नेभिगेशन
अर्थतन्त्र

इसेवा ह्याकाथन सम्पन्न

चितवन । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाद्वारा सौराहामा आयोजित ‘इसेवा ह्याकाथन २०२६’ सम्पन्न भएको छ । जेठ १५ देखि आयोजित आवासीय ह्याकाथन नयाँ प्रविधि, नवप्रवर्तन, सिर्जनशील सोच तथा वातावरणीय दिगोपनासँग सम्बन्धित डिजिटल समाधानहरू प्रस्तुत गर्दै आइतबार सम्पन्न भएको हो ।
इसेवाले वन्यजन्तु तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको संस्था विश्व वन्यजन्तु कोष नेपालसँगको सहकार्यमा उक्त ह्याकाथन आयोजना गरेको थियो । नेपालमा नवप्रवर्तन संस्कृतिको विकास, डिजिटल समाधानको खोजी तथा युवा उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले आयोजित ह्याकाथनमा देशभरबाट छनोट भएका २० टोलीका ६३ युवा प्रतिभाबीच प्रतिस्पर्धा भएको थियो ।
सहभागी प्रतिस्पर्धी टोलीहरूले फिनटेक, साइबर सुरक्षा, डिजिटल समावेशीकरण तथा वातावरणीय दिगोपनासँग सम्बन्धित नवीन डिजिटल समाधान तथा प्रोटोटाइपहरू प्रस्तुत गरेका थिए । ह्याकाथनको निर्णायक मण्डलद्वारा गरिएको मूल्यांकनका आधारमा उत्कृष्ट तीन टोली छनोट गरिएको थियो । 
आदित्यकुमार साह तेली र पूजा यादव सदस्य रहेको टोली ‘कन्फ्युजन म्याट्रिक्स’ले प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी, अभिनन्दन राजभण्डारी, एरबिन श्रेष्ठ, उत्सव दाहाल र सविन न्यौपाने आबद्ध टोली ‘क्यास फ्लो’ द्वितीय भयो भने इन्द्रप्रसाद सापकोटा, समिप घिमिरे, सौगात अधिकारी र स्नेहा क्षेत्री सम्मिलित टोली ‘आर्याना’ले तृतीय स्थान हासिल ग¥यो ।
ह्याकाथनमा प्रथम, द्वितीय र तृतीय हुने टोलीहरूले क्रमशः ३ लाख, २ लाख र १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको इसेवाले जनाएको छ । इसेवाले नवप्रवर्तन संस्कृतिको विकास, उद्यमशीलता प्रवर्धन तथा डिजिटल अर्थतन्त्रमा योगदानका लागि आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्