नेभिगेशन
राजनीति

महँगी, भ्रष्टाचार र बेथितिविरुद्ध नेकपाको २ महिने अभियान शुरु

कात्तिक ७ देखि मंसिर २५ सम्म राष्ट्रिय जागरण अभियान, जनजीविकाका समस्या समाधान र पार्टी रूपान्तरण मुख्य प्राथमिकता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले महँगी, बेरोजगारी, भ्रष्टाचार, कालोबजारी र बेथितिविरुद्ध जनतामाझ जाने घोषणा गरेको छ । पार्टीले कात्तिक ७ देखि मंसिर २५ गतेसम्म सञ्चालन गर्ने दुईमहिने राष्ट्रिय जागरण अभियानमार्फत जनताका समस्या पहिचान गर्ने, सरकारलाई जिम्मेवार बनाउने र समाधानका लागि दबाब दिने जनाएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा अभियानको उद्घाटन गर्दै जारी गरेको अपिलमा जनजीविकाका समस्या, लोकतन्त्र र नागरिक अधिकारको रक्षा, राष्ट्रिय स्वाधीनता तथा पार्टी रूपान्तरणलाई मुख्य प्राथमिकतामा राखिएको छ ।  
विभिन्न कम्युनिष्ट घटक मिलेर बनेको नेकपाको राजनीतिक गतिविधि सुस्त थियो । अब भने नेकपा नयाँ राजनीतिक परिस्थिति बनाउने गरी जनतामा जान लागेको हो । 
उसले सरकारविरुद्ध विभिन्न एजेण्डासहित जनतामा जाने बताएको छ । दुईतिहाइ बहुमतको सरकारबाट जनताले अपेक्षाअनुसार परिणाम प्राप्त गर्न नसक्दा निराशा, असन्तुष्टि र अन्योल बढेको दाबी गरिएको छ । महँगीले जनजीवन कष्टकर बनेको, बेरोजगारी र युवा पलायन बढेको तथा किसान, मजदुर, उद्यमी र व्यवसायीले कठिनाइ भोगिरहेको नेकपाको निचोड छ । 
अभियानमार्फत जनताका समस्या सुन्ने मात्र नभई समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने, संगठनलाई जनताको सेवामा परिचालन गर्ने र राष्ट्रिय हित तथा जनजीविकाका सवालमा राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्रसँग सहकार्य गर्ने नेकपाको घोषणा छ ।
सरकारलाई दबाब दिने
नेकपाले अभियानका क्रममा केन्द्रीय नेताहरूको नेतृत्वमा गाउँ, वडा र टोलसम्म पुगेर नागरिकका समस्या, गुनासा, सुझाव र आलोचना संकलन गर्ने जनाएको छ । महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुम्बासी तथा श्रमिकका समस्या र वैदेशिक रोजगारीका कठिनाइ अभियानका मुख्य विषय हुनेछन् ।
पार्टीले संकलित समस्या स्थानीय, प्रदेश र संघीय तहका सम्बन्धित निकायसम्म पु¥याउने, आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र बुझाउने र समाधानका लागि निरन्तर पहल गर्ने अपिलमा उल्लेख गरेको छ । गुनासाको अभिलेख राख्ने र समाधानका लागि भएका प्रयासको प्रगतिबारे जनतालाई जानकारी गराउने पनि नेकपाको योजना छ ।
किसान, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, अल्पसँख्यक समुदाय, शिक्षक, कर्मचारी, उद्यमी तथा व्यवसायीसँग प्रत्यक्ष संवाद गर्ने पार्टीले जनाएको छ ।
लोकतन्त्र र नागरिक अधिकारको रक्षा मुख्य माग
नेकपाले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिकता, समावेशिता, धर्मनिरपेक्षता र नागरिक स्वतन्त्रताको रक्षामा जोड दिएको छ । अपिलमा फरक मतप्रति असहिष्णु व्यवहार, बोल्ने र प्रश्न गर्ने नागरिकको स्वतन्त्रतामाथि रोक तथा लोकतान्त्रिक संस्था र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको आरोप लगाइएको छ ।
