नेभिगेशन
नेपाल

रवि लामिछानेको अपिल : देशका सम्पत्ति जोगाउँदै संयमित बन्नु आवश्यक

काठमाडौं, २४ भदौ – जेनजी आन्दोलनलाई लिएर पक्राउ परेपछि रिहा भएका रवि लामिछानेले एक विज्ञप्तिमार्फत आम नागरिकलाई संयमित रहन आग्रह गरेका छन् ।

उनले सबैलाई संयम अपनाउन, आन्दोलनलाई जिम्मेवार तरिकाले अघि बढाउन र राष्ट्रिय सम्पत्ति जोगाउन आग्रह गरेका छन् । आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरे । 

लामिछानेले देशलाई लुटेर सम्पन्न भएका नेताहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने भन्दै कानुनी दायरामा ल्याउनुपर्ने स्पष्ट धारणा व्यक्त गरे ।

तर, उनले जनआन्दोलनकै नाममा सार्वजनिक सम्पत्ति र संवेदनशील दस्तावेज नष्ट हुने खतराप्रति सचेत रहनु जरुरी रहेको बताए । “राष्ट्रको सुरक्षा निकाय, प्रहरी, न्यायालय लगायतका अभिलेख जोगाउन सकेनौँ भने यो देशका लागि गम्भीर क्षति हुन सक्छ,” उनले उल्लेख गरेका छन् ।

लामिछानेले यो आन्दोलन शुद्ध रूपमा जेनजी पुस्ताको भएको भन्दै अब मुलुकको नेतृत्व पनि उनीहरूको माग र परिकल्पनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

रिहाइको सन्दर्भमा उनले भने, “सरकारले कानुनबमोजिम प्रक्रिया पूरा गरी पत्र थमाएपछि मात्रै म कारागारबाट बाहिर आएको हुँ । कानुनप्रति म पूर्णतः वफादार छु र भविष्यमा आवश्यक कानुनी प्रक्रियामा सहभागी हुन तयार छु ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्