नेभिगेशन
प्रदेश

सोधपुछका लागि बोलाएर निर्घात कुटपिट

सर्लाही । निजी विद्यालयको शुल्कसम्बन्धी छलफलका लागि बोलाएर धनकौल गाउँपालिका–५ हरकठवाका फेकु दासलाई प्रहरीले कार्यालयमा थुनेर निर्घात कुटपिट गरेका छन् । बायाँ हात, तिघ्रा तथा पिठ्युँमा गम्भीर चोट लागेका उनलाई बरहथवास्थित हनुमन्त अस्पतालमा उपचार सम्भव नभएपछि  वीरगञ्जको नेशनल मेडिकल कलेजमा पठाइएको दाजु इन्दल दासले बताए ।
स्थानीय साइनिङ स्टार एकेडेमी बोर्डिङ स्कूलमा पढ्ने दुई छोरालाई छुटाएर उनले अर्को विद्यालयमा भर्ना गरेका थिए । दुवै गएपछि १३ हजार ६ सय रुपैयाँ शुल्क नतिरेको भन्दै बोर्डिङ सञ्चालक सञ्जय साहले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएका थिए ।
विद्यालयको उक्त निवेदनमाथि आवश्यक सोधपुछ तथा छलफलका लागि जिल्ला प्रशासन कार्यालयले इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार गरेको थियो । बोलाइएपछि दास श्रीमतीसहित बुधबार दिउँसो इप्रका  हरकठवा पुगेका थिए ।
दाजु इन्दलका अनुसार छलफलका क्रममा दासलाई प्रहरीले बक्यौता बुझाउने सहमतिको कागजातमा हस्ताक्षर गर्न भनेको थियो । तर आफूले विद्यालयको सम्पूर्ण शुल्क तिरिसकेको दाबी गर्दै दास दम्पतीले हस्ताक्षर गर्न अस्वीकार गरे । त्यसलगत्तै उक्त इप्रकाका जवान रामजीवन पासवानले दासलाई कार्यालयको थुनुवा कक्षमा लगेर बाँसको भाटा र बुटले मरणासन्न हुने गरी कुटपिट गरेको दाजु इन्दल दासले बताएका छन् ।
प्रहरीको कुटपिटबाट घाइते दासलाई लगतै बरहथवास्थित हनुमन्त अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि वीरगञ्ज पठाइएको परिवारले जनाएको छ । 
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमले घटनाबारे जानकारी भएको बताए । दासले प्रहरीमाथि हातपात गर्न खोजेपछि विवाद उत्पन्न हुँदा प्रहरीले बल प्रयोग गरेको उनको भनाइ छ । ‘घटनामा संलग्न जवानलाई इप्रका बरहथवामा तानेर थप अनुसन्धान भइरहेको छ,’ उनले भने । बोर्डिङ स्कूलका सञ्चालक साहले दाससँग पटक–पटक बक्यौता शुल्क माग्दा पनि नदिएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको बताएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्