नेभिगेशन
खेलकुद

आजबाट एनपीएलको तेस्रो संस्करण

काठमाडौं । आजबाट नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुँदैछ । यसको पूर्वसन्ध्यामा नेपाली क्रिकेटको व्यावसायिक बजारले नयाँ उचाइ लिने संकेत देखिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलका आठ फ्रेन्चाइज टोलीसहित लिगको समग्र बजार मूल्य करिब आठ अर्ब रुपैयाँ पुग्न सक्ने अनुमान सार्वजनिक गरेका छन् । प्रायोजक, सम्भावित लगानीकर्ता, प्रसारण कम्पनी र निजी क्षेत्रको बढ्दो आकर्षणले नेपाली क्रिकेटलाई ठूलो व्यावसायिक उद्योगका रूपमा विकास गर्ने सम्भावना देखाएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा खड्काले फ्रेन्चाइज टोलीहरूको व्यावसायिक मूल्य, प्रायोजन, प्रसारण अधिकारलगायत पक्षलाई समेटेर एनपीएलको बजार मूल्य करिब आठ अर्ब रुपैयाँ पुगेको दाबी गरेका हुन् । प्रत्येक टोलीको सम्भावित मूल्य ८० देखि १०० करोड रुपैयाँसम्म पुग्ने अनुमानलाई आधार मान्दा आठ टोलीको संयुक्त मूल्य ६४० देखि ८०० करोड रुपैयाँ हुन सक्छ । यद्यपि, यो अनुमानित बजार मूल्य हो । यसलाई टोली बिक्रीबाट प्राप्त रकम, प्रतियोगिताको वास्तविक आम्दानी वा खुद नाफाका रूपमा बुझ्न मिल्दैन । 
सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुने तेस्रो संस्करणले खेलकुदको प्रतिस्पर्धासँगै आर्थिक कारोबारमा पनि नयाँ कीर्तिमान बनाउने अपेक्षा गरिएको छ । क्यानका कोषाध्यक्ष पदम खड्काका अनुसार यसपटक लिगस्तरमा प्रायोजन, प्रसारण र टिकटलगायतबाट करिब ७५ करोड रुपैयाँको कारोबार हुने अनुमान छ । फ्रेन्चाइज टोलीहरूले खेलाडीको पारिश्रमिक, प्रायोजन, प्रचारप्रसार, होटल तथा यातायातमा गर्ने खर्चसमेत जोड्दा समग्र आर्थिक गतिविधि करिब डेढ अर्ब रुपैयाँसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ । 
एनपीएलको तेस्रो संस्करणका लागि प्रसारण तथा टिकट बिक्री अधिकारबाट मात्रै ३३ करोड ५३ लाख रुपैयाँको सम्झौता भएको छ । नेटटिभीले विश्वव्यापी डिजिटल प्रसारण अधिकार १८ करोड चार लाख रुपैयाँमा प्राप्त गरेको छ भने हिमालय टेलिभिजनले नेपालभित्रको टेलिभिजन प्रसारण अधिकार १४ करोड ६४ लाख रुपैयाँमा लिएको छ । त्यसैगरी, इसेवाले ८५ लाख रुपैयाँमा टिकटिङ अधिकार प्राप्त गरेको छ ।
यी सम्झौताले एनपीएलको प्रसारण बजार विस्तार भएको देखाएका छन् । विशेषगरी नेपालबाहिर रहेका क्रिकेटप्रेमीलाई डिजिटल माध्यमबाट प्रतियोगितासँग जोड्न सकिने भएकाले आगामी वर्षहरूमा प्रसारण अधिकार थप महँगो हुने सम्भावना देखिएको छ । 
सन् २०२४ मा सुरु भएको एनपीएलले छोटो अवधिमै नेपाली खेलकुदको व्यावसायिक संरचनामा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ । पहिलो संस्करण नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म सञ्चालन भएको थियो । फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स पहिलो च्याम्पियन बनेको थियो । सन् २०२५ मा आयोजित दोस्रो संस्करणमा भने सुदूरपश्चिमलाई नै हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको थियो ।
आर्थिक रूपमा पनि पहिलो र दोस्रो संस्करणबीच उल्लेख्य अन्तर देखिएको छ । क्यानको आयव्यय विवरणअनुसार पहिलो संस्करणबाट २७ करोड ६९ लाख रुपैयाँभन्दा बढी आम्दानी भएको थियो । दोस्रो संस्करणमा उक्त रकम बढेर ४७ करोड ३६ लाख रुपैयाँ नाघ्यो । दोस्रो संस्करण सञ्चालनमा करिब २१ करोड ९६ लाख रुपैयाँ खर्च भएको थियो । त्यसपछि भएको आम्दानी बाँडफाँटमा आठ फ्रेन्चाइज टोलीले संयुक्त रूपमा करिब १६ करोड १९ लाख रुपैयाँ प्राप्त गरेका थिए । क्यानको खुद नाफा करिब नौ करोड २१ लाख रुपैयाँ पुगेको थियो । 
तेस्रो संस्करणमा आर्थिक पक्षसँगै प्रतियोगिताको प्राविधिक र अन्तर्राष्ट्रिय स्तरमा पनि महत्त्वपूर्ण परिवर्तन भने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यस संस्करणका खेललाई आधिकारिक टी–२० मान्यता दिएको छ । यससँगै प्रतियोगितामा खेलाडीले बनाएका रन र लिएका विकेट उनीहरूको आधिकारिक टी–२० तथ्यांकमा समावेश हुनेछन् ।
यसपटक पहिलोपटक निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) पनि प्रयोग गरिँदै छ । यसबाट खेलाडीले मैदानमा अम्पायरले दिएका निश्चित निर्णयमाथि पुनरावलोकन माग गर्न सक्नेछन् । प्रविधि प्रयोगले प्रतियोगिताको विश्वसनीयता र अन्तर्राष्ट्रिय आकर्षण बढाउने अपेक्षा गरिएको छ । 
विदेशी खेलाडीको सहभागिताले पनि तेस्रो संस्करणलाई थप आकर्षक बनाएको छ । अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर, बंगलादेशका शाकिब अल हसन, इंग्ल्यान्डका मोइन अली र न्युजिल्यान्डका जिमी निसमजस्ता चर्चित खेलाडी विभिन्न टोलीसँग आबद्ध भएका छन् । उनीहरूको उपस्थितिले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने अवसर दिनुका साथै प्रतियोगिताको प्रसारण र प्रायोजन बजार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा छ । 
कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगर किंग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स सहभागी हुनेछन् । उद्घाटन खेलमा साविक विजेता लुम्बिनी र सुदूरपश्चिम प्रतिस्पर्धा गर्नेछन् । 
आम्दानी बढेसँगै क्यानले पुरस्कार राशिसमेत वृद्धि गरेको छ । यसपटक विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ । यसअघि विजेताको पुरस्कार एक करोड रुपैयाँ थियो । उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन् । 
त्यसो त एनपीएलको बढ्दो बजार मूल्यसँगै वित्तीय पारदर्शिता र दीर्घकालीन व्यवस्थापनको प्रश्न पनि महत्त्वपूर्ण बनेको छ । फ्रेन्चाइज टोलीहरूको वास्तविक नाफा, सञ्चालन खर्च र लगानी प्रतिफलसम्बन्धी विस्तृत विवरण सार्वजनिक नभएसम्म अनुमानित बजार मूल्यलाई प्रमाणित व्यावसायिक मूल्यांकन मान्न सकिँदैन । अब एनपीएलको चुनौती ठूलो कारोबार गर्ने प्रतियोगितामा मात्र सीमित नरही नेपाली खेलाडीको आर्थिक सुरक्षा, घरेलु क्रिकेटको विकास, आधुनिक रंगशाला निर्माण र देशका विभिन्न क्षेत्रमा क्रिकेटको व्यावसायिक गतिविधि विस्तार गर्नु हुनेछ । तेस्रो संस्करणले यी सम्भावनालाई संस्थागत गर्न सके एनपीएल नेपाली खेलकुद अर्थतन्त्रकै महत्त्वपूर्ण आधार बन्न सक्ने देखिएको छ ।

