नेभिगेशन
प्रदेश

मन्त्री फेरिएसँगै लुम्बिनी सरकारमा खटपट

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदार दल एमाले र कांग्रेसबीच नेतृत्वको विषयलाई लिएर असमझदारी देखिएको छ । एमालेबाट सरकारमा सहभागी चार जना मन्त्रीले बुधबार सामूहिक रूपमा राजीनामा दिएपछि सत्ता गठबन्धनभित्रको विवाद सतहमा आएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेमबहादुर सारु तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरीले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्त्री आचार्यले उनीहरूको योगदानको प्रशंसा गर्दै राजीनामा स्वीकृत गरेका छन् ।
प्रदेश सरकारको संरचना पुनर्गठन गर्ने तयारीअनुसार मन्त्री परिवर्तन गरिएको जनाइएको छ । प्रदेश सरकारले आगामी साउन १ गतेदेखि मन्त्रालय संख्या घटाएर ८ मा सीमित गर्ने निर्णय गरिसकेको छ । सोहीअनुसार एमालेले आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ अनुहार ल्याउने तयारी गरेको हो । एमालेका प्रमुख सचेतक तुलसी चौधरीका अनुसार मुख्यमन्त्री आचार्य यथावत् रहनेछन् भने नयाँ मन्त्री नियुक्तिबारे आन्तरिक छलफल भइरहेको छ ।
तर एमालेले एकलौटी रूपमा मन्त्री परिवर्तनको निर्णय गरेपछि सत्ता साझेदार  कांग्रेस असन्तुष्ट भएको छ । कांग्रेसले अब मन्त्री मात्र नभई मुख्यमन्त्रीसहित सरकारकै नेतृत्व परिवर्तन हुनुपर्ने अडान लिएको छ । कांग्रेस संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालले पूर्वसहमति अनुसार अब कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएकी छन् । कांग्रेसले तत्काल आफ्ना मन्त्री सरकारमा नपठाउने संकेत गरेको छ ।

बजेट निर्माणको महŒवपूर्ण चरणमा मन्त्री फेरबदल गरिनु उपयुक्त नभएको कांग्रेसको धारणा छ । एमालेले भने सरकारलाई निरन्तरता दिँदै नयाँ मन्त्रीमार्फत काम अघि बढाउने तयारी गरिरहेको छ ।
सत्ता साझेदार दुई प्रमुख दलबीच नेतृत्वको विषयमा देखिएको खटपटले लुम्बिनी प्रदेश सरकारभित्र राजनीतिक तनाव बढाएको छ । बजेट कार्यान्वयन र विकास योजनामा यसको प्रभाव कस्तो पर्छ भन्ने चासो बढिरहेका बेला प्रदेश राजनीति पुनः अस्थिरतातर्फ उन्मुख हुने संकेत देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्