नेभिगेशन
सूचना प्रविधि
एआईको युगमा शिक्षाको नयाँ बहस

ज्ञान मात्रमा नभई चरित्र निर्माणमा पीस फाउन्डेशनको जोड

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै विश्वको परम्परागत शिक्षा प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको निष्कर्षसहित ग्लोबल पिस फाउन्डेसनले शिक्षाको रूपान्तरणसम्बन्धी नयाँ अवधारणा अघि सारेको छ । संस्थाले सार्वजनिक गरेको ‘ट्रान्सफर्मिङ एजुकेसन ब्लुप्रिन्ट–२०२६’ ले अबको शिक्षा विद्यार्थीलाई सूचना र ज्ञान उपलब्ध गराउने माध्यममा मात्र सीमित नभई चरित्रवान्, जिम्मेवार, सिर्जनशील र नैतिक नागरिक निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याएको छ ।
प्रतिवेदनअनुसार कृत्रिम बुद्धिमत्ताले मानिसले गर्ने धेरै बौद्धिक काम सहजै गर्न थालेपछि शिक्षा प्रणालीको आधारभूत उद्देश्य नै पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ । तथ्य सम्झिने, प्रश्नको उत्तर दिने, लेख तयार पार्ने र जटिल समस्याको समाधान खोज्नेजस्ता काम एआईले गर्न थालेको अवस्थामा परीक्षामा उत्कृष्ट अंक ल्याउनु मात्र विद्यार्थीको वास्तविक क्षमताको मापदण्ड हुन नसक्ने प्रतिवेदनको निष्कर्ष छ ।
यसले अबको शिक्षामा विद्यार्थीले के जानेको छ भन्नेभन्दा ऊ कस्तो मानिस बन्दै छ भन्ने प्रश्नलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।
प्रतिवेदनले वर्तमान शिक्षा प्रणालीमा सीपको अभाव मात्र नभई चरित्र र जीवनको उद्देश्यसम्बन्धी संकटसमेत देखिएको उल्लेख गरेको छ । ज्ञान र प्रविधिमा दक्ष भए पनि इमानदारी, जिम्मेवारी र नैतिक चेतनाको अभाव भएको जनशक्तिले समाजमा सकारात्मक परिवर्तन ल्याउन नसक्ने भन्दै शिक्षाको आधार नै परिवर्तन गर्न प्रस्ताव गरिएको छ ।

चरित्र, परिवार र सिर्जनशीलता शिक्षाका तीन आधार
फाउन्डेसनले प्रस्ताव गरेको नयाँ शैक्षिक अवधारणा मुख्यतः तीन आधारमा केन्द्रित छ । पहिलो चरित्र निर्माण, दोस्रो परिवार तथा सामाजिक सम्बन्ध र तेस्रो सिर्जनशीलता तथा योगदान हो । चरित्र निर्माणअन्तर्गत विद्यार्थीको नैतिक चेतना, इमानदारी, आत्मअनुशासन, जिम्मेवारी र जीवनको उद्देश्यलाई प्राथमिकता दिइएको छ । यसमा आध्यात्मिक–नैतिक, भावनात्मक–सामाजिक, शारीरिक र मानसिक–बौद्धिक विकासलाई एकअर्कासँग जोडिएको छ ।
प्रतिवेदनले आध्यात्मिक तथा नैतिक विकासलाई कुनै निश्चित धर्मसँग सम्बन्धित नगरी सबै समाजले स्वीकार गर्ने मानवीय मूल्यका रूपमा व्याख्या गरेको छ । इमानदारी, करुणा, साहस, आत्मसंयम र अरूको सम्मानजस्ता गुण विद्यार्थीको दैनिक व्यवहारमै विकास गरिनुपर्ने उल्लेख छ ।
दोस्रो आधार परिवार र सामाजिक सम्बन्ध हो । बालबालिकाको पहिलो पाठशाला परिवार भएकाले विद्यालय र अभिभावकबीचको सहकार्यलाई शिक्षाको अनिवार्य अंग बनाउनुपर्ने प्रस्ताव गरिएको छ । परिवारबाट सिकिने विश्वास, प्रेम, जिम्मेवारी र सहकार्यले भविष्यमा असल नागरिक तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिवेदनको ठहर छ ।
तेस्रो आधार सिर्जनशीलता हो । विद्यार्थीलाई प्राप्त ज्ञान उपभोग गर्ने व्यक्तिमा मात्र सीमित नराखी नयाँ विचार, उद्यम, प्रविधि र सामाजिक समाधान सिर्जना गर्न सक्ने बनाउनु यसको उद्देश्य हो ।

