नेभिगेशन
सूचना प्रविधि

महाविनाशको संघारबाट जोगियो इन्टरनेट

३५ घण्टा नसुती एक व्यक्तिले बचाए संसारकै ७० प्रतिशत वेब सञ्जाल

काठमाडौँ । शुक्रबार सधैँझैँ दुध, दही र मोही किन्न यो संवाददाता घरबाट निस्कियो तर अनलाइन पेमेन्टले काम गरेन । दुईपटक प्रयास गर्दा पनि रकम तिर्न नसकेपछि पसले भाइले भोलि तिर्ने शर्तमा सामग्री लैजान दिए ।
दुई दिनअघिको त्यस घटना नेपालको कुनै एउटा बैंकको मात्र समस्या थिएन । संसारभरका वेबसाइटहरूमा पर्न सक्ने विपत्ति रोक्ने प्रयासस्वरूप पेमेन्टका काम पनि बैंकहरूले रोकेका थिए । अझ कतिपय वेबसाइटहरू त बन्द नै भए । अचानक के भयो भन्ने कुरा कसैलाई थाहा नभए पनि इन्टरनेटको संसारमा रूचि राख्नेहरूले पछि बुझे, एआई प्रयोग गरेर एक जना इथिकल ह्याकरले चुहाएको सूचनाका कारण बैंक तथा वित्तीय संस्थादेखि सरकारी वेबसाइटसम्म अफलाइन गरिएका थिए ।
यो संवाददाताले तिरेको रकम पछि सबै इन्टरनेट आँधी शान्त भएपछि दुई पटक काटिएको फेला पा¥यो । त्यो रकम फिर्ता लिने क्रम जारी नै छ ।
इन्टरनेटको संसारले बेहोरेको त्यो आँधीलाई बेलैमा सचेतनापूर्वक शान्त नगरिएको भए विश्वभरका अधिकांश वेबसाइटहरूलाई तहसनहस पार्न सक्थ्यो । समयमै यसको समाधान नखोजिएको भए, विश्वव्यापी रूपमा प्रविधिको ठूलो हिस्सा ठप्प हुने निश्चित थियो । तर, अमेरिकाको फ्लोरिडा राज्यस्थित वेस्ट पाम बिचमा बस्ने ३७ वर्षीय रायन अस्टिन नामका एक इथिकल ह्याकरले आफ्नो ज्यानको पर्वाह नगरी, लगातार ३५ घण्टासम्म नसुतीकन काम गरेर इन्टरनेटलाई यो भयानक दुर्घटनाबाट बचाएका छन् । उनी ‘क्यालिफ’ नामक एउटा सानो साइबर सुरक्षा कम्पनीमा काम गर्छन् । यस कम्पनीले ओपनएआईका अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स उपकरणहरू प्रयोग गरेर इन्टरनेटभरि लुकेका कमजोरीहरू पत्ता लगाउने र तिनलाई सुधार्ने काम गर्छ । अस्टिनको यही अहोरात्र खटाइले उनलाई ‘इन्टरनेट बचाउने नायक’ को उपाधि दिलाएको छ ।
यो घटनाको सुरुवात इन्टरनेटको एउटा निकै महत्त्वपूर्ण र आधारभूत प्रोग्रामिङ भाषा ‘पीएचपी’सँग जोडिएको छ । विश्वका करिब ७० प्रतिशतभन्दा बढी वेबसाइटहरू यही भाषाको जगमा निर्माण भएका छन् । आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले अस्टिनले पीएचपीमा वर्षौंदेखि कसैको नजरमा नपरेको एउटा गम्भीर सैद्धान्तिक कमजोरी (भल्नरेबिलिटी) पत्ता लगाएका थिए । सुरुमा त उनलाई एआईले झुटो बोलिरहेको वा काम छिटो सक्न छलकपट गरिरहेको जस्तो लागेको थियो तर जब उनले गहिरिएर त्यसको प्राविधिक परीक्षण गरे, अनि त उनी छाँगाबाट खसेजस्तै भए । यो कस्तो कमजोरी थियो भने, यसको फाइदा उठाएर खराब नियत भएका ह्याकरहरूले विश्वभरका कम्प्युटर प्रणालीमा सजिलै प्रवेश पाउन सक्थे र जस्तोसुकै डाटा पनि चोर्न सक्थे । अस्टिन आफैंले यो कमजोरीको पूर्ण दायरा बुझेपछि यो कति भयानक छ भन्ने महसुस गरेका थिए । उनले गत अगस्ट महिनादेखि नै यसलाई सुधार्ने अर्थात् ‘प्याच’ गर्ने काममा आफ्नो हरेक सेकेन्ड खर्चिरहेका थिए ।
