काठमाडौ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीको नियमित १५औं महाधिवेशनअन्तर्गत कात्ति १५ भित्र सबै जिल्ला अधिवेशन सक्ने भएको छ । मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने घोषणा गरेको इतर पक्षले त्यसअघि संगठनात्मक अधिवेशनका सबै प्रक्रिया पूरा गर्न लागेको हो ।
असोज १५ गतेदेखि सुरु भएको अधिवेशन प्रक्रियाअन्तर्गत हालसम्म ४ सय ८० पालिका र ६ हजार १ सय ७ वडामा अधिवेशन सम्पन्न गरिसकेको केन्द्रीय निर्वाचन समिति संयोजक एगराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार हालसम्म १७० वटा प्रदेशसभा निर्वाचन क्षेत्र, ८५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २१ जिल्लामा समेत अधिवेशन सम्पन्न भइसकेको छ । विशेषगरि सुदूरपश्चिम र कर्णालीमा इतरपक्षको अधिवेशनमा बाक्लो उपस्थिती देखिएको छ ।
पार्टीको संस्थापन पक्षले २९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन सम्पन्न गरिसकेको छ । उक्त महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले सभापतिको सपथ लिँदै कार्यभार सम्हालिसकेका छन् ।
तर, थापाको नेतृत्वमा सम्पन्न महाधिवेशन बहिष्कार गरेको पूर्वसभापति शेरबहादुर देउवा पक्षले समानान्तर रूपमा १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउँदै जिल्ला अधिवेशनलाई तीव्रता दिएको छ । पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला स.स्थापनपक्षले महाधिवेशनको प्रक्रिया अघि बढाउको थियो । मुद्दाको अन्तिम फैसला नआउँदासम्म महाधिवेशनको सबै प्रक्रिया रोक्न माग गर्दैै इतर पक्ष सर्वोच्च गएको थियो । तर, सर्वोच्चले उक्त मागमा आदेश दिन इन्कार गरेपछि इतरपक्षले पूर्वमहामन्त्री शशांक कोइरालाको नेतृत्वमा महाधिवेशन तयारी समिति गठन गर्दै वडा, पालिका र निर्वाचन क्षेत्रका अधिवेशन अघि बढाएको थियो ।
इतरपक्षको निर्वाचन समितिका अनुसार देशभरका ६ हजार ७४३ वडामध्ये ६ हजार १०० वडामा अधिवेशन सम्पन्न भएको छ । अझै १४३ वडामा अधिवेशन हुन बाँकी छ । त्यस्तै, ७५३ पालिकामध्ये ४९७ वटामा अधिवेशन सकिएको छ भने २५६ पालिकामा हुन बाँकी छ ।
देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ११६ वटामा क्षेत्रीय अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये २२ जिल्लामा नेतृत्व चयन भइसकेको महाधिवेशन तयारी समितिको सचिवालय समन्वय प्रमुख दीपकप्रसाद कुइँकेलले जानकारी दिए । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने तयारी रहेको उनले बताए । मुगुमा तिलक मल्ल,जुम्लामा नेत्रकला शाही, हुम्ला सूर्यबहादुर शाही , कालिकोट नगेन्द्रबहादुर विष्ट, डोटी बाजीसिंह खड्का (विजय), संखुवासभामा रामकुमार जिसी ,डडेलधुरा मा विजय खड्का , रुकुमपश्चिम नन्दबहादुर विष्ट जिल्ला सभापति निर्वाचित भएका छन् । त्यस्तै बैतडीमा वीरबहादुर विष्ट सभापति चयन भएका छन् ।
सबै जिल्लामा अधिवेशन प्रक्रिया जारी रहेको र सबैलाई समेटेर लैजाने प्रयासका कारण केही स्थानमा ढिलाइ भएको उनले सुनाए । उनले भने, ‘७७ वटै जिल्लामा अधिवेशनको प्रक्रिया जारी छ । सबैलाई मिलाएर लैजाने हाम्रो प्रयास हो ।’ संस्थापन पक्षको महाधिवेशनमा सहभागि भएकाहरु पनि इतरपक्षको अधिवेशनमा सहभागी भइरहेका छन् । संस्थापन पक्षको जिल्ला कार्यसमिति र प्रदेश समितिको निर्वाचन हुन भने बाँकी छ । असोज १८ देखि २३ गतेसम्म संस्थापनपक्षले १५औँ महाधिवेशन गरेको थियो ।
देउवा पक्षले प्रदेश अधिवेशन मंसिर ४ गते र केन्द्रीय महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा गर्दैछ ।
७ हजार प्रतिनिधि चयन हुने
इतरपक्षले महाधिवेशन प्रतिनिधि छनोटको व्यवस्थासमेत संशोधन गरेको छ । संशोधित व्यवस्थाअनुसार प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३५ जना प्रतिनिधि निर्वाचित हुनेछन् । यसरी १६५ निर्वाचन क्षेत्रबाट मात्रै ५ हजार ७७५ प्रतिनिधि चयन हुनेछन् । उक्त व्यवस्थाअनुसार खुलातर्फ चार महिलासहित १४, समावेशी समूहबाट १०, १८ देखि २८ वर्ष उमेर समूहका दुई तथा ४० वर्षमुनिका युवाबाट दुई प्रतिनिधि चयन हुनेछन् । दुवै युवा समूहमा एक–एक महिला अनिवार्य गरिएको छ । त्यस्तै, अपांगता भएका व्यक्तिबाट एक, प्रजातन्त्र सेनानी, द्वन्द्वपीडित तथा सहिद परिवारबाट दुई, विषयविज्ञ र श्रमिकबाट दुई तथा अन्य समूहबाट दुई प्रतिनिधि चयन हुने कुइँकेलले बताए ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय सभापति, एक निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति, प्रदेशसभा निर्वाचन क्षेत्रीय सभापति र पालिका सभापति पनि पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।
त्यस्तै, १४औँ महाधिवेशनका पदाधिकारी तथा केन्द्रीय सदस्य, प्रतिनिधिसभा र प्रदेशसभा सांसद तथा २०७९ को स्थानीय निर्वाचनमा रूख चिह्नबाट विजयी उम्मेदवारलाई पनि स्वतः महाधिवेशन प्रतिनिधि बनाइएको छ । यसरी महाधिवेशनमा सहभागी हुने कुल प्रतिनिधिको संख्या करिब सात हजार पुग्नेछ ।
कांग्रेसमा व्यापक एकता भएको छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आइतबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए । उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए । “बाटो फरक भए पनि हाम्रो गन्तव्य एउटै हो,” उनले भने, “कांग्रेससँग रिसाएका जनतालाई फेरि आकर्षित गर्न आवश्यक योजना ल्याउँछौँ ।”
महामन्त्री पौडेलले पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने धारणा राखे । कांग्रेसलाई थप सुदृढ र जनताप्रति उत्तरदायी बनाउँदै रुपान्तरणको अनुभूति दिलाउने उनको भनाइ थियो । सरकारको स्थिरताबारे पौडेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने बताए । सरकारको स्थिरताका पक्षमा कांग्रेस रहेको उल्लेख गर्दै उनले सरकारले गलत काम गरेमा भने कांग्रेसले निरन्तर खबरदारी गर्ने स्पष्ट पारे ।