नेभिगेशन
नेपाल

व्यक्तिगत आक्रमण र तोडफोड नगर्न जेनजीको आग्रह

काठमाडौं, २४ भदौ – जेनजी आन्दोलनका अभियन्ताहरुले सामाजिक सञ्जालमा सुरु भएको आन्दोलन दुई दिनमै “सफलताको अन्तिम चरण” मा पुगेको बताएका छन् । मंगलबार सार्वजनिक गरिएको वक्तव्यमा उनीहरूले पुरानो सत्ता र संस्थापनसँग कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिँदै नयाँ सत्ता निर्माणतर्फ अघि बढ्ने घोषणा गरेका छन् ।

आन्दोलनकारीहरूले नेपाली सेनालाई गैरलोकतान्त्रिक कदम चाल्न नहुने चेतावनी दिँदै यस संक्रमणकालीन अवस्थालाई सहज बनाउन सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन् ।

वक्तव्यमा आन्दोलनका क्रममा मारिएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदको रगतले जनविद्रोहलाई सफलतापूर्वक टुंग्याउने प्रतिबद्धता जनाइएको छ ।

उनीहरुले पुनर्निर्माण र आत्मनिर्भर उत्पादनमा सहभागी हुने प्रतिबद्धता जनाउँदै आन्दोलनलाई शान्तिपूर्ण राख्ने, व्यक्तिगत आक्रमण वा सार्वजनिक सम्पत्तिमा तोडफोड नगर्न सबैलाई आह्वान गरेका छन् ।

जेनजी आन्दोलनका मागहरू यसप्रकार छन् :
  • आन्दोलनमा मारिएका सबैलाई सहिद घोषणा गर्दै क्षतिपूर्ति दिनु र घाइतेहरूको गुणस्तरीय उपचार तथा जीवनयापनको सुनिश्चितता गर्ने ।
  • निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै शीर्ष नेताहरू र पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी फौजदारी मुद्दा चलाउने ।
  • आन्दोलनमा भएका दमनका घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने  ।
  • संघीय र प्रादेशिक सरकार विघटन गरी अन्तरिम सरकार गठन गरी छिट्टै जेनजी राष्ट्रिय सम्मेलन आयोजना गर्ने  ।
  • संविधान २०७४ का आधारभूत संरचना सुरक्षित राख्दै प्रगतिशील पुनर्लेखन गर्ने ।

genZ-appeal-1757428988.jpeg
---

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्