यो यति संवेदनशील विषय थियो कि यसलाई पूर्ण रूपमा गोप्य राख्नु अपरिहार्य थियो । अस्टिन र उनको टोलीले विश्वभरका एआई कम्पनीहरू र विभिन्न देशका सरकारहरूसँग मिलेर गुपचुप रूपमा यो समस्या समाधान गर्ने प्रयास गरिरहेका थिए । साइबर सुरक्षाको भाषामा यसलाई ’को–अर्डिनेसन’ भनिन्छ । खराब तत्त्वले थाहा पाउनुभन्दा पहिल्यै प्रभावित पक्षलाई जानकारी दिएर सुरक्षित गरिने यो प्रक्रियाकै क्रममा दुर्भाग्यवश गत मंगलबार राति एउटा ह्याकिङ फोरममा यो गोप्य प्रोजेक्ट लिक भयो । रहस्य बाहिरिनासाथ अस्टिनले आफ्नो कार्यसमूहको च्याटमा चेतावनी दिँदै लेखे, “हामीले आफूलाई तयार राख्नुपर्छ, यो सुरु भइसक्यो ।”
यो जानकारी बाहिरिनासाथ विश्वभर हाहाकार मच्चियो । लाखौँ ¥यान्समवेयर (फिरौती माग्ने) ह्याकका प्रयासहरू हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेदरल्यान्ड्स, फिनल्यान्ड, फ्रान्स र जर्मनीजस्ता शक्तिशाली युरोपेली राष्ट्रहरूले आफ्ना सरकारी वेबसाइटहरूमा तत्काल आपतकालीन सुरक्षा उपायहरू लागू गरे । बेलायतका स्थानीय काउन्सिलका वेबसाइटहरू, राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का केही भागहरू र प्रख्यात ज्ञानकोश विकिपिडियासमेत केही समयका लागि बन्द भए । यो खबर थाहा नपाएकाहरू वेबसाइट नखुलेकामा मुर्मुरिए । अवस्था यति गम्भीर बन्यो कि ह्याकरहरूले डाटा चोर्न नपाऊन् भनेर विश्वव्यापी रूपमा चलिरहेको दौडधुपकैबीच बीबीसीका चर्चित टेलिभिजन कार्यक्रमहरू ‘डक्टर हु’ र ‘द ट्रेटर्स’ जस्ता शोहरूसमेत अफलाइन गरिए ।
यति ठूलो संकट टार्ने रायन अस्टिनको व्यक्तिगत जीवन भने निकै शान्त र रहस्यमयी छ । हालैका दिनसम्म इन्टरनेटमा उनको एउटा पनि आधिकारिक तस्बिर उपलब्ध थिएन । उनले आफूलाई यति धेरै गुमनाम राखेका थिए कि उनका ५० जना सहकर्मीमध्ये जम्मा दुई जनाले मात्र उनलाई प्रत्यक्ष रूपमा भेटेका थिए । अस्टिन फ्लोरिडास्थित आफ्नो घरमा चित्रकार श्रीमती स्टेफनी कोर्टेज, दुईवटा कुकुर, चारवटा बिरालो र ’बटर्स’ नामक एउटा सर्पसँग बस्छन् । उनको कम्प्युटर ह्याकिङप्रतिको रुचि १३ वर्षको कलिलो उमेरदेखि नै सुरु भएको थियो । पारिवारिक समस्याका कारण उनले हाई स्कुलको पढाइ बिचैमा छाडेका थिए र विश्वविद्यालयको अनुहारसम्म देख्न पाएनन् । सानै उमेरमा घर छाडेका उनलाई उनको पहिलो कम्प्युटर कम्पनीले रोजगारी दिएर एक प्रकारले उद्धार गरेको उनी बताउँछन् ।
ह्याकर समुदायभित्र अस्टिनले आफ्नो छुट्टै संसार र परिवार भेट्टाए । उनले द टाइम्स दैनिक पत्रिकालाई भनेका छन्, “ह्याकर समुदायमा धेरै मानिसहरू यसकारण आकर्षित हुन्छन् किनभने उनीहरू टुक्रिएको परिवार र पृष्ठभूमिबाट आएका हुन्छन् । मभित्र कुनै पनि कुरालाई हेर्दा यसलाई कसरी बिगार्न वा भत्काउन सकिन्छ होला भनेर सोच्ने जन्मजात स्वभाव छ ।” यद्यपि, उनी तुरुन्तै थप्छन्, “तर त्यो कुनै खराब नियतले भने होइन ।” कमजोरी पत्ता लागेर सार्वजनिक भएपछिको त्यो संकटपूर्ण घडीमा अस्टिन लगातार ३५ घण्टासम्म सुतेनन् । इन्टरनेटलाई सुरक्षित राख्ने उनको यही अथक प्रयासले उनलाई विश्वव्यापी समाचारको हेडलाइन बनाएको छ । उनलाई यतिबेला इन्टरनेट बचाउने मानिसको रूपमा जयजयकार गरिँदैछ । यो सुन्दा उनी मुस्कुराउँदै भन्छन्, “यो निकै ठूलो उपाधि हो तर मलाई लाग्छ यो केही हदसम्म सही पनि हुन सक्छ ।” यसरी एउटा साधारण पृष्ठभूमिका व्यक्तिले आफ्नो असाधारण लगनशीलता र इमानदारीका कारण आधुनिक विश्वको सञ्चारको मेरुदण्डलाई ध्वस्त हुनबाट जोगाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्