खास छ यसपटकको एनपीएल

यस पटकको खेलमा नयाँ प्रविधि प्रयोग गरिएको छ भने टिमहरूले पनि निकै ठूलो लगानी बढाएका छन् । यही कारण विदेशी खेलाडीहरूको आकर्षण बढेर गएको छ भने पुरस्कारको रकम पनि बढेको छ । 
फ्यान बेस हिसाबले नेपाली क्रिकेट उत्कृष्ट देखिएको छ । भारतको आईपीएलपछिको सम्भवतः सबैभन्दा राम्रो फ्यानबेस भएको खेल हो । भर्खर शुरू मात्र भएको लीग भए पनि यस्तो ठूलो प्रशंसकहरू बटुल्नु र लोकप्रिय हुनु निकै सुखद पक्ष रहेको विश्लेषकहरू बताउँछन् । यही कारणले पनि तेस्रो संस्करण फेन्चाइजीमै अन्तर्राष्ट्रिय मान्यता पाउनु ठूलो कुरा हो । यसले बढीमा ८ जना अन्तर्राष्ट्रिय खेलाडी टोलीमा ल्याउन मिल्ने भएको छ । यसअघि चार जना मात्र बढीमा ल्याउन पाइन्थ्यो । 
यो संस्करणसँगै रनको निजी रेकर्ड पनि हुने भएको छ । यसअघि एनपीएलमा बनाइएका रनहरू व्यक्तिगत कीर्तिमानमा जोड्न पाइँदैनथ्यो ।
यससँगै रंगशालामा पनि धेरै सुविधाहरू थपिएका छन् । खासगरी खेलाडीका परिवार, पत्रकार तथा अन्य डेलिगेट्सहरूका लागि बेग्लाबेग्लै सुविधाजनक स्थल राखिएका छन् । फ्लड लाइट अपग्रेट गरिएका छन् । खेलअघि राति अबेरसम्म विभिन्न तयारीहरू गरिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्