पार्टीले नयाँ र पुरानाबीच कृत्रिम विभाजन सिर्जना गरेर सामाजिक घृणा बढाउने तथा नागरिकका राजनीतिक अधिकार संकुचित गर्ने प्रवृत्ति देखिएको भन्दै विरोध गरेको छ । राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न व्यापक राष्ट्रिय एकता आवश्यक रहेको पनि अपिलमा उल्लेख छ ।
त्यस्तै, रसुवाको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता नागरिकको खोज तथा उद्धारमा भएको भनिएको ढिलाइप्रति आपत्ति जनाउँदै नेकपाले विपद् प्रभावितलाई प्रभावकारी राहत, विस्थापित परिवारलाई सुरक्षित पुनःस्थापना र क्षतिग्रस्त भौतिक संरचनाको शीघ्र पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
पार्टी रूपान्तरण र समाजवाद निर्माणमा जोड
नेकपाले अभियानलाई संगठन विस्तारमा मात्र सीमित नराखी पार्टीलाई जनमुखी बनाउने अवसरका रूपमा अघि सार्ने बताएको छ । किसान, मजदुर, श्रमजीवी तथा उत्पीडित वर्ग र समुदायसँग पार्टीको सम्बन्ध कमजोर हुँदै गएको र जनमुखीभन्दा नेतामुखी तथा गाउँमुखीभन्दा केन्द्रमुखी प्रवृत्ति बढेको नेकपाले स्वीकार गरेको छ । 
पार्टीले सदस्यता नवीकरण तथा अद्यावधिक, संगठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म पूरा गर्ने लक्ष्यसमेत राखेको छ । नेता तथा कार्यकर्तालाई जनताका कुरा सुन्न, आलोचना स्वीकार गर्न र आफ्ना कमजोरी सच्याउन आग्रह गरिएको छ ।
छिट्टै नयाँ राजनीतिक परिस्थिति बन्छः प्रचण्ड 
नेकपाका संयोजक प्रचण्डले मुलुकमा छिट्टै नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन् । इतिहासमा आफ्नो पार्टीले खेलेको भूमिका र विचारलाई अवमूल्यन गर्न खोजिएको भन्दै उनले छिट्टै नयाँ परिस्थिती निर्माण हुने दाबी गरे । जागरण अभियानको उद्घाटन गर्दै उनले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्था असहज बन्दै गएको र बढ्दो भूराजनीतिक चलखेलको असर नेपालमा समेत परेको बताए । जनताका मुद्दा निष्ठापूर्वक उठाउन सके प्रतिकूल अवस्थामा पनि जनसमर्थन जुट्ने उनको विश्वास छ । ‘रुस–युक्रेनको कुरा होस् । चाहे इजलायल–प्यालेस्टाइनको कुरा होस् । नयाँ सेट बनिसकेको छैन । यस्तो बडो विचित्रको संक्रमणकालीन अवस्थाबाट विश्व राजनीतिक पनि गुज्रेको देखिँदैछ’ उनले भने, ‘यो भूराजनीति भनौं या विश्वभरीको दोस्रो विश्वयुद्धपछिको सेट भत्किँदै गरेको र नयाँ सेट बनिनसकेको परिस्थितिको असर सबैतिर परेको छ ।’ त्यस्तै, अर्को फरक सन्दर्भमा प्रचण्डले नेकपा एमालेसँग पार्टी एकताको अहिले सम्भावना नरहेको बताए । 
कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपालले पुराना दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्यलाई तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिए । विगत ३५ वर्षमा भएका उपलब्धिको चर्चा नगरी पुराना दलमाथि अपजस मात्रै थोपर्ने प्रवृत्ति रहेको उनको भनाइ थियो । तथ्यले पुष्टि गरे आफूहरू कमजोरी स्वीकार गर्न तयार रहेको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्