शिक्षकको भूमिका बदल्न प्रस्ताव
प्रतिवेदनले शैक्षिक रूपान्तरणको सुरुवात विद्यार्थीबाट नभई शिक्षकबाट हुनुपर्नेमा विशेष जोड दिएको छ । यसअनुसार शिक्षकलाई पाठ्यवस्तु पढाउने व्यक्तिका रूपमा मात्र नभई विद्यार्थीको चरित्र, नेतृत्व र समग्र व्यक्तित्व विकास गर्ने मार्गदर्शकका रूपमा स्थापित गर्न आवश्यक छ ।
कृत्रिम बुद्धिमत्ताले पाठ्यसामग्री उपलब्ध गराउन र व्यक्तिगत सिकाइमा सहयोग गर्न सक्ने भए पनि विद्यार्थीमा नैतिकता, जिम्मेवारी र मानवीय सम्बन्ध विकास गराउने शिक्षकको भूमिका प्रविधिले प्रतिस्थापन गर्न नसक्ने प्रतिवेदनमा उल्लेख छ । यसका लागि परम्परागत शिक्षक तालिमको सट्टा शिक्षकको व्यक्तिगत, नैतिक तथा नेतृत्व क्षमता विकासमा दीर्घकालीन लगानी गर्न सुझाव दिइएको छ ।
प्रतिवेदनले केन्याका शिक्षक पिटर ताबिचीको उदाहरणसमेत प्रस्तुत गरेको छ । सीमित स्रोतसाधन भएका विद्यालयमा अध्यापन गराउँदै विद्यार्थीको क्षमता विकासमा उल्लेखनीय योगदान पु¥याएका ताबिची सन् २०१९ मा विश्वकै उत्कृष्ट शिक्षक घोषित भएका थिए ।

विकासशील देशका लागि अवसर
प्रतिवेदनले विशेषगरी अफ्रिकासहित विकासशील देशहरूका लागि नयाँ शिक्षा प्रणाली अपनाउने ऐतिहासिक अवसर रहेको औँल्याएको छ । यसमा प्रस्तुत तथ्यांकअनुसार अफ्रिकामा १५ देखि ३५ वर्ष उमेर समूहका युवाको संख्या हाल ४० करोडभन्दा बढी छ । सन् २०५० सम्म यो संख्या बढेर ८३ करोड पुग्ने अनुमान गरिएको छ ।
तर, अफ्रिकाका धेरै देशमा शिक्षाको पहुँच र गुणस्तर चुनौतीपूर्ण छ । उपसहारा अफ्रिकाका करिब १० मध्ये नौ बालबालिकाले १० वर्षको उमेरसम्म सामान्य पाठ पढेर त्यसको अर्थ बुझ्न नसक्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तो अवस्थामा विकसित देशको पुरानो शिक्षा प्रणालीको नक्कल गर्नुभन्दा नयाँ प्रविधि र मानवीय मूल्यलाई जोडेर विकासशील देशहरूले शिक्षामा ठूलो फड्को मार्न सक्ने तर्क गरिएको छ ।

एआईलाई प्रतिस्पर्धी होइन, सहयोगी बनाउने
प्रतिवेदनले कृत्रिम बुद्धिमत्तालाई शिक्षाको प्रतिस्पर्धी नभई सिकाइ र सिर्जनशीलता विस्तार गर्ने सहयोगी साधनका रूपमा प्रयोग गर्न सुझाव दिएको छ । अमेरिकाको टेक्सासस्थित अल्फा स्कुलको उदाहरण दिँदै एआईमा आधारित सिकाइ प्रणालीमार्फत बिहानको करिब दुई घण्टामा आधारभूत शैक्षिक अध्ययन गराई बाँकी समय परियोजना, नेतृत्व र व्यावहारिक गतिविधिमा केन्द्रित गर्ने अभ्यास प्रस्तुत गरिएको छ ।
त्यस्तै, एल साल्भाडोरका पाँच हजारभन्दा बढी विद्यालयमा एआईमा आधारित शिक्षण प्रणाली विस्तार गरिएको तथा फ्लोरिडा विश्वविद्यालयले विभिन्न संकायमा दुई सयभन्दा बढी एआईसम्बन्धी पाठ्यक्रम समावेश गरेको उदाहरण प्रतिवेदनमा उल्लेख छ ।

९० दिनभित्र कार्ययोजना बनाउन सुझाव
शिक्षा रूपान्तरणलाई अवधारणामा मात्र सीमित नराख्न फाउन्डेसनले राष्ट्रियदेखि विद्यालय र कक्षाकोठासम्म कार्यदल गठन गर्ने प्रस्ताव गरेको छ । शिक्षा मन्त्रालयको नेतृत्वमा राष्ट्रिय कार्यदल गठन गरी पहिलो ९० दिनभित्र साझा लक्ष्य निर्धारण गर्ने, तीनदेखि पाँचवटा नमुना विद्यालय वा विद्यालय समूह छनोट गर्ने र मापनयोग्य सूचकसहित राष्ट्रिय कार्ययोजना सार्वजनिक गर्न सुझाव दिइएको छ ।
त्यसैगरी, प्रत्येक तीन महिनामा प्रगति समीक्षा, वार्षिक सार्वजनिक प्रतिवेदन तथा २४ महिनापछि प्राप्त प्रमाणका आधारमा कार्यक्रम विस्तार, परिमार्जन वा बन्द गर्ने निर्णय लिन प्रस्ताव गरिएको छ । प्रतिवेदनले शिक्षा रूपान्तरणका लागि पाठ्यक्रम परिवर्तन वा प्रविधिमा लगानी मात्र पर्याप्त नहुने निष्कर्ष निकालेको छ । शिक्षक, परिवार, समुदाय र राज्यको संयुक्त प्रयासबाट सक्षम तथा विश्वासयोग्य नागरिक निर्माण गर्न सके मात्र शिक्षाले शान्ति र साझा समृद्धिको आधार तयार गर्न सक्ने यसको मूल सन्देश छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सूचना प्रविधि