्घ प्रणालीभित्रको शासन र कोष व्यवस्थासम्बन्धी विषयलाई पनि भारतले महत्त्वपूर्ण मुद्दाका रूपमा उठाएको छ । हरिशले आवासीय संयोजक प्रणालीको भावी संरचना, कोष परिचालन र शासन मोडेलबारे छलफल भइरहेका बेला पारदर्शिता, जवाफदेहिता तथा प्रणालीले पारेको विकासगत प्रभावको विस्तृत मूल्याङ्कन अपरिहार्य रहेकोमा जोड दिए ।
    यसबीच, भारतले संयुक्त राष्ट्रसङ्घ शान्ति अभियानमा आफ्नो दीर्घकालीन योगदानलाई पनि पुनः स्मरण गरेको छ । मे ३० मा भारत र अस्ट्रियाका स्थायी मिसनले संयुक्त राष्ट्रसङ्घ शान्तिरक्षकहरूको अन्तर्राष्ट्रिय दिवस संयुक्त रूपमा आयोजना गर्दै संयुक्त राष्ट्रको झण्डामुनि सेवा गर्ने क्रममा ज्यान गुमाएका करिब चार हजार शान्तिरक्षकलाई सम्मान गरेका थिए । तीमध्ये १८४ जना भारतीय शान्तिरक्षक रहेका छन् ।
    हरिशले एक्समा लेखेको सन्देशमा भारत र अस्ट्रियाको स्थायी मिसनले न्युयोर्कस्थित भारतको स्थायी नियोगमा गम्भीर स्मरण समारोहको सह–आयोजना गरेको उल्लेख गरेका छन् । उनले संयुक्त राष्ट्रसङ्घको झण्डामुनि सर्वोच्च बलिदान दिने १८४ भारतीयसहित झन्डै चार हजार बहादुर शान्तिरक्षकप्रति सम्मान व्यक्त गरे ।
    उनले विशेष रूपमा गत वर्ष शान्ति मिसनका क्रममा ज्यान गुमाएका ४५ जना वर्दीधारी शान्तिरक्षकलाई स्मरण गर्दै उनीहरूको साहस, कर्तव्यनिष्ठा र शान्तिप्रतिको समर्पण कहिल्यै नबिर्सिने बताए ।
    संयुक्त राष्ट्रसङ्घमा भारतको स्थायी मिसनका अनुसार भारतले सन् १९४८ यता संयुक्त राष्ट्रसङ्घको विश्वसनीय साझेदारका रूपमा ५० भन्दा बढी शान्ति मिसनमा करिब तीन लाख सैनिक तैनाथ गरिसकेको छ । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको रक्षाका क्रममा १८४ भारतीय शान्तिरक्षकले ज्यान गुमाएका छन् ।
    यस अवसरमा भारतस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयले सन् २०२५ को ‘मिलिटरी जेन्डर एडभोकेट अफ द इयर’ पुरस्कार प्राप्तकर्ता मेजर अभिलाषा बराकलाई पनि सम्मान गरेको छ । उनी हाल लेबनानमा संयुक्त राष्ट्रसङ्घ अन्तरिम बलसँग आबद्ध भएर सेवा गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व