नेभिगेशन
विश्व

सत्ताबाट असन्तुष्ट ‘ककरोच’ सामाजिक सञ्जालबाट सडकमा

भारतीय सतासँग असन्तुष्ट युवा बहुल सहभागितामा सुरु भएको मिम पार्टीका रूपमा परिचित ककरोच जनता पार्टीले शनिबार राजधानी नयाँ दिल्लीमा प्रदर्शन गरेको छ । प्रदर्शन अपेक्षाविपरीत शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रदर्शन अघिसम्म अशान्तिपूर्ण हुने हो कि भन्ने आशंका थियो ।
ककरोच जनता पार्टीको सुरुवात कुनै परम्परागत राजनीतिक योजना अन्तर्गत भएको होइन । केही समयअघि भारतका प्रधानन्यायाधीश सूर्यकान्तले ’नक्कली शैक्षिक प्रमाणपत्र भएका युवाहरू’ लाई ’ककरोच र परजीवी’ सँग तुलना गरेपछि त्यसको विरोधमा सामाजिक सञ्जालमा एउटा व्यंग्यात्मक अभियान सुरु भएको थियो । यस अभियानका संस्थापक अभिजीत दीपके हुन् । सामाजिक सञ्जालमा छोटो समयमै लाखौं समर्थक कमाएको यो ‘अनलाइन मुभमेन्ट’ शनिबार सडकमा उत्रियो ।
अमेरिकाबाट दिल्ली ओर्लने बित्तिकै सीजेपीका संस्थापक अभिजीत दीपकेले भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरे । मेडिकल प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र बाहिरिएका कारण तनावमा परेर धेरै विद्यार्थीहरूले आत्महत्या गर्नुपरेको भन्दै उनले सरकारको तीव्र आलोचना गरे । जन्तरमन्तरमा भएको प्रदर्शनमा करिब ३ हजारको संख्यामा युवाहरू सडकमा उत्रिएका थिए । प्रदर्शनमा लद्दाखका चर्चित पर्यावरण अभियन्ता शिक्षाविद् सोनम वाङ्चुक पनि सहभागी भएका थिए ।
आन्दोलनमा सहभागी युवाहरूमा शिक्षा प्रणाली र पटक–पटक हुने पेपर लीकका घटनालाई लिएर ठूलो आक्रोश देखिन्थ्यो । युवाहरूले देशको भविष्य निर्धारण गर्ने परीक्षाहरू समेत सरकारले निष्पक्ष ढङ्गले सञ्चालन गर्न नसकेको भन्दै प्रश्न उठाएका थिए । दीपकेले विगत १०–१२ वर्षदेखि देशभित्र भइरहेको ‘हिन्दू–मुस्लिम’ को राजनीतिले युवाहरूलाई रोजगारी दिन नसकेको र सरकारको विरुद्धमा बोल्दा परिवारमा त्रास पैदा हुने वातावरण बनेको बताए ।
यस आन्दोलनलाई भारतका विपक्षी राजनीतिक दलहरूले खुला समर्थन गर्न थालेका छन् । समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव र शिवसेना (यूबीटी) का प्रमुख उद्धव ठाकरेले युवाहरूको यो आक्रोशलाई ‘क्रान्ति’ को संज्ञा दिँदै सरकारले यी ‘ककरोच’हरूको आवाज सुन्नैपर्ने चेतावनी दिएका छन् । त्यस्तै, शिवसेना नेत्री प्रियंका चतुर्वेदीले दिल्ली पुलिसले प्रदर्शनको अनुमति दिएर सही कार्य गरेको टिप्पणी गरिन् भने वरिष्ठ अधिवक्ता प्रशान्त भूषणले यो ‘जेनजी’ आन्दोलनलाई सही मार्गदर्शन र समर्थनको आवश्यकता रहेको औंल्याएका छन् ।
आम रूपमा विरोध प्रदर्शनप्रति कडा रवैया अपनाउने मोदी सरकारले यस आन्दोलनलाई सजिलै अनुमति दिनुको पछाडि विभिन्न रणनीति लुकेको विश्लेषकहरूको भनाइ छ ।
वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक स्मिता गुप्ताका अनुसार, सरकारले हालै बंगलादेश र नेपालमा भएका ‘जेनजी’ युवाहरूको आन्दोलन र त्यसको प्रभाव देखिसकेको छ । प्रधानन्यायाधीशको बयानप्रति युवाहरूको तीव्र आक्रोश बुझेर सरकारले यसलाई केही स्थान (स्पेस) दिनु नै उपयुक्त ठान्यो । यसको अर्को उद्देश्य आन्दोलनमा कत्तिको शक्ति छ भनेर ‘वाटर टेस्टिङ’ गर्नु र युवाहरूको आक्रोशलाई मत्थर पार्न दिनु पनि थियो । गुप्ता थप्छिन्, ‘यो आन्दोलन यस्तो समयमा भएको छ जब मोदी सरकारको ‘हनीमून पिरियड’ सकिँदैछ र बेरोजगारी तथा खस्कँदो शिक्षा व्यवस्थाले गर्दा देशका हरेक घरमा असन्तोष व्याप्त छ ।’
अर्का वरिष्ठ पत्रकार शरद गुप्ता यस प्रदर्शनलाई व्यवस्थाप्रतिको गहिरो आक्रोशका रूपमा हेर्छन् । इतिहासमा जब–जब सरकारले जनआन्दोलनलाई दबाउने प्रयास गरेको छ, तब–तब आन्दोलन झन् उग्र भएको उदाहरण दिँदै उनले सरकारले यसपटक प्रदर्शनको अनुमति दिएर आन्दोलनको हावा निकाल्ने रणनीति अपनाएको बताए ।
सीजेपीको राजनीतिक भविष्य र सम्भावना
सामाजिक सञ्जालमा सीजेपीको प्रभाव निकै बलियो छ, इन्स्टाग्राममा मात्रै यसका २ करोडभन्दा बढी फलोअर्स भइसकेका छन् । राजनीतिक विश्लेषक रशीद किदवईका अनुसार, दिल्लीको चर्को गर्मीमा पनि हजारौँ युवाहरू सडकमा आउनुले यो आन्दोलन केवल सामाजिक सञ्जालको ट्रेन्ड मात्र नभएर वास्तविक जनआक्रोश हो भन्ने पुष्टि गर्छ । उनले यसलाई भारतीय राजनीतिमा एउटा नयाँ अध्यायको सुरुवात मान्न सकिने बताए ।
यद्यपि, सीजेपीको राजनीतिक भविष्यलाई लिएर विश्लेषकहरूमा मतविभाजन छ । शरद गुप्ताका अनुसार, सीजेपीसँग जोडिएका मानिसहरू राजनीतिक रूपमा पूर्णतः अनुभवी छैनन् । भविष्यमा यो आम आदमी पार्टी (आप) जस्तै राजनीतिक शक्तिका रूपमा उदय हुन सक्ने सम्भावना रहे पनि तत्कालै यसको कुनै ठोस राजनीतिक स्वरूप देखिँदैन ।
अर्कोतर्फ, विश्लेषकहरूले यसलाई लोकतन्त्रका लागि शुभ संकेत मानेका छन् । युवाहरू व्यवस्थाप्रति निराश भए पनि उनीहरूमा परिवर्तनको ठूलो आशा र आकांक्षा बाँकी छ । सामाजिक सञ्जालको एउटा व्यंग्यात्मक ‘मीम’ बाट सुरु भएको यो अभियानले अन्ततः भारतीय सडकमा पुगेर सरकार र व्यवस्था दुवैलाई एउटा बलियो चेतावनी दिन सफल भएको छ । दीपकेले प्रदर्शनको अन्त्यमा ‘यो त एउटा ट्रेलर मात्र भएको’ भन्दै आगामी दिनमा आन्दोलन अझ सशक्त हुने संकेत गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्