नेभिगेशन
विश्व

युक्रेनमा रुसको भीषण हवाई आक्रमण, २२ जनाको मृत्यु

किएभ  । रुसले रातभर युक्रेनका विभिन्न सहरहरूमा गरेको व्यापक हवाई आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १३८ जना घाइते भएका छन् । सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रयोग गरी गरिएको आक्रमणले राजधानी किएभसहित मध्य र पूर्वी युक्रेनका धेरै सहरमा ठूलो क्षति पु¥याएको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार डिनिप्रोमा १६ र किएभमा ६ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूले भग्नावशेषबाट एक तीन वर्षीया बालिका, एक महिला र उनका आठ वर्षीय छोराको शव फेला पारेका छन् । आक्रमणका कारण आवासीय भवनहरू ध्वस्त भएका छन् भने खोज तथा उद्धार कार्य जारी छ ।
युक्रेनी वायु सेनाले रुसले ७३ वटा क्षेप्यास्त्र र ६५६ वटा ड्रोन प्रहार गरेको जनाएको छ । तीमध्ये ४० क्षेप्यास्त्र र ६०२ ड्रोन नष्ट वा निष्क्रिय पारिएको दाबी गरिएको छ । आक्रमणको लक्ष्य किएभ, डिनिप्रो, पोल्टावा, खार्किभ र जापोरिझिया क्षेत्रहरू रहेका थिए ।
किएभ सहर सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोका अनुसार राजधानीमा मात्रै ८१ जना घाइते भएका छन् । आवासीय भवन, ऊर्जा संरचना तथा अन्य नागरिक पूर्वाधारमा गम्भीर क्षति पुगेको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप अन्तर्राष्ट्रिय समर्थनको अपील गर्दै युक्रेन पर्याप्त सुरक्षा बिना रहे यस्ता आक्रमण दोहोरिने चेतावनी दिएका छन् । रुसी रक्षा मन्त्रालयले भने सैन्य–औद्योगिक संरचनालाई लक्षित गरिएको दाबी गरेको छ ।
युद्ध चौथो वर्षमा प्रवेश गरिरहँदा दुबै पक्षबीचको सैन्य दबाब बढ्दै गएको र शान्ति प्रयासहरू अझै निष्कर्षविहीन रहेको विश्लेषकहरूले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्