नेभिगेशन
नेपाल

जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संयमता अपनाउन नेपाली सेनाको अनुरोध

काठमाडौं, २४ भदौ – नेपाली सेनाले जारी गरेको विज्ञप्तिमार्फत हाल देशभर भइरहेको जेनजी आन्दोलनका घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै संयमता अपनाउन सबैमा आग्रह गरेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालय, प्रधान कार्यालयमार्फत जारी विज्ञप्तिमा सेनाले आन्दोलनका क्रममा भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “नेपाल र नेपाली जनताको हित तथा सुरक्षामा सदैव समर्पित नेपाली सेना हाल विकसित अवस्थालाई मध्यनजर गर्दै जनताको जिउधनको रक्षा गर्न प्रतिबद्ध रहेको छ ।”

सेनाले ऐतिहासिक, सांस्कृतिक, पुरातात्त्विक तथा राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न सबै पक्ष सजग रहनुपर्ने उल्लेख गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन सम्पूर्ण युवा शक्ति र आम नागरिकलाई हार्दिक अनुरोध गरेको छ ।

Sena-ko-appeal-1757427